काठमाडौं, ९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।
२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली–५ बाट प्रत्यक्ष उम्मेदवार समेत बनेका बिष्टले पार्टी परित्याग गर्दै साधारण सदस्यबाट समेत नरहने गरी राजिनामा दिएका छन् ।पार्टीको केन्द्रीय कार्यालय, काठमाडौंलाई सम्बोधन गर्दै राजिनामा पत्र बुझाएको बिष्टले बताएका छन् । उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली–५ बाट उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेशमै रास्वपाको दोस्रो बढी मत प्राप्त गर्ने उम्मेदवार थिए ।
उनले रास्वपाले ल्याएको युवा राजनीतिमा र जान्नेलाई छान्ने, नातावाद–आशीर्वाद र आर्थिक प्रभावभन्दा माथि उठेर प्राइमरीबाट उम्मेदवार छनोट गर्ने मूल आदर्शबाट प्रेरित भएर पार्टीमा आवद्ध भएको उल्लेख बताएका छन् तर पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएको अनुभूति रहेको उनी बताउँछन् ।
संगठनमा समर्पित नेता कार्यकर्ताको उचित मूल्यांकन नभएको, पार्टीमा विधि–विधान विपरीत गतिविधि बढेको र निर्णय प्रक्रियामा पारदर्शिता कमजोर बन्दै गएको अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि प्रश्न खडा गरेको बिष्टको भनाइ छ ।यस्तो परिस्थितिमा मौन रहन नसक्ने निष्कर्षसहित पार्टीको साधारण सदस्यबाट समेत अलग हुने निर्णय गरेको उनले बताएका छन् । बिष्ट रास्वपाबाट कैलाली–५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न आकांक्षी थिए तर रास्वपाले भने आनन्द बहादुर चन्दलाई उम्मेदवार बनाएपछि रुष्ट भएका उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।अघिल्लो चुनावमा रास्वपाबाट उम्मेदवार बनेका बिष्टले तीन हजार ४०५ मत प्राप्त गरेका थिए ।







प्रतिक्रिया दिनुहोस्