काठमाडौ १३ असार । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा चलिरहेको बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुने नेताहरूले बताएका छन्। साथै, आगामी उपनिर्वाचनका विषयमा पनि छलफलको एजेन्डा रहेको उनीहरूको भनाइ छ।
पतञ्जलि जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि उनी ३५ लाख रूपैयाँ धरौटी तिरेर रिहा भएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ।
भ्रष्टाचार मुद्दा दायर हुनासाथ नेपाल सांसद पदबाट निलम्बित भइसकेका छन्। उनी निलम्बनमा परेको सूचना सभामुखले जेठ ३० गते संसदमा पढेर सुनाएका थिए।
भ्रष्टाचार निवारण ऐनअनुसार, भ्रष्टाचार मुद्दा दायर भएपछि कुनै पनि सार्वजनिक पदाधिकारी पदबाट निलम्बित हुन्छन्।
तर, नेपालले भने भ्रष्टाचार अभियोग लागेपछि पनि नियमित रूपमा नेकपा एकीकृत समाजवादीको अध्यक्षता गरिरहेका छन्। उक्त पार्टीले अरू कसैलालाई कार्यवाहक पनि तोकेको छैन।
मुद्दा चल्नुभन्दा अगाडि उनले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्ष तोक्ने विषयमा केही निकटस्थ नेताहरूसँग छलफल गरेका थिए।








प्रतिक्रिया दिनुहोस्