काठमाडौ १२ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा पर्ने दुम्कीबासको पुल भाँचिएको ६ महिना पुग्न लाग्दा पनि सरकारले विकल्प नदिँदा गाडी चालक र यात्रुहरूले सास्ती खेप्नुपरेको छ ।
गएको पुस २६ गते विनयी खोलाको पुल भाँचिएको थियो । डाइभर्सन बनाएर गाडी चलाए पनि बाढीले पटक पटक बगाउने गरेको छ । अहिले डाइभर्सनको वैकल्पिक मार्ग प्रयोगमा ल्याइए पनि मालवाहक ट्रक चल्न दिइएको छैन ।
भैरहवा–काठमाण्डौ रुटमा ट्रक चलाउँदै आउनुभएका कृष्णबहादुर श्रेष्ठ ४ दिनदेखि बर्दघाटमै रोकिएको बताउनुहुन्छ । आफूहरूले प्रशासनलाई आग्रह गरे पनि नसुनेको उहाँको भनाइ छ ।
भैरहवाबाट काठमाण्डौ हिँडेका अर्का ट्रक चालक बुद्धिसागर न्यौपाने पनि ४ दिनदेखि बर्दघाटमै रोकिनुभएको छ । ट्रकमा आलु र प्याज बोकेका ट्रक चालक सुबोध पासवान पनि ४ दिनदेखि बर्दघाटमै रोकिनुभएको छ । उहाँले ट्रकमा भएको आलु र प्याज कुहिएर गन्हाउँदा सुत्नसमेत नसकिएको गुनासो गर्नुभयो । उहाँहरूजस्तै सयौं चालकहरू अहिले सडकमै दिनरात कटाइरहेका छन् ।
बुटवल–नारायणगढ खण्डको दुम्कीबासमा रहेको विनयी खोलाको भाँचिएको पुललाई यही असारभित्र सञ्चालनमा ल्याउने तयारी गरेको सडक आयोजनाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्