काठमाडौ २९ जेठ । मुलुकमा देखा परेका सञ्चार सम्बन्धि केही गतिविधिले नेपाली सञ्चार क्षेत्रमा त्रासको वातावरण श्रृजना भएकोे छ । जिल्ला अदालत काठमाडौँले नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारका विषयमा गरेको अल्पकालीन अन्तरिम आदेश र समाचारकै विषयलाई लिएर पत्रकार दिलभुषण पाठक विरुद्ध जारी भएको पक्राउ पुर्जीका विषयमा नेपाल मिडिया सोसाइटी गम्भीर ध्यानाकर्षण भएको छ ।
गत मंगलबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दर्ता गरेको रिट निवेदनउपर सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौँले न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले ‘निवेदकलाई अपूरणीय क्षति र सुविधा सन्तुलनसमेतको दृष्टिकोणबाट विपक्षीहरूलाई आफ्नो वेबसाइट, अनलाइन वा अन्य माध्यमबाट अप्रमाणित, तथ्यहीन समाचारहरू प्रकाशन, प्रसारण नगर्नु, नगराउनु, प्रकाशित भएका समाचारहरू अनलाइनबाट तुरुन्त हटाउनु, हटाउन लगाउनु’ भन्ने अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित समाचारका विषयमा चित्त नबुझेको अवस्थामा पीडितको उजुरी लिने र त्यसविरुद्ध कारबाही गर्ने संस्था प्रेस काउन्सिल नेपाल हो । यी दुवै प्रकरणमा काउन्सिलको क्षेत्राधिकारलाई नजरअन्दाज गरिएको छ । अदालतबाट भएको यो आदेश नेपालको संविधान २०७२ ले व्यवस्था गरेको पूर्ण प्रेस स्वतन्त्रता र प्रेस स्वतन्त्रता सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता तथा मर्म र भावना विपरीत छ ।
नेपालको संविधान २०७२ले प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेको छ । प्रेस स्वतन्त्रताको यो संवैधानिक व्यवस्था कहिं कतैको आदेश निर्देशले संकुचित गर्न सक्दैन, हुँदैन । लोकतन्त्रमा न्यायालयको निर्णय पालना हुनुपर्छ भन्नेमा कसैको विमती हुनुहुँदैन र छैन पनि । तर अदालतको यो आदेश पुनर्विचारयोग्य छ र पुनर्विचार गरियोस् भन्ने हामी माग गर्दछौं ।
त्यसैगरी पत्रकार दिलभुषण पाठकलाई सरकारले गरेको धरपकड खेदजनक छ । समाचारको विषयमा सरकारले साइबर काननुको दुरुपयोग गर्दै पाठकलाई पक्राउ पुर्जी जारी गरिनुले सरकारको प्रेस विरोधी अनुहार छर्लङग भएको छ ।
पछिल्ला कदमले नेपाली सञ्चार क्षेत्र आतंकित पारेको छ । संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकार÷सञ्चारकर्मीलाई स्वतन्त्रपूर्वक काम गर्नका लागि निर्भय र सुरक्षित वातावरण बनाउन सरकार र सम्बद्ध सरोकारवालासंग माग गर्दछौं । साथै, फौजदारी सँहिता २०७४ अन्तरर्गत भएका छिद्रहरुलाई जथाभावि प्रयोग नगर्न पनि सचेत गराउँदछौं ।










प्रतिक्रिया दिनुहोस्