
काठमाडौ, १८ जेठ । एविसी मिडिया ग्रुपले समृद्धि : आधार वर्ष – २०७५ पुस्तक सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले एक कार्यक्रका विच पुस्तक विमोचन गर्नुभएको हो । अघिल्लो वर्ष एविसी न्यूजले समृद्धि विशेष अन्र्तवार्तामुलक कार्यक्रम प्रस्तुत गरेको थियो यसैको लिपीको रुपमा पुस्तक सार्वजनिक भएको हो । पुस्तक सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले एविसी न्यूजले विकास र समृद्धिका लागि गरेको खबरदारीले सरकारलाई सकारात्मक बाटोमा हिड्न प्रेरित गरेको बताउनुभयो ।

करिब दुई तिहाई बहुमतको नेकपा सरकारले गतवर्ष विकास र समृद्धि आफ्नो एजेण्डा सार्वजनिक गरेको थियो । समृद्धिको वर्षको रुपमा लिएको सरकारले देशलाई समृद्ध बनाउन भनेर के कार्यक्रम गर्यो ? एबीसीले खबरदारी गर्दै देशमा के कसरी विकास र समृद्धि हासिल गराउन सकिन्छ भनेर सरकारी नीति निर्माताहरुलाई सुझाव समेत दिएको थियो ।

संघ, प्रदेश र स्थानीय तहमा नेतृत्व गरिरहेका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, कुटनीतिक, क्षेत्रसँग जोडिएका व्यक्तित्व तथा विज्ञहरुसँग एविसी टेलिभिजनले निरन्तर छलफल र बहस चलाएको थियो । स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सुरक्षा, जस्ता विषयमा विज्ञ र मन्त्रीहरुसंग छलफल गरी सांच्चिकै समृद्धि हासिलका लागि गम्भीर बन्न एबीसीले सचेत बनाएको थियो ।
टेलिभिजनले सञ्चालन गरेको समृद्धिको बहसलाई पुस्तकमा उतारिएको हो । त्यसको अलावा सातै प्रदेशका मुख्यमन्त्रीहरु, विभिन्न क्षेत्रका विज्ञहरु, राष्ट्रपति प्रधानमन्त्री र अर्थमन्त्रीले स्वदेश तथा विदेशमा दिएका विकास र समृद्धि सम्बन्धी अवधारणाहरु समेत पुस्तकमा समेटिएको छ ।
पुस्तक विमोचन गर्दै अर्थमन्त्री खतिवडाले पुस्तकले सरकारले आगामी आर्थिक वर्षका लागि घोषणा गरेको बजेटमा जनमैत्री कार्यक्रम घोषणा गर्न एविसी समृद्धि विशेषले पनि सघाउ पुर्याएको बताउनुभयो । देशको विकास र समृद्धिको निम्ति सरकार प्रतिवद्ध भएर काम गरिरहेको समेत उहाँले बताउनुभयो ।

पुस्तकमा २०७५ सालमा सरकारले अंगिकार गरेको तथा सुधार गरेको कुटनीतिक सम्बन्ध, समृद्धिका लागि आवश्यक शिक्षा, स्वास्थ्य, पर्यटन,कृषि, जलस्रोत, राष्ट्रिय सुरक्षा, प्रदेश सरकारको भुमिका तथा संघीयता कार्यान्वयन, लगायतका विषयमा आ–आफ्ना क्षेत्रका विज्ञहरुको अन्र्तवार्ता तथा लेखहरु प्रकाशित रहेका छन् ।

सरकारलाई समृद्धिको निम्ति निती, कार्यक्रम तथा सरकार सञ्चालनका लागि जिम्मेवार गराउनको समृद्धि बहस चलाइएको एविसी मिडिया ग्रुपका अध्यक्ष तथा प्रधान सम्पादक शुभशंकर कँडेलले बताउनुभयो । समृद्धि आधार वर्षमा भए गरेका कामहरु पछिल्लो पुस्तालाई पनि सन्दर्भ सामाग्रीको रुपमा रहिरहोस भन्ने हेतुले ऐतिहासिक दस्तावेजको रुपमा पुस्तक प्रकाशन गरिएको अध्यक्ष कंडेलको बताउनुभयो ।
समृद्धि आधार वर्ष २०७५ पुस्तकको निस्कर्ष अबको बाटो विकास र समृद्धि मात्र भएको रहेको छ । समृद्ध नेपाल सुखी नेपालीको नारा बोकेको सरकारलाई विकास बाहेक अन्य काममा ध्यान दिने छुट नभएको भन्दै खबरदारी पनि गरेको छ ।








प्रतिक्रिया दिनुहोस्