काठमाडौ २८ जेठ । सूचना तथा सञ्चार मन्त्रालयले सविना मास्के प्रधानलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको छ । बिलिङ प्रणाली खरिदमा भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १७ व्यक्ति र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि रिक्त पदमा प्रधानलाई जिम्मेवारी दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए ।
प्रमुख प्राविधिक अधिकृतको रुपमा कार्यरत प्रधानले पनि बिलिङ प्रणाली खरिदमा भ्रष्टाचारको मुद्दामा बयान दिएकी थिइन् । प्रधानका श्रीमान् अमुल प्रधान पनि यही मुद्दामा परेर निलम्बनमा परेका छन् । अमुल तत्कालीन निमित्त निर्देशक पदमा कार्यरत थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा प्रतिवादीविरुद्द मुद्दा चलाएको थियो । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ बिगो कायम गरी उनीहरू १४ जनाविरुद्ध नै बिगोबमोजिम जरिवाना तथा हानिनोक्सानी भइसकेको ९ करोड ८८ लाख ४१ हजार ९ सय ५६ रुपैयाँ असुलउपर गर्न मागदाबीसहित अभियोगपत्र दायर गरिएको छ ।
मुख्य कसुरदारको अभियोग लगाइएका उनीहरू सबैलाई १० देखि १४ वर्षसम्मका दरले कैद सजाय हुनुपर्ने अख्तियारको मागदाबी छ ।








प्रतिक्रिया दिनुहोस्