काठमाडौं,२५ साउन । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सिंहदरबारमा शुक्रबार आयोजित दुइपक्षिय बैठकपछि आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बङ्गलादेशका विद्युत, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
समझदारीपछि बंगलादेशले नेपालबाट पाँच सय मेगावाट विजुली आयात गर्नेछ । समझदारीमा, नेपाली जलविद्युत् क्षेत्रमा बंगलादेशको लगानी सहजीकरण गर्ने, नेपाल–बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि सचिव र सहसचिवस्तरीय संयन्त्र बनाउने जस्ता विषय समावेश छन् ।
प्रसारण लाइन निर्माणका लागि विमस्टेक सम्मेलनमा भारतसँग त्रिपक्षीय छलफल गर्ने सहमति समेत भएको छ । नेपालको ऊर्जा क्षेत्रमा बङ्गलादेश स्वयंले नै लगानी गर्ने र निजी कम्पनीलाई समेत प्रोत्साहित गर्ने सहमति भएको छ ।
समझदारीमा हस्ताक्षरपछि बोल्दै बंगलादेशी ऊर्जा राज्यमन्त्री हमिदले नेपाल र बंगलादेशमा स्थायी सरकार रहेकाले दुवै देशबीचको ऊर्जा सहकार्यले मूर्तरुप लिने विश्वास व्यक्त गर्नुभयो । उहाले भारत हुँदै आफ्नो देशमा ऊर्जा भित्र्याउन भारतीय पक्षसँग छलफल गर्ने बताउनुभयो ।
त्यस्तै ऊर्जा मन्त्री वर्षमान पुनले दुई देशबीच गठन हुने सचिव र सहसचिवस्तरीय संयन्त्रको पहिलो बैठक नेपालमा हुने बताउनुभयो । मन्त्री पुनले नेपाल, भारत र बंगलादेशबीच ऊर्जा सहकार्यको लागि पनि छलफल अघि बढाइने बताउनुभयो ।
नेपालसंग उर्जा समाझदारीमा हस्ताक्षर गर्ने बंगलादेश तेस्रो मुलुक हो । यसअघि भारत र चीनबिच पनि यस्तै उर्जा सहकार्य सम्बन्धी सम्झौताहरु भइसकेको छ । अहिले बंगलादेशले आफूलाई अपुग विद्युत् भारतसँग पनि खरिद गर्दै आएको छ ।
विद्युतको माग र आपूर्तिबीचको असन्तुलन बंगलादेशको समस्या रहँदै आएको छ । तथ्यांकअनुसार सन् २०१६ सम्ममा बंगलादेशका कुल परिवारमध्ये ७६ प्रतिशतकहाँ मात्रै विद्युत् सुविधा पुगेको छ भने यसलाई सन् २०२१ सम्ममा ९८ प्रतिशत पुर्याउने लक्ष्य बंगलादेश सरकारको छ ।
प्रतिक्रिया दिनुहोस्