ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद्ले निम्त्याएको दुःख


एबीसी / संवाददाता

काठमाडौँ, १० साउन । बाढी र पहिराले गत वर्ष थिल्थिलो बनाएको सिन्धुपाल्चोक जिल्ला यसपाली पनि मनसुनको शुरुआतमै नराम्ररी क्षति बेहोर्न पुग्यो ।

जिल्लाको हेलम्बु र मेलम्ची क्षेत्रमा नसोचेको बाढी आउँदा बजार नै तहसनहस भयो । हेलम्बु गाउँपालिका– १ नाकुत्तेभन्दा ५०० मिटर माथिबाट पहिरो खसेर मेलम्ची नदी थुनिएर फुटेपछि ठूलो दुर्घटना हुन पुगेको थियो ।

विज्ञका अनुसार यसपाली अप्रत्यासितरुपमा लेदो र गेगरसहितको बाढी आउँदा अकल्पनीय क्षति भएको छ । विगतमा आएको जुरे पहिरो होस् या अन्य क्षेत्रका मनसुनजन्य घटना सिन्धुपाल्चोकका कतिपय बासिन्दाका लागि अकल्पनीय काल बनेर आएको छ ।

अर्को दोस्रो बढी क्षति हुने मनाङ हो । त्यहाँ मानवीय क्षति हुन पाएन, तर ५९ घर पूर्ण क्षति भएको छ । झण्डै ५४ किलोमिटर सडक बाढी र पहिरोले भत्काएउँदा अहिलेसम्म सदरमुकाम चामे सडक सञ्जालबाट विच्छेद छ । सात वटा गाडी गुड्ने पुलसहित बेलिब्रिज, सरकारी भवन, स्कुलसमेत क्षति पुगेको छ । यहाँका चार जलविद्युत् आयोजनामध्ये दुई पूर्ण र दुईमा आंशिक क्षति छ ।

यसपाली मुलुकमा सिन्धुपाल्चोक र मनाङलगायत ४८ जिल्लामा ठूलो जनधनको क्षति भएको छ । मानवीय क्षतिको विवरण आइसके पनि भौतिक क्षतिको अझै यकीन विवरण आइनसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल बताउनुहुन्छ ।

सिन्धुपाल्चोकमा बाढीपहिरामा परी पाँच जनाले ज्यान गुमाएका छन् । अझै २० बेपत्ता छन् भने छ जना घाइते भए । जिल्लामा ३३८ घर पूर्ण क्षति भएको छ । उक्त जिल्लामा सात पक्की पुल, १४ झोलुङ्गे पुल, १० वटा माछा फार्म र ३२ सरकारी भवन क्षत्विक्षत छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त अभिलेखानुसार मानवीय क्षतिका हिसाबले सिन्धुपाल्चोकपछि गोरखा र डोटीमा चार÷चार, पाँचथर, रोल्पा, रौतहट र दाङमा तीन÷तीन, पाल्पा, तनहुँ र दार्चुलामा पाँच÷पाँच जनाले ज्यान गुमाए ।

गत जेठ २८ मा नेपाल भित्रिएको यसपालिको मनसुनबाट हालसम्म ६५ जनाले ज्यान गुमाएका छन् । अन्य ३६ बेपत्ता र ६८ जना घाइते भएका छन् । कूल ५७६ घर पूर्ण र १५५ घरमा आंशिक क्षति पुगेको छ । विपद्बाट ३७ सरकारी कार्यालय, १३ स्कुल तथा सामुदायिक भवन, २५ जलविद्युत् आयोजना, २६ पक्की पुल र २६ झोलुङ्गे पुलमा क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भनाइ छ ।

प्राधिकणका प्रवक्ता विश्वप्रकाश अर्याल मनसुन भित्रिएपछिको अवधिमा सरकारले हेलिकप्टरबाट २७८ र स्थलमार्गबाट ४३२ गरी ७१० जनाको उद्धार गरेको बताउनुहुन्छ । जोखिम क्षेत्रका चार हजार ६०६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची खोला किनारका १९६ घरमा स्थलगत र ड्रोनका माध्यमबाट स्थलगत निरीक्षण तथा अध्ययन गरी नोक्सानीको मूल्याङ्कन भइरहेको छ । देशभरिको क्षतिको विवरण अझै सङ्कलन जारी छ ।

यसपालीको मनसुनजन्य घटनाबाट क्षति बेहोरेको सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरी सरकारले आवश्यक राहत, पुनःनिर्माण तथा पुनःस्थापनका कार्य अघि बढाएको छ । त्यसका लागि विश्व बैंकबाट थप २५ मिलियन डलर सहुलियतपूर्ण ऋण सहयोग प्राप्त हुने आश्वासन आइसकेको गृहमन्त्री बालकृष्ण खाँडले संसदीय समितिमा जानकारी गराइसक्नुभएको छ । मन्त्री खाँड भन्नुहुन्छ, “सरकारले मनाङको चामेलगायत सडक सञ्जाल नपुगेर अभावग्रस्त भएको क्षेत्रमा खाद्यान्न तथा औषधि हेलिकप्टरबाट ढुवानी गर्ने तयारी गरेको छ ।”

सरकारले मनसुनजन्य घटना तथा क्षति न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७८ कार्यान्वयनमा ल्याएको छ । यस्तै विपद् जोखिम वित्तीय व्यवस्थापन रणनीति २०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि २०७२ ९प्रथम संशोधन २०७८०, आगलागीबाट क्षति भएका निजी आवास पुनःनिर्माणसम्बन्धी कार्याविधि २०७८, कार्यान्वयनमा रहेको र फिल्ड अनुसन्धान तथा पहिरो प्रभावित व्यवस्थापन प्राविधिक गाइडलाइन निर्माण गरेर विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका कामलाई उच्च प्राथमिकता दिएको छ ।

सरकारले आगामी १० वर्षभित्रमा नेपाललाई विपद् उत्थानशील राष्ट्र बनाउने उद्देश्यका साथ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी १० वर्षे महाअभियान यसै वर्षबाट शुरु गरेको जनाइएको छ ।

अस्थायी आवास पुनःनिर्माण तीव्र

सरकारले विपद्बाट प्रभावितको पुनःस्थापनका लागि अस्थायी आवास पुनःनिर्माण कार्यक्रमलाई समेत तीव्ररुपमा अघि बढाएको छ । यस वर्ष मनसुनजन्य विपद्बाट क्षति भएका आठ जिल्लाका ५७३ घर परिवारलाई अस्थायी आवास निर्माणका लागि रु २ करोड ८६ लाख ५० हजार रकम असार मसान्तभित्र मै सम्बन्धित जिल्लामा पठाइएको प्राधिकरणको भनाई छ ।

गत वर्षको विपद्बाट क्षति पुगेका २२ जिल्लाका चार हजार ९३७ निजी घर पुनःनिर्माण तथा पुनःस्थापनका लागि सङ्घीय सरकारकोतर्फबाट बेहोर्नुपर्ने प्रथम किस्ताबापतको रु २९ करोड ९९ लाख २६ हजार सम्बन्धित क्षेत्रमा पठाइसकिएको छ ।

नेपालमा गत जेठ २८ गते मनसुन प्रवेश गरी ३० गते देशैभरि फैलिएको थियो । यसपालि सरदरभन्दा बढी नै पानी पर्ने आँकलन गरिएकाले पनि बाढी, पहिराको जोखिम विगतकोभन्दा बढी नै छ । नेपालमा पहाडी जिल्ला पहिरो र तराईका जिल्ला बाढीबाट बढी प्रभावित छन् । हिमाली क्षेत्र हिउँ पहिरो र हिमपातबाट प्रभावित हुन्छ । नेपालमा भिरालो जमीन, कमजोर भौगोलिक अवस्था, यत्रतत्र सडक खन्ने काम, जोखिम क्षेत्रमा बसोबास, अव्यवस्थित शहरीकरण, डढेलो तथा अव्यवस्थित वन, प्लटिङ, प्राकृतिक सम्पदाको दोहन, जलवायु परिवर्तन, बहुप्रकोपको प्रभाव र चेतनाको अभावले मनसुनजन्य विपद्लाई बढावा दिइरहेको विज्ञले औँल्याएका छन् ।

खानी तथा भूगर्भ विभागका राजेन्द्र भण्डारी विश्वकै अग्लोदेखि निकै होचो भूभागसमेत नेपालमा रहेकाले पनि मनसुनजन्य विपद्बाट नेपाल उच्च जोखिममा रहेको बताउनुहुन्छ । विगतको तथ्याङ्क विश्लेषणका आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट राजेन्द्र शर्मा बाढीबाट १७ लाख र पहिराबाट एक लाख २० हजार प्रभावित हुने अनुमान गरिएको सुनाउनुहुन्छ । गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो ।

सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपद्बाट झण्डै ४०० मानिसको मृत्यु भएको थियो । एक हजार १०० बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com