काठमाडौ १२ असार । टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो।
बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले असार १ गते पक्राउ गरेको थियो। टिकटकमा नेताहरूमाथि गालीगलौज गर्दै भिडिओ बनाएको आरोपमा उनी पक्राउ परेकी थिइन्। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुरमा बसोबास गर्ने ३१ वर्षकी बस्नेतलाई प्रहरीले अदालतबाट म्याद थपको अनुमति लिई अनुसन्धान गरिरहेको थियो।
उनलाई सामाजिक सञ्जाल टिकटकमा नियोजित रूपमा जातीय तथा साम्प्रदायिक सद्भावमा खलल पुर्याउने, प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्ष्यित गर्दै तथ्यहीन तथा भ्रामक सामग्री प्रकाशित–प्रसारित गरेको आरोप लगाइएको थियो।
उनले पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली र एमालेलाई लक्षित गर्दै टिकटक सामाग्री पोष्ट गरेकी थिइन्। उनले कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ती गरेको विषयमा पनि विरोध गरेकी थिइन्।
यस्तै उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई असहयोग गरेको भन्दै उपमेयर सुनिता डंगोलको पनि आलोचना गरेकी थिइन्। उनले एमाले र अन्य दलका नेताहरुको पनि आलोचना गरेका सामाग्री टिकटकमा छन्।








प्रतिक्रिया दिनुहोस्