काठमाडौं, ६ चैत्र । इरानमाथि आक्रमण गर्न गएको अमेरिकाको एक एफ–३५ लडाकु विमानले मध्यपूर्वस्थित एक सैन्य अड्डामा आपतकालीन अवतरण गरेको छ ।
सो विमान इरानको आक्रमणमा परेको अनुमान गरिए पनि पुष्टि भएको छैन ।अमेरिकी सैन्य अधिकारीहरूका अनुसार विमान सुरक्षित रूपमा अवतरण भएको छ भने पाइलटको अवस्था स्थिर रहेको बताइएको छ । अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले विज्ञप्ति जारी गर्दै इरानमाथि लडाकु मिसन सम्पन्न गरेपछि विमानले क्षेत्रीय अड्डामा आपतकालीन अवतरण गरेको जानकारी दिएका छन् । ‘विमान सुरक्षित अवतरण भएको छ र पाइलटको अवस्था स्थिर छ । घटनाबारे अनुसन्धान भइरहेको छ,’ उनले भनेका छन् ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनले स्रोतहरूलाई उद्धृत गर्दै करिब १०० मिलियन डलर मूल्य पर्ने उक्त विमान इरानको आक्रमणमा परेको हुन सक्ने जनाएको छ । तर अमेरिकी पक्षले आपतकालीन अवतरणको स्पष्ट कारण अझै खुलाएको छैन । अल जजिराका अनुसार एफ–३५ स्टेल्थ लडाकु विमान सन् २०१८ देखि युद्धमा प्रयोग हुँदै आएको भए पनि आक्रमणबाट प्रभावित भएको पुष्टि भएको घटना यसअघि सार्वजनिक भएको छैन ।
मार्च १ मा भने अमेरिकी तीन वटा एफ–१५ इ स्ट्राइक इगल विमानहरु कुवेती एफ÷ए–१८ द्वारा ‘फ्रेन्डली फायर’ मा खसालिएका थिए । सबै ६ जना चालकदल सदस्य सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए । यसैबीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले एक अमेरिकी विमानलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ ।फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वयता अमेरिकाले करिब १२ वटा एमक्यू–९ रिपर ड्रोन गुमाएको रिपोर्टहरूमा उल्लेख छ । साथै, साउदी अरेबियास्थित एक अड्डामा इरानी क्षेप्यास्त्र आक्रमणबाट इन्धन भर्ने पाँच वटा विमान क्षतिग्रस्त भएको पनि बताइएको छ, यद्यपि यी विवरण स्वतन्त्र रूपमा पुष्टि भएका छैनन् ।अहिलेसम्म इरानसँगको युद्धमा कम्तीमा १३ अमेरिकी सैनिकको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएका छन् । इरानतर्फ भने १ हजार ४४४ जनाको मृत्यु र १८ हजार ५५१ जना घाइते भएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
अमेरिकी लक्ष्य यथावत्
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानविरुद्धको युद्धमा आफ्नो देशका उद्देश्यहरू सुरुदेखि जस्तै यथावत् रहेको बताएका छन् । उनका अनुसार अमेरिकाले हालसम्म इरानभित्र ७,००० भन्दा बढी लक्ष्यमा आक्रमण गरिसकेको छ भने ४० भन्दा बढी बम बिछ्याउने जहाज र ११ वटा पनडुब्बीलाई निशाना बनाएको छ । ‘हाम्रा उद्देश्यहरू पहिलो दिनदेखि जस्तै छन्– इरानका क्षेप्यास्त्र प्रक्षेपण प्रणाली नष्ट गर्नु, रक्षा औद्योगिक संरचना र नौसैनिक क्षमतामा क्षति पुर्याउनु र उसलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु,’ उनले भनेका छन् । अभियान कहिलेसम्म चल्ने भन्ने कुनै निश्चित समयसीमा नरहेको पनि उनले स्पष्ट पारे ।








प्रतिक्रिया दिनुहोस्