
काठमाडौं, २७ असोज । दशैंको बेला यात्रुहरुबाट मनलाग्दी भाडा असुल्ने १७ वटा सवारी साधनलाई प्रदेश २ ट्राफिक प्रहरीले कारबाही गरेको छ । बारा, पथलैयाको ट्राफिक प्रहरी कार्यालय र सो मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुले कारबाही गरेका हुन् ।
त्यस्ता सवारी चालक तथा धनिलाई यातायात व्यवस्था ऐनअनुसार कारवाही गरिएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ । जिल्ला ट्राफिक कार्यालय सिरहा र महोत्तरीले पाँच–पाँचवटा तथा जिल्ला ट्राफिक कार्यालय पर्साले चारवटा सवारी साधनलाई कारबाही गरेका छन् । यस्तै जिल्ला ट्राफिक कार्यालय सर्लाहीले दुईवटा र प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले एउटा टाटा सुमोलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
प्रदेश २ ट्राफिक कार्यालयले ना १ ज ७४५६ नम्बरको टाटा सुमो नियन्त्रणमा लिइएको र कारबाहीको लागि यातायात कार्यालयमा पठाइने जनाएको छ । यस्तै पर्साबाट कारबाहीमा परेका ना १ ज ३९७ र ४१२५ नम्बरका गाडीलाई जिल्ला ट्राफिक कार्यालय पर्सा तथा इलाका प्रहरी कार्यालय श्रीपुरमा राखिएको छ । ती गाडीका १८ जना यात्रुलाई ८ हजार १ सय रुपैया“ भाडा पनि फिर्ता गराइएको छ ।








प्रतिक्रिया दिनुहोस्