काठमाडौं ३१ जेठ । इरानले इजरायलमाथि शुक्रबार राति प्रतिशोधात्मक मिसाइल आक्रमण गर्दा . कम्तीमा चार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। यो आक्रमण इजरायलले इरानका परमाणु स्थल र सैन्य नेतृत्वमाथि गरेको ठूलो आक्रमणको जवाफी कारबाही भएको तेहरानदे जनाएको छ ।
इजरायली रक्षा मन्त्री इसरायल काट्जले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई चेतावनी दिँदै भनेका छन् “यदि इरानले इजरायली नागरिकमाथि मिसाइल प्रहार जारी राख्यो भने तेहरान जल्नेछ।” इरानले बेलायत, अमेरिका र फ्रान्सलाई आफ्ना आक्रमण रोक्न सहयोग गरेमा तिनका क्षेत्रीय सैन्य अड्डाहरूलाई निशाना बनाउने चेतावनी दिएको छ।
इजरायलको आक्रमणले इरानको परमाणु कार्यक्रम र सैन्य नेतृत्वलाई कमजोर पार्ने उद्देश्य राखेको छ । ती क्षेत्रहरुमा नातान्ज र इस्फाहानका परमाणु सुविधाहरू र उच्च सैन्य कमान्डरहरू निशाना बनेका छन्।
गाजामा खाद्यान्न वितरण रोकिएको छ र फ्रान्स–साउदी शिखर सम्मेलन अनिश्चितकालका लागि स्थगित भएको छ। इजरायलको ध्यान अब गाजाभन्दा इरानतर्फ केन्द्रित हुँदा प्यालेस्टाइन मुद्दालाई छायाँमा पारेको छ।
विश्लेषकहरूले यो आक्रमणले मध्यपूर्वमा ठूलो युद्धको जोखिम बढाएको र अमेरिका–इरान परमाणु वार्तालाई बिथोलिएको बताएका छन्। इजरायलले गाजामा चलिरहेको युद्ध र पश्चिमी किनारमा हिंसालाई कम प्राथमिकता दिँदै इरानलाई आफ्नो मुख्य निशानाको रूपमा राखेको छ।
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले इजरायललाई ‘गम्भीर सजाय’ को चेतावनी दिँदै इरानमाथिको आक्रमण र उच्च सैन्य कमान्डरहरूको हत्यालाई ‘अपराध’ को संज्ञा दिएका छन्। इरानको दाबीअनुसार, इजरायली आक्रमणमा कम्तीमा ७८ जनाको मृत्यु भएको छ । मृतकहरुमध्ये महिला र बालबालिका समेत रहेका छन् । आक्रमणमा परी ३२० भन्दा बढी घाइते भएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो सैन्य कारबाही ूजबसम्म आवश्यक हुन्छू जारी रहने बताएको अलजजिरा टेलिभिजनको अनलाइन संस्करणमा उल्लेख छ । नेतान्याहूले इरानको परमाणु कार्यक्रमलाई इजरायलको अस्तित्वका लागि खतरा भएको बताउँदै आएका छन्।
इरानको प्रतिशोध र इजरायलको रणनीति
इरानले शुक्रबार राति र शनिबार बिहान तेल अविव र जेरुसेलमलगायत इजरायलका विभिन्न स्थानमा सयौं ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार गरेको छ। इजरायली सेनाले यी मिसाइलहरूको अधिकांशलाई आफ्नो ूआयरन डोमू रक्षा प्रणालीमार्फत रोकेको दाबी गरेको छ । तर केही मिसाइलले तेल अविवको रामत गान क्षेत्रमा भवनहरूमा क्षति पुर्याएको छ।
इजरायलले शुक्रबार बिहान ‘अपरेशन राइजिङ लायन’ नामक कारबाहीमा इरानका नातान्ज र इस्फाहानस्थित परमाणु सुविधाहरू, सैन्य अड्डाहरू र उच्च सैन्य नेतृत्वलाई निशाना बनाएको थियो। इजरायली सेनाले नौ जना परमाणु वैज्ञानिक र इरानको रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का कमान्डरहरू सहित छ जना उच्च सैन्य अधिकारी मारिएको दाबी गरेको छ।
अन्तर्राष्ट्रिय प्रतिक्रिया
संयुक्त राज्य अमेरिकाले इजरायलको आक्रमणमा आफ्नो संलग्नता नभएको बताउँदै इरानलाई क्षेत्रमा रहेका अमेरिकी अड्डाहरूमाथि आक्रमण नगर्न चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु सम्झौताका लागि दबाब दिँदै ‘थप क्रूर आक्रमण’ को चेतावनी दिएका छन्।
पाकिस्तानले इरानलाई पूर्ण समर्थन गर्दै इस्लामिक देशहरूलाई इजरायलविरुद्ध एकजुट हुन आह्वान गरेको छ। पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले इजरायलसँग सम्बन्ध तोड्न र इस्लामिक सहयोग संगठन (ओआईसी) को आपतकालीन बैठक बोलाउन माग गरेका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले इजरायल–इरान तनावले युक्रेनलाई प्राप्त हुने सैन्य सहायता प्रभावित हुने चिन्ता व्यक्त गरेका छन्। उनले तेलको मूल्यवृद्धिले रुसलाई फाइदा पुग्ने दावी गरेका छन् ।
क्षेत्रीय र विश्व प्रभाव
इरानले तेलको ढुवानीका लागि महत्वपूर्ण मानिने होर्मुज स्ट्रेट बन्द गर्ने सम्भावनालाई गम्भीर रूपमा विचार गरिरहेको जनाएको छ । यसले गर्दा विश्व बजारमा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
इजरायली विश्लेषक ड्यान पेरीका अनुसार, इरानको परमाणु कार्यक्रमलाई रोक्ने विषयमा इजरायली जनता एकजुट छन्, तर नेतन्याहूको सरकारप्रति असन्तुष्टि रहेको अलजजिराले उल्लेख गरेको छ। उनले यो तनाव अनियन्त्रित रूपमा बढेमा अमेरिकालाई समेत तान्न सक्ने चेतावनी दिएका छन् ।
इरानी विश्लेषक हामेद मूसावीले इरान भूराजनीतिक रूपमा एक्लिएको बताउँदै अमेरिकाले इजरायललाई हतियार र आर्थिक सहायता प्रदान गरिरहेकोमा आलोचना गरेका छन् । उनले इजरायली आक्रमणले परमाणु वार्तालाई बिथोलिएको र इरानी जनतामा इजरायलप्रति सहानुभूति नरहेको उल्लेख गरे।
तस्वीर र तथ्यांक
स्याटेलाइट तस्वीरले नातान्ज परमाणु सुविधा र कमरशाह प्रान्तको इमाम हसन सैन्य अड्डामा ठूलो क्षति भएको देखाएको छ।
इरानको तस्निम समाचार एजेन्सीले इजरायली आक्रमणमा तीन परमाणु वैज्ञानिक अली बकाई करिमी, मन्सुर असन्तु र साइद बोर्जी मारिएको जनाएको छ।
इजरायली सेनाले ७० वटा जेट विमान प्रयोग गरी इरानमा ४० भन्दा बढी स्थानमा आक्रमण गरेको र तेहरानमा ‘हवाई स्वतन्त्रता’ कायम गरेको दाबी गरेको छ।







प्रतिक्रिया दिनुहोस्