काठमाडौं २ असार ।इजरायल र इरानबीचको तनाव तेस्रो दिनमा प्रवेश गर्दा इजरायलले इरानको राजधानी तेहरानसहित देशका विभिन्न क्षेत्रमा लगातार आक्रमण गरेको छ। इरानको स्वास्थ्य मन्त्रालयका अनुसार यी हमलामा हालसम्म २२४ जनाको मृत्यु भएको छ। मृतकमध्ये इस्लामिक रिभोलुसनरी गार्ड कोर आइआरजीसीको गुप्तचर संगठनका प्रमुख मोहम्मद काजेमी र अन्य दुई जना जनरल पनि रहेका छन् ।
इरानले इजरायलमाथि गरेको जवाफी हमलामा इजरायलको उत्तरी सहर हाइफासहितका क्षेत्रमा कम्तीमा ८ जना घाइते भएको इजरायलको राष्ट्रिय आपतकालीन सेवाले जनाएको छ। इजरायलको नागरिक उड्डयन प्राधिकरणले देशको सम्पूर्ण हवाई क्षेत्र र विमानस्थलहरू पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ।
इजरायली सेनाका प्रमुख इयाल जामिरले इरानमाथिको हमलालाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै यसलाई ‘ऐतिहासिक र अभूतपूर्व कारबाही’ को रूपमा वर्णन गरेका छन्, । आक्रमणको उद्देश्य ‘अस्तित्वमाथिको खतरा’ लाई ठूलो झट्का दिनु रहेको दावी गरेको अलजजिराले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै युद्धरत देशहरूले ‘चाँडै शान्ति’ कायम गर्ने बताएका छन्। उनले अमेरिका हाल यो द्वन्द्वमा संलग्न नरहेको उल्लेख गरेका छन् ।
जर्मन चान्सलर फ्रेडरिक मर्जले क्यानडामा आयोजना हुने आगामी समूह सात जी ७ शिखर सम्मेलनमा इजरायल र इरानबीचको द्वन्द्व समाधानका लागि कूटनीतिक पहललाई प्राथमिकता दिने चारवटा प्रमुख बुँदाहरूमा सहमति हुन सक्ने बताएका छन्।
‘इजरायलसँग लामो युद्ध लड्ने इरानसँग क्षमता छैन’
जर्ज वाशिङ्टन विश्वविद्यालयका व्याख्याता सिना अजोदीका अनुसार इजरायलसँग इरानको तुलनामा हतियारको गुणस्तर र परिमाणको धेरै फाइदा रहेको छ । इरानले छोटो अवधिका लागि सफल हमलाहरू गर्न सक्षम भए पनि लामो समयसम्म युद्ध जारी राख्ने स्रोतको कमी रहेको उनले बताए।
‘इजरायलले अमेरिका र युरोपबाट अत्याधुनिक हतियार प्रणालीहरू प्राप्त गर्छ र उससँग धेरै आर्थिक स्रोतहरू छन्’ अजोदीले भने। उनले थपे, ‘इरानमाथि कडा आर्थिक प्रतिबन्ध र हतियार नाकाबन्दी छ, जसले गर्दा रूस र चीनजस्ता मित्र राष्ट्रहरूले पनि आवश्यक सैन्य सहायता प्रदान गर्न सम्भवतः असमर्थ छन्।’
‘इरानले आफ्नै घरेलु क्षमतामा निर्भर भएर मिसाइलहरू निर्माण गर्नुपर्छ र ठूलो संख्यामा प्रक्षेपण गरेर इजरायली हवाई रक्षा प्रणालीलाई परास्त गर्नुपर्छ, तर यो लामो समयसम्म कायम राख्न इरान सक्षम छैन,’ उनले भनेका छन् ।







प्रतिक्रिया दिनुहोस्