काठमाडौं । जेन–जी आन्दोलनपछि मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरिरहेको छ । परिवर्तनको यही लहरबीच देशले पहिलो महिला प्रधानमन्त्रीको रूपमा शुशिला कार्कीलाई पाएको छ, जसलाई देशभरका नागरिकले नयाँ आशा र विश्वासका साथ स्वागत गरेका छन् । कानुनी शासन र संवैधानिक मूल्यका लागि चिनिने कार्कीको नेतृत्वलाई नयाँ राजनीतिक संस्कारको शुरुवातका रूपमा हेरिएको छ । तर, प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि केही दिनमै एउटा सानो विषयलाई लिएर सामाजिक सञ्जालमा अनावश्यक हल्ला फैलिएको छ — प्रधानमन्त्रीको कार्यकक्षमा नेपालको चुच्चे नक्सा किन छैन ?

सामाजिक सञ्जालमा कतिपयले यो विषयलाई देशभक्ति र सार्वभौमसत्तासँग जोडेर आलोचना गर्न खोजेका छन्, कतिपयले राजनीतिक अर्थ लगाएर कार्कीको देशप्रतिको प्रतिबद्धतामै प्रश्न उठाउने प्रयास गरेका छन् । तर यथार्थमा भने यो कुनै राजनीतिक निर्णय, बेवास्ता वा संवेदनशीलताको कमी होइन, एकदमै सामान्य र स्वाभाविक व्यवस्थापन प्रक्रियाको हिस्सा हो ।
सरकारका एक उच्च स्रोतका अनुसार, प्रधानमन्त्री शुशिला कार्कीको कार्यकक्ष हालसालै मात्र गृहमन्त्रालयको नयाँ भवनमा सरेको हो । नयाँ कार्यालयमा प्रवेश गर्दा प्रारम्भिक रूपमा अत्यावश्यक सामग्री मात्र राख्ने परम्परा रहँदै आएको छ । त्यसैअनुसार हाल कार्यालयमा संवैधानिक पदका प्रमुख राष्ट्रपतिको तस्वीर मात्र राखेर काम सुरु गरिएको हो । “कार्यालयको भित्री सजावट, राष्ट्रिय प्रतीकहरूको स्थापनादेखि लिएर औपचारिक संरचना तयार पार्ने काम अझै बाँकी छ,” स्रोतले भन्यो, “नक्सा र प्रधानमन्त्रीको तस्वीर राख्ने तयारी अन्तिम चरणमा छ, केही दिनमै सबै औपचारिक सामग्री स्थापना हुनेछन् ।”
सामाजिक सञ्जालमा अर्को भ्रम फैलाइएको छ — प्रधानमन्त्री कार्यालय जलेका कारण नक्सा राख्न नसकिएको भन्ने । तर यो पूर्णरूपमा गलत हो । प्रधानमन्त्री कार्यालयमा केही भौतिक क्षति भए पनि त्यसको नयाँ कार्यालयसँग प्रत्यक्ष सम्बन्ध छैन । कार्कीले जिम्मेवारी सम्हालेपछि कार्यालयलाई नयाँ व्यवस्थापन प्रणालीमा सारिएको हो, जसले सजावटदेखि भौतिक संरचना निर्माणसम्मको कामलाई चरणबद्ध रूपमा अघि बढाइरहेको छ ।
शुशिला कार्कीको अघिल्लो करियर नै पारदर्शिता, न्याय र संवैधानिक मूल्यमा आधारित रहिआएको छ । सर्वोच्च अदालतको इतिहासमा पहिलो महिला मुख्य न्यायाधीशका रूपमा उनी स्वतन्त्र न्यायपालिका र राष्ट्रहितप्रति संवेदनशील व्यक्तित्वका रूपमा चिनिएकी छन् । उनीजस्तै व्यक्तित्वले देशको सार्वभौमसत्ताको प्रतीक ‘चुच्चे नक्सा’लाई बेवास्ता गर्छिन् भन्ने सोच्न नै सकिँदैन । राष्ट्रहितप्रति उनको प्रतिबद्धता शब्दमा होइन, दशकौंको सार्वजनिक सेवामा प्रमाणित भइसकेको छ ।
राजनीतिक विश्लेषकहरूको भनाइमा पनि यो विषयलाई अनावश्यक विवादमा तान्ने प्रयास गर्नु गैरजिम्मेवार प्रवृत्ति हो । नयाँ सरकारको प्राथमिकता राजनीतिक स्थिरता, सुशासन र जनताको अपेक्षालाई सम्बोधन गर्नु हो, कार्यालयमा एउटा प्रतीकात्मक नक्सा केही दिन ढिलो राखिनु मुलुकको दिशासँग सम्बन्धित विषय होइन । “यो विषयलाई असामान्य बनाउने प्रयास राष्ट्रका लागि लाभदायी छैन,” एक विश्लेषक भन्छन्, “यसले नयाँ राजनीतिक नेतृत्वलाई असमयमा नै आलोचनामा पार्न खोज्ने प्रवृत्तिलाई मात्र बल दिन्छ ।”
नेपालको चुच्चे नक्सा कुनै साधारण चित्र होइन — यो हाम्रो सार्वभौमसत्ता, भूगोल र राष्ट्रिय पहिचानको प्रतीक हो । हरेक सरकारी कार्यालयमा यसको उपस्थिति राष्ट्रप्रतिको सम्मानको चिन्हका रूपमा रहने गर्छ । तर कार्यालय सजावटको समयक्रम फरक–फरक चरणमा अघि बढ्ने भएकाले कहिलेकाहीँ यस्ता प्रतीकहरू सुरुवाती चरणमै नदेखिनु अस्वाभाविक होइन । यसअघि पनि विभिन्न मन्त्रालय र संवैधानिक निकायहरूले नयाँ भवनमा सर्दा प्रारम्भिक चरणमा राष्ट्रपति वा राष्ट्रचिन्ह मात्र राखेर काम सुरु गर्ने गरेका छन् ।
शुशिला कार्कीको नेतृत्वमा बनेको सरकारले राष्ट्रिय हित र पहिचानलाई सर्वोच्च प्राथमिकतामा राख्ने स्पष्ट संकेत दिइसकेको छ । उनले पदग्रहणपछि दिएको पहिलो सम्बोधनमै मुलुकको सार्वभौमसत्ता र स्वाभिमानको रक्षा सरकारको पहिलो जिम्मेवारी हुने उल्लेख गरेकी थिइन् । “नेपालको सीमा, भूगोल र पहिचानको रक्षा सरकारको अस्तित्वसँग जोडिएको विषय हो, यसमा कुनै सम्झौता हुँदैन,” उनको भनाइ थियो ।
त्यसैले पनि कार्यकक्षमा ‘नक्सा’ नदेखिनुलाई देशभक्ति वा प्रतिबद्धतासँग जोडेर हेर्नु पूर्ण रूपमा असंगत छ । यो मात्र होइन, सरकारले छिट्टै नयाँ नक्सा र राष्ट्रिय प्रतीकहरूको साथमा कार्यालयको सम्पूर्ण भित्री संरचना सम्पन्न गर्ने तयारी गरिरहेको छ । प्रधानमन्त्रीका नजिकका सल्लाहकारहरूका अनुसार, आगामी साता भित्रै प्रधानमन्त्रीको तस्वीर, नेपालको आधिकारिक नक्सा, राष्ट्रचिन्ह र संवैधानिक दस्तावेजहरूको प्रदर्शनी कार्यकक्षमा राख्ने योजना बनाइएको छ ।
आजको नेपाल संक्रमणकालीन अवस्थाबाट नयाँ युगमा प्रवेश गर्दैछ । जेन–जी आन्दोलनले जनआवाजलाई संस्थागत गर्ने अवसर दिएको छ, र शुशिला कार्कीको नेतृत्वमा मुलुकले नयाँ राजनीतिक संस्कारको सुरुवात गरेको छ । यस्तो संवेदनशील क्षणमा नागरिकले पनि सामाजिक सञ्जालका अपुष्ट र अतिरञ्जित टिप्पणीहरूमा विश्वास गर्नु भन्दा तथ्यमा आधारित भएर बुझ्ने प्रयास गर्न जरुरी छ ।
अन्ततः, प्रधानमन्त्रीको कार्यकक्षमा अहिले ‘चुच्चे नक्सा’ नदेखिनु कुनै लापरवाही वा राजनीतिक सन्देश होइन, कार्यालय व्यवस्थापनको सामान्य चरण मात्र हो । केही समयमै यो प्रतीकात्मक तर गहिरो अर्थ बोकेको नक्सा प्रधानमन्त्रीको टेबल पछाडि टाँसिएको देख्न पाइनेछ, जसले मुलुकको गौरव, सार्वभौमसत्ता र पहिचानलाई झल्काउनेछ । कार्कीको नेतृत्वमा नयाँ नेपाल निर्माणको यात्रामा यस्तो स–साना प्रसंगलाई विवाद होइन, सशक्त राष्ट्र निर्माणको जिम्मेवारीका रूपमा हेर्नु नै आजको आवश्यकता हो ।








प्रतिक्रिया दिनुहोस्