जब आमाले पुलिसलाई लखेट्नुभयो

शारदा शर्मा
2019-04-18 16:08


This image has an empty alt attribute; its file name is sharada-sharama1.jpg

बा भुमिगत हुँदा हामी सानै थियौं । बुबा र बोईले हामीलाई धेरै कुरा सिकाउनुभयो । हामी हरेक कुरामा संयमित बन्नै पर्दथ्यो । किनकी पञ्चायती व्यवस्थाको अन्त गरेर बहुदल ल्याउन हिँडेकाहरू धेरै भुमिगत थिए कति अर्धभुमिगत रुपमा थिए । हामी सानै थियौं । स्कुल जाने आउने गर्थ्यौं ।

भुमिगत हुनुभन्दा पहिले पनि बा पटक पटक जेल जानु्हुन्थ्यो । दारी कपाल केही नभएको मान्छे अठार बीस दिनमा घरमा आउँदा दारी कपाल पालेर आउनुहुन्थ्यो । बाले हामीलाई पढ पढ भन्ने हुँदा हामीलाई बा घरमा नभए पढ्न पर्दैनथ्यो भन्ने हुन्थ्यो । जेल भन्ने के थाहा ? जब बालाई पुलिसले पक्रेर लान्थ्यो हामी अब पढ्न नपर्ने भयो भनेर खुसी हुन्थेउँ । साँच्चै जीवनका यी अचम्म लाग्ने घटनाहरू निकै रमाइला हुनेरहेछन अहिले सम्झिदा पनि । हामी अटेन्सनमा थियौं । बा भुमिगत भएपछि हामीलाई पढ भन्ने मान्छे थिएन । पढ भन्ने मान्छे नभएपछि हामी आफुलाई धेरै स्वतन्त्र पनि सम्झिन्थ्यौं, त्यतिबेला अनि असाध्यै खुसी हुन्थ्यौं । आमालाई जे भने पनि त भयो । बा घरमै नआइदिए हुनेथियो जस्तो लाग्थ्यो ।

कहिलेकाहीँ बा घरमा आउनुहुन्थ्यो रातिमा । सानो भाइ धेरै सानो थियो । अलि अलि बोल्न जान्थ्यो । एकदिन बा आएकै समयमा साँझ लालटिन हातमा समाएर बि बि भन्दै बाहिर भित्र घुम्न थाल्यो । हामीले कुरा बुझेनौ । बा आँटीमा हुनुहुन्थ्यो । गाउँमा घरको एकतला माथिको भागलाई आँटी भन्ने चलन थियो । उस्ले बालाई खोजेको रहेछ । धेरैबेर बि बि भनेर खोजेपछि खाना खाने समय भएर बा तल आउनु भयो उ बाको काखमा गयो ।

पछि हामीले बुझेउँ, उसले बालाई बि भन्दै खोजेको रहेछ । बच्चा पनि कति बाठो भएको ? बा भनेर बोलाउँदा वल्तिर पल्तिर सबैले थाहा पाउने भएर पनि उस्ले यस्तो गरेको हुनुपर्छ । कसैले नसिकाइकन उसले यस्तो कार्य गरेको देखेर हामी चकित थियौ ।

यसरी दिनहरू बित्दै थिए । आफसे आफ नै परिवेशले हरेक कुराको निर्माण गर्नेरहेछ र मान्छेलाई त्यसरी नै प्रशिक्षित गर्नेरहेछ भन्ने यो पनि यौटा सत्यता हो । तीजमा हाम्रो स्कुलमा मेला लाग्थ्यो । हामी सानै भए पनि त्यहाँ परिवर्तनका गीत गाउँथ्यौंं । एक पटकको कुरा हो ठूलो भाइलाई सार्वजनिक मुद्धा लाग्यो । उ जम्मा सात बर्षको थियो । हजुरबाले बोकेर ठानामा लानुभयो । बुवा भुमिगत नै हुनुहुन्थ्यो । देख्ने जति सबै अचम्म मानिरहेका थिए । मुद्धा खै कसलाई हो भाइले पिट्यो भनेर लगाइएको थियो । पछि ठानेदार नै चकित परेछ फर्काइदियो केही नगरिकन । त्यो वर्ष तीजमा हाम्री कान्छी फुपुले त्यहि विषयमा गीत बनाउनुभएको थियो । सम्झँदा रमाइलो लाग्ने कुरा हुन यी ।

एकदिन हामी बारीमा काम गरिरहेका थियौं । घरमा हजुरआमा मात्र हुनुहुन्थ्यो । बुबालाई खोज्दै पुलिस आए । बारीबाट घर देखिन्थ्यो । भर्खरै नुहाएर कपाल कोरेको पनि थिएन । आमा बाउसो बजार्दै घरमा गएर पुग्दा पुलिसहरू डराएर भागेको देखेर हामी पछिसम्म पनि हाँस्थेउँ । समय न हो यसरी पञ्चायतकालीन दिनहरू बित्दै थिए । बिस्तारै पुलिस बालाई लिन आउने कुरा बुझाउन थालिन बोईले । हामीले हजुरबालाई बुबा भन्थेउँ, हजुरआमालाई बोइ भन्ने गर्थेउँ ।

गाँउमा हलो जोत्ने कम्युनिष्ट हुन्छन् भनेर बाले हलो जोते पछि गाँउघरमा हामीलाई छोइछिटो गरिन्थ्यो । यो पनि हजुरआमाले नै हामीलाई बताउनुहुन्थ्यो । हामीले थाहापाउँदासम्म हाम्रा नजिकका आफन्तको चुलोमा पनि जान पाइन्थेन ।

हामीलाई आमाले निकै दुःख गरेर हुर्काउनुभयो । समाजमा छोरा पाउने लडाई जितेर वीर बनेकी मास्टर्नीका छोराछोरी थियौं हामी । किनकी आमाको पहिचान थियो त्यो । १८ वर्ष शिक्षक पेशा सम्हालेका चल्ताफुर्ता मस्टरकी मस्टर्नी हुनुहुन्थ्यो आमा । मिठो खाना पकाउने भएकोले मास्टर्नीको घरको खाना खान पनि धेरै मान्छेहरू हाम्रो घरमा काम गर्न आउन निकै मन पराउँथे । हामी तीन बहिनी जन्मिए पछि छोरा पाउन नसकेको भनेर समाजले लगााएका धेरै गुनहरूको ऋण त आमाले आज पनि तिर्दै हुनुहुन्छ कतिलाई । समाज परिवर्तनको दौरानमा धेरै परिवार बिचल्लीबाट मात्रै तङ्ग्रिएका थिए । साँच्चै यस्ता अनौठा अनुभव र अनुभुतिहरूले जीवन कतिखेर विश्वविद्यालय बन्न पुग्छ मै हुं भन्नेहरूलाई पनि थाहा हुंदैन । प्रत्येकका प्रत्येक कहानी हुने गर्छन ।

पैतालीस साल तिरको कुरा होला । हाम्रो घरभन्दा माथि रहेको भैरवस्थान मन्दिरमा दशैंको नवमीको दिन मेला लाग्ने गर्दथ्यो । हामी सानै थियौं । अखिलले ‘सांस्कृतिक कार्यक्रम राखेको थियो । देवेन्द्र दाइ, नन्दा, हिरा, शान्ता दिदीहरू हुनुहुन्थ्यो । हामी गीत राम्रै गाउँथ्यौं । मेरो हातमा गीतको किताब थियो कार्यक्रम सुरु भयो । ‘अखिलको झण्डा फरर…’ भन्ने गीत त्यतिबेला निकै चर्चित थियो । हामी गीत गाउन सुरु गर्यौं । प्रहरी आएको थाहा भयो । पञ्चायती समयमा त्यस्ता गीत गाउन प्रतिबन्ध थियो । सार्वजनिक रुपमा त्यसरी गीत गाउनु अपराध ठहरिन्थ्यो । प्रहरीले हामीलाई लछारपछार पार्न थालेपछि देवेन्द्र दाइले हामीलाई बचाउनुभयो ।

त्यहाँ ठूलो झगडा भयो । पछि जनताले हामीलाई साथ दिएछन् प्रहरी तल परे हामीले पनि माथिबाट ढुङ्गा गुल्टायौं । ढुङ्गाले एकजनाको टाउको फुटेछ उनी पुलिसको जासुस रहेछन् । त्यसपछि सबैको भागाभाग भयो । हामी पनि अब त्यहाँ बस्न ठिक थिएन । प्रहरीहरू हामीलाई जतिबेला पनि गिरफ्तार गर्न सक्थे । साँच्चै बेलुका सिंगो गाउँ पुलिसमय भयो । हामीलाई प्रहरीले खोज्यो हामी छिमेकका मदुसमा लुकेर बस्यौं । त्यसपटकको दंशै सायद हाम्रा लागि दशा बन्न पुग्यो ।

बा कहाँ हुनुहुन्छ थाहा थिएन । दशैपछि हाम्रो घरमा पुर्जी टाँसियो । दिदी र मेरो नाममा । खै किन हो बुबाले सीडीओ अफिसमा पु-याउँदा म रोएकी थिएँ । मेरी दिदी शान्ता, हिरा, विनोद पनिसँगै थिए । शान्ता दिदी त डराउदै नडराउने । केही हुन्न नरोई भन्थिन मलाई । फेरि कस्तो प-र्यो भने मैले त्यो बेलासम्म टेलिफोन पनि देखेकी थिइन । सामान्य धागोको डोरीले पछाडि हात बाँधेर सीडीओको अगाडि उभ्याइएको थियो । टेलिफोनमा कुरा गरेको देखेर रुँदारुँदै खित्त हाँसो छुट्यो । शान्ता दिदीले कानैमा मुख ल्याएर किन बहुलाएकी भनिन । ‘एक्लै कुरा गर्छ के को म बहुलाउनी, ऊ त्यो मान्छे बहुलाएछ नि हेर न’ भनेँ । यो फोन हो चुपलाग । कहिलेकाहीँ बासँग चितवन काठमाडौ पनि गरेकी हुनाले उनलाई टेलिफोन भन्ने थाहा रहेछ ।

साँच्चै जीवनमा यस्ता घटनाहरूले पक्कै पनि निकै महत्व राख्ने रहेछन । पछि पाँच सय जरिमाना तिरेपछि छोड्न सकिने कुरा भयो । एकदुई जना तिरेर निस्के । हामी तीनजना शान्ता दिदी, हिरा दिदी र म जेल चलान भयौं । म यति धेरै रोएँ । कता मार्ने हुन भन्ने डरले ।
साँच्चै डर पनि कति लागेको ! त्यतिबेला सम्झिँदा आज पनि हाँसो लाग्छ । जेलमा पुगेपछि तीन चार वटा ढोका रहेछन् । म त्यहाँ पुग्दा झनै बढी रोएकी थिएँ । लामा लामा जुगाँ पालेको मान्छे जेलर रहेछ । पछि थाहा भयो । उसले भन्यो, ‘नानी नरोऊ, मेरो छोरा सुन्दर छँदै छ नी !’ म आज पनि त्यो जुँगे हवल्दारलाई निकै सम्झिन्छु ।

जेलभित्र पसे पछि मलाई साँच्चै मामा घरनै पुगेको अनुभुति भयो । कोही बुढी हजुरआमा, कोही भर्खरका दिदी बहिनी अनेक केसमा जेल परेकाहरू । पहेँलो आलुको तरकारी र भात खाँदै छन् । बेलुकीपख भर्खर घाम अस्ताएको मात्र थियो । भित्र कोठामा खाटै राख्न नपर्ने बाक्ला ओछ्यानहरू । जेलमा पनि यस्तो व्यवस्था ? हैन यो जेल हो की अरु नै ठाउँ हो, अचम्म लाग्यो ।

म रुन छोडिसकेकी थिएँ । त्यहाँ हामी २८ दिन बस्यौं । बागलुङ बजारका बुढादेखी बच्चासम्म हामीलाई जेलमा भेट्न आए । फुच्चीहरू जेल परेका छन रे भनेर जताततै ठूलो चर्चा भएछ जिल्लाव्यापी रुपमै । सबै मान्छेहरू फुच्चीहरूलाई हेर्न भनेर जेलमा आउन थाले । साना फुच्चीहरूलाई जेलमा हेर्न आउने अनेक वर्ष समुहका मान्छे हुन्थे । हामी खुसी हुँदै जेलको भित्रि ढोकामा पुगेर गफिन्थ्यौ । पछि त रमाइलो भयो । राजनीतिक केस, त्यहि पनि उमेर नपुगेको भएपछि हाम्रो ठुलो चर्चा भएछ बाहिर ।

घरमा बिजुली थिएन । त्यहाँ बिजुली मलाई त जेल निकै रमाइलो लाग्न थाल्यो । हाम्रो हेरचाह गर्नकै लागि जेलमा महिला तिरकी कमान्डर हाम्रै गाउँकी यौटी महिलालाई लगाइएको थियो । उनी अवैध वच्चा पाएर घरमै पुरेको केसमा जेलमा थिइन । हामी बसेको जेल नजिकै बागलुङ कालिका मन्दिर पर्छ । त्यहाँबाट बलिदिएका परेवाहरू ल्याएर हामीलाई परेवाको मासु पनि खान दिइन्थ्यो । जेल रहेको अलि तल मेरो ठुली आमाको घर थियो । मेरी ठुली आमाका छोरा शिव दाइ हामीलाई दिनदिनै अनेक खानेकुरा लिएर जेलमा आउनुहुन्थ्यो भेट्न । कसैले पैसा दिन्छन् कसैले खानेकुरा हैन कति रमाइलो हो जेल पनि दिनभरी मान्छेहरू हामीलाई हेर्न आइरहन्छन् । त्यो जुंगे हवल्दारको पनि पछि त हामी तीनजना मिलेर सातै लियौ । जताततै हाम्रो समाचार गएछ । एकता समाजले पनि त्यतिबेला हाम्रो विषयमा लामै विज्ञप्ती निकाल्यो रे भन्ने सुनिन्थ्यो । २८ दिन पछि बजारकै मानिसले पैसा उठाएर फुच्चिहरूको विजोग भयो भन्दै हामीलाई निकालेछन् । बुबा र हजुर आमाले त पैसा तिरेर निस्कनै हुन्न भन्नुहुन्थ्यो ।

उमेर नपुग्दै जेल बसेको यो अनुभव पनि निकै रमाइलो लाग्छ आज पनि सम्झिँदा । मैले पछि जुंगे हवल्दार भन्ने शिर्षकमा लेख पनि लेखेकी थिएँ । यसरी पञ्चायतले हामीलाई राजनीति सिकायो । सानो छँदा नै हामी राजनीति सिकेउँ । जनताको काम गर्ने काम मात्र राजनीति भन्ने कुरा मैले त्यहिबेलाबाट पत्याउन छोडे । बाउ राजनीतिमा लागेकै कारण छोराछोरीहरूलाई यसरी सताइने समय थियो । त्यति सानो भाइलाई पनि ठानामा पुर्याउन बाध्य पारियो । सायद जालझेल र तिकडम पनि त राजनीति रहेछ मैले त्यतिबेलै सोचेँ । समयसँगै यस्ता अनुभव र अनुभुति संगालेर निरन्तर पाटीमा लाग्नेहरू नै नेता हुन सक्छन् ।

त्यसपछि पनि हामीलाई गाँउमा तनाव नै थियो । परिवेश खुला भए पनि बा कहिलेकाहीं मात्र घरमा आउने गर्नुहुन्थ्यो। समयसंगै उमेर पनि बढ्दो थियो । बहुदल आएपछि हामीले ठाउं ठांउमा भाषण गर्थेउ । स्कुल, सार्वजनिक स्थल । ओहो जोश पनि कति आएको ! त्यति बेला हामी नौ कलासमा पढ्दै थियौं । त्यो भन्दा अगाडि नै असाध्य राम्रो भाषण गर्ने बागलुङको केटो भनेर मेरो श्रीमानको जिल्लाव्यापी चर्चा नै हुन थाल्यो ।

समय न हो अनेक कौतुहलता । म आफै पनि भाषण गर्ने । संगठनमा काम गर्ने । त्यति बेला नै जिल्लास्तरीय वक्तित्व कला थियो । हामी औषत विद्यार्थी थियौ । तर बागलुङको राम्रो भाषण गर्ने केटो भनेर जस्लाई भनिन्थ्यो उ त स्कुलको फस्ट बिद्यार्थी पनि रहेछ । त्यो प्रतियोगितामा उनको स्कुल प्रथम भयो । सबै प्रश्नको उत्तर उनैले दिने । हामी चकित थियौं । त्यति बेलाबाट हाम्रो चिनजान भयो । हाम्रो एसएलसीसँगै थियो । त्यतिखेर सम्म त हामी नेता पनि भैसकेका थियौं जिल्लाको । एसएलसी पछि म अखिल छैठौको पोखरा उपकेन्द्रको सदस्य थिएँ । मेरो श्रीमान सचिव भैसक्नु भएको थियो । जिल्लाको कोषाध्यक्ष थिएँ म त्यो भन्दा अगाडि । उनी सचिव थिए ।

हाम्रो बिहे भने भएको थिएन । यसरी समयले जानेर या नजानेर पाटी संगठनप्रति प्रतिवद्ध बनाएको थियो । कम्युनिष्ट भनेर सिकाएको थियो । कलेज भर्ना हुँदासम्म त हामी केन्द्रीय सदस्य भैसकेका थियौं । दुइवर्ष कलेज पढेर सकेको चारौं महिनामा हामीले संघर्ष र क्रान्तिको लागि बलिदान दिने अठोट भन्दै बिहे गर्यौ । त्यति बेलाको पेरिफेरी सम्झिँदा आज पनि अनौठो लागेर आउँछ । नेताकी छोरीले पनि जनताको छोरासँग सम्बन्ध राख्ने भन्ने त्यतिखेर नेताहरूले नै बोलेका शब्दहरूले पनि राजनीति हामीले सोचेजस्तो र मेरो बुबाले भनेजस्तो सेवा र लगन मात्र हो भन्ने कुरा पत्याउन छोडिसकेकी थिएँ मैले । स्वार्थ, जालझेल पनि राजनीति थियो ।

हामीले संगठनमा होलटाइमर बनेर काम गरेउँ, गाउँदेखि केन्द्रसम्मको अवस्थालाई बुझेउँ, नेता उनीहरूको सोच साँच्चै देख्दा भन्दा धेरै फरक, अनि सुन्दा भन्दा भेट्दा धेरै अनौठा त्यतिबेलै । हाम्रो बेस थियो यो राजनीतिको । पछि कुनै पार्टीको पनि सदस्य नरहने गरी पत्रकारिता सुरु गर्यौं । नढाँटी भन्दा सुरुका केही वर्ष निकै गाह्रो पनि भयो राजनीति छोडेर पत्रकारिता गर्छौं भन्दा । पछि त बानी पनि भयो । पुर्वाअञ्चल विश्वविद्यालयबाट शुभले पत्रकारितामा टप गरेपछि हामीलाई सजिलो भयो ।
राजनीति र पत्रकारिता साँच्चै एकअर्काको पुरक नै रहेछ । साँच्चै विचार र परिवर्तन भन्ने कुरा मान्छेको जीवनमा नमेटिने सपना बनेर निरन्तर जारी रहने रहेछ जुनसुकै रुपमा भए पनि । राजनीति छोडेर कुनै पाटीको सदस्य नभएको पनि डेढ दशक भयो होला । मान्छेहरूले आआफ्नो हिसाबले कित्ताकाट गर्न आज पनि छोडेका छैनन हामीलाई । हामीले लेख्ने, हामीले व्यक्त गर्ने विचार, हाम्रो परिवर्तनमुखी निरन्तरता र हाम्रो सम्बन्धलाई नै उचालेर आज पनि हाम्रो चर्चा परिचर्चा हुने गर्छ । जिन्दगी हो यो । अनुभवको पाठशाला बनेर रहेको जीवनसँग कुनै मार्गचित्र नकोरी जता हुन्छ त्यतै ठोक्किँदै जाँदाको प्रत्यक्ष अनुभुतिसँगै रमाउन सक्नु जीवनको कला नै हो, सायद ।

    Comment Here!


सम्बन्धित समाचार

View All