काठमाडौ १२ असार । सामाजिक सञ्जाल मार्फत २३ लाख १५ हजार रुपैयाँ रकम ठगी गर्ने तथा १ करोड ३१ लाख ६२ हजार ६ सय ७५ रुपैयाँ बराबरको अभौतिक मुद्रा क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा २ जना व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका ५ घर भइ हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ६ बस्ने वर्ष १९ को समिर तामाङ र काठमाडौँको गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजल बस्ने वर्ष १९ को क्रिस पोखरेल रहेका छन्।
यही असार ११ गते, सामाजिक सञ्जाल फेसबुक पेज तथा टेलिग्राम ग्रुपमार्फत समिर तामाङ नाम गरेको एकाउन्टबाट विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने तथा अनलाइन जब लगाइदिने जस्ता पोष्ट गरी प्रलोभनमा पारी विभिन्न बैंक खातामा नगद रु। २३ लाख १५ हजार रुपैयाँ जम्मा गर्न लगाई ठगी गरेको प्रहरीको भनाई छ।
सो सम्बन्धी उजुरीका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई माइतीघरबाट नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले १ करोड ३१ लाख ६२ हजार ६७५ रुपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार गरेको समेत देखिएको छ।
थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अपील राज बोहराले जनाएका छन्।








प्रतिक्रिया दिनुहोस्