काठमाडौं, ६ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार सोमबार प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कूल २ हजार ९ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
आयोगका सचिव कृष्णबहादुर राउतले साँझ ६ बजेसम्म प्राप्त विवरणअनुसार महिला उम्मेदवारको संख्या ३ सय ३६ र पुरुषको संख्या २ हजार ५ सय ८९ रहेको जानकारी दिए। समावेशीतातर्फ अपाङ्गता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्रबाट १ सय ३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
यो विवरण प्रारम्भिक भएकाले अन्तिम संख्या केही थपघट हुन सक्ने सचिव राउतले बताए। उम्मेदवारी दर्ता प्रक्रिया उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै पक्षलाई धन्यवाद व्यक्त गरेका छन्।
निर्वाचन कार्यतालिकाअनुसार माघ ७ गते बुधबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ माघ ८ गते उजुरीउपर जाँचबुझ गरी बेलुका ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।उम्मेदवारले नाम फिर्ता लिन चाहेमा माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ।
सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्