काठमाडौ ११ असार । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा पेश हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले संवेदनशील विधेयकलाई टार्ने वा समितिबाट सर्वसम्मत पारित भएपछि पनि चलखेल गर्ने प्रवृत्ति हाबी भएको बताउनुभयो । समितिबाट सर्वसम्मत पारित भइसकेका केही विधेयकहरू प्रतिनिधिसभामा कार्यसूचीमा राखिए पनि अन्तिम समयमा हटाइएकोप्रति उहाँको असन्तुष्टि छ ।
सङ्घीय निजामती सेवा र विद्यालय शिक्षाजस्ता महत्त्वपूर्ण विधेयकहरू कार्यान्वयनका लागि अत्यावश्यक भएको भन्दै अध्यक्ष प्रचण्डले यसमा सरकार र समितिका सभापतिको ध्यानाकर्षण गराउनुभयो । सरकारले यी विधेयकलाई टार्दै जाने जोखिम रहेकैले आफूले सरकारसँग समन्वय गरेको उहाँको भनाइ छ ।
प्रचण्डले सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा देखिएको अन्योल हटाउन कानूनी आधार निर्माणमा सबै दलले सहकार्य गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
बैठकमा सहभागी अन्य सांसदहरूले पनि समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरूमा अनावश्यक हस्तक्षेप स्वीकार नहुने बताए ।








प्रतिक्रिया दिनुहोस्