काठमाडौं, ६ मंसिर । बलात्कार प्रयासको अभियोगमा डिल्लीबजार कारागरमा बसेर मुद्दाको पुर्पक्ष गरिरहेका पूर्वसभामुख कृष्णबहादुर महराले गरेको पुनरावेदनमा सुनुवाइ गर्दै आज उच्च अदालत पाटनले जिल्ला अदालतबाट कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध महराले दिएको निवेदनमा सुनुवाइ गर्दै कैफियत प्रतिवेदन माग गरेको हो । उच्च अदालत पाटनका प्रवक्ता मोहन सुवेदीले भन्नुभयो, ‘यो पुनरावेदन दर्ता भएपछि हुने नियमिति प्रक्रिया हो । अब आदेश बमोजिम जिल्लाबाट प्रतिवेदन आएपछि पुर्पक्ष थुनामा पठाउने आदेश मिलेको छ वा छैन भन्नेबारे सुनुवाई सुरु हुन्छ ।’ संसद सचिवालयकी महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुर्दशनराज पाण्डको इजलासले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । सुनुवाइपछि उच्च अदालतले महरालाई पुर्पक्षका लागि थुनामै राख्ने, धरौटी लिएर तारेखमा छाड्ने वा साधारण तारेखमा छाड्ने आदेश दिने छ ।
प्रतिक्रिया दिनुहोस्