पचास अर्बमाथि भाङ तानिरहेका रवीन्द्र अधिकारी र छिरिङ

शारदा शर्मा
2019-03-04 18:21
शारदा शर्मा

मौसम अलि खराव थियो । गिलासमा चिया राखेर सुरुप्प पार्दै बाहिर निस्कें । आज आकाशबाट बरफ नै झर्लाजस्तो छ । पल्लाघरकी आमा चर्कै स्वरले चिच्याउन थालिन् । चिसोले गर्दा नाक अलि रातो जस्तो देखियो । फेरि अर्को सर्को सुरुप्प पार्दै ओढ्नेको फेरोले नाक पुछें । आकास गड्याङगुडुङ गरिरहेको थियो ।

लाग्यो, आज पनि मौसम खुल्नेवाला छैन । घडी हेरें, साढे दश बजिसकेको थियो । ड्राइभरलाई फोन गरेर झर्केरै बोलें । समयमा ड्युटीमा आउनु पर्दैन ? ऊ अलि डराएजस्तो गर्यो मैले झनै आफूलाई अलिबढी नै हाकिमी पारामा पाएँ । लाज पनि लाग्यो, कहिल्यै झर्केर नबोल्ने मेरो बोलीले ड्राईभर आज पक्कै पनि दुःखी बन्यो होला । फेरि भित्र पसें । आजकल चिनी राखेको चिया खान छोडेकोले पनि होला चियामा धेरै दम थिएन । ठूलो गिलासमा फेरि ग्रीन टी राखेर बैठकमै आएँ । एघार बजे आउँछु भनेको मान्छे साढ्े एघार हुँदा पनि फोन खवर छैन । अरुसँग हरेक क्षण खुसीनै देखिने म उनीसँग भने कहिलेकाहीँ रिसाउँछु पनि ।

कुनै रिजन नभए पनि खै किन हो रिसाएजस्तै गर्न मन लाग्छ । फेरि उनलाई पनि थाहा छ रिजन र सोलुशन दुवै । आज पाँच दिनपछि उनी श्रीलंकाको पाँचदिने भ्रमण सकेर घरमा आउँदै थिए । मौसम झनै चिसो बनिरहेको थियो । फोनमा घन्टी बज्यो जहाज ल्याण्ड भएछ । खाना तातो बनाएँ र फेरि गिलासमा तातोपानी भरेँ । गेटमा घन्टी बज्यो । उनी आइसके । हामीले सँगै खाना खायौं । टेलिभिजनको स्क्रिन बन्द थियो मैले अन गरें । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना भनेर समाचार आएको रहेछ । मिडियाका मान्छे भएकोले चासो हुनु स्वभाविक पनि त हो ।

उनले केही साथीभाइलाई फोन गरें । जब दुर्घटनाको सबै जानकारी पायौं हामी एकअर्कासँग बोल्न पनि सकेनौं । दुर्घटनामा परेका मान्छेको नाम सुनेपछि जिब्रो बाक्लो भएजस्तो भयो । रिंगटा लागेको होकि जस्तो फिल भयो । अचम्म रहेछ जीवन पनि ! कहाँनेर कतिबेला अन्त हुन्छ भन्ने कसैलाई थाहा नै नहुने रहेछ ।

गिलासको चिया सुरुप्प पार्दा पार्दा सकिइसकेको थियो । पचासौं अर्वको साम्राज्य छोडेर छिरिङ दाइले समेत अन्तिम यात्रा तय गरे भनेपछि म दौडदै साथीको घर पुगें । अहँ कसैका मुहारमा मैले कुनै फरकपन देखिन । छामे चिटचिट पसिना आइरहेका थिए । बारीमा कृषकले काउली उखेल्दै थियो, केही भएकै छैन जसरी । फेरि दौडेर बजार पुगेँ । पूरै गल्ली खचाखच छ मान्छेहरुले आ–आफ्नो काम गरिरहेका छन् । एकैछिन सडक पेटीमा बसेरै दुनियाँ नियालें । हैन अस्ति भर्खर हाम्रै अफिसमा आएर त्यति धेरै कुरा भएका रवीन्द्र दाइ के साँच्चै हामीमाझ रहेनन् ।

पत्याउन गाह्रो भयो । मेरो श्रीमान् श्रीलंकामानै रहेको बेला कफी खाने मिति र समय तोकेका युवराज दाहाल आज हामीसँग छैनन् । कसरी विस्वास गर्नु ! सिंगो शहर चकमन्न अध्यारो देख्न थालेँ । रत्नपार्कको पुलमाथि चढेर चिच्याएरै रुन मन लाग्यो । तल गाडीहरु लस्कर लाइरहेका थिए । अँह मन मान्न तयार भएन । भुइँचालोले धरहरा नभत्काएको भए आज धरहरा चढेर सिंगो काठमान्डु नियाल्न मन थियो, अनि सोध्न मन थियो ती मान्छेहरुलाई जसले आफूलाई अजम्मरी सम्झेर बसिरहेका छन् । हरेक पटक इमानको खरिद बिक्री गर्न तयार छन् ।

अनि पद पैसा पावर र सत्ताको मातमा जे पनि गर्न तयार छन् । तर त्यही धरहराको पनि त बिम्ब मात्र बाँकी छ । आफूले केही समय काम गरेर साथ दिएको धरहरामा गएर के सुस्ताउन थालेकी थिएँ गेटबाहिर ठूलै भीड देखें । के रहेछ, देशका होनहार मान्छेहरु दुर्घटनामा पर्दासमेत पनि मन सम्हालेर हिंड्नु नै प¥यो । यसो भीडतिर आँखा लगाएँ । निकै मनमोहक दृश्य, म अचम्ममा परेँ । शिवरात्रीको भजन गाउँदै हिँडेका नारायण पण्डित दखेर । आँखा चिम्म गरँें, घाइते नै भए पनि सुशासनको बहस गर्दै युवराज र रवीन्द्रहरु पनि छन् ।

अलि उता भरतमोहन र पोष्टबहादुर बोगटी । एकपटक आफूले आफैंलाई चिमोटेँ । यो भ्रम हो या सत्यता ? मरे भनिएका मानिसहरु कसरी यहाँ । हैन यो धरहरा नै हो या म अरु ठाउँमा आइपुगेँ र ? रवीन्द्रहरुको दुर्घटनाले मलाई बढी नै विक्षिप्त बनाएछ कि क्या हो ? नेपालीका कथा सुनाउँदै मुक्तिनाथ गुरु पनि आए । कृष्ण सेन, ज्ञानेन्द्रहरु । हैन के उल्का हो ? हजुरआमाले भन्नुहुन्थ्यो, कलियुगमा नसोचेका घटना हुन्छन माइली । लाग्यो, यो कलियुग हो ।

सुन्दर बगान नजिकै पुगेर आँखा घुमाएँ । कसैले नमस्ते दि भन्यो । झस्याङ्ग बनेर हेरेँ गणेश रहेछ । अब अलि सजिलो भयो । के हो भाइ ? के कार्यक्रम हो यो ? गणेश मेरो काकाको छोरा । युद्धमा सेनाहरुले कुटीकुटी मा¥यो भनेर काकाकाकी मात्र हैन सिँगो गाउँ रोयो । आज त यो यहाँ छ । मनले केही सोच्न छोड्यो । सोधेँ भाइ के हो यो ? उसले भन्दै गयो रवीन्द्रलगायत सातजनाको टोली आएपछि यहाँ अलिबढी नै समृद्धिको बहस हुन थालेको छ । युवराज दाहालसँग भिजन छ दि । पाटी एकता भएदेखि नै यहाँ विवाद छ । प्रकाशहरु त्यत्तिकै बसेका थिए । आङछिरिङ आएपछि भने अली फ्रेस छन् । रबीन्द्र आउनेबित्तिकै फेरि भरतमोहन पनि आइ हाले ।

मैले सोधें सबै यहीँ हो ? यात्राको थकानले भरतमोहन रेष्टमा छन् उनीसँग बोगटी बुढा पनि सँगै छन् । उताबाट चर्को स्वरमा कराउँदै एकजना बालिका आइन् । हामीलाई बलात्कार गर्नेहरुलाई छोडिन्न । मैले सोध्न नपाउदै गणेशले भन्यो मैना सुनुवार । आएदेखि नै अलि बिचलित छिन् दि । पानी खान मन लाग्यो । माथि हेरेँ आकाश फाट्ने सुरसारमा थियो । गणेशले पानी खान अलि उता जानुपर्छ भन्यो । थोरै हिँडेपछि सानो चिटिक्क परेको कटेज आयो । त्यहाँ पुगेपछि गणेशले पानी दिनुस् त बा भन्यो । बुढा मान्छे एकजना ध्यानमा थिए अर्को पानी लिएर आए । हैन यी त शुसिल’दा हैनन् र काँग्रेसका ? हुन दि । त्यहाँ ध्यानमा रहेका गिरिजा हुन ।

गणतन्त्रमा जाने निर्णयमा सहयोग गरें, तर राष्ट्रपति दिएनन्, घात गरे भन्दै बर्बराउँछन् बुढा । मदन भण्डारी, जीवराज आश्रित पनि यहीँ छन् भेट हुन्छ । मोटामोटी ठिक छ । तर अब पनि पार्टीले आफ्ना विवादहरु सुल्झाएर एक नहुने हो भने देश संकटमा पर्ने चिन्ता सबैमा छ यहाँ । गिरिजालाई पनि शेरबहादुरको पटक्कै विश्वास छैन । गगनहरुले आँट्न सकेनन् भन्छन् । यस्तै छ दि । म चकमन्न परेँ के भन्ने के नभन्ने ! डर पनि लाग्यो, हैन हजुरआमाले भन्नुहुन्थ्यो, अति भएपछि चिहान खनेर मसानहरु निस्किन थाल्छन् । कतै म मसानहरुको भीडमा त छैन ? फेरि एकपटक आफूले आफंैलाई चिमोटेँ । हैन सबै चिरपरिचित मान्छेहरु नै छन् । बस्ती छिचोल्दै अगाडि जान मनलाग्यो । दुर्घटनामा घाइते भएकाहरुको उपचार सुरु भएको रहेछ ।

पचास अर्वका मालिक भन्ने थाहा पाएपछि मलाई आङछिरिङको अनुहार हेर्न मनलाग्यो । फोटोमा बाहेक म उनलाई राम्ररी पनि चिन्दिनँ । रवीन्द्र दाईहरुको उपचार हुँदैथियो । पैसाले जीवन बचाउन नसकेका उपेन्द्र देवकोटालाई घाउ चिर्न र मल्हमपट्टी गर्न सजिलो छ । निकै भावुक हुदै उनले रवीन्द्र, युवराजलगायतका मान्छेहरुको उपचार गर्दैथिए । भर्खर देशमा समृद्धिको बहस हँुदै गर्दा आउनै नपर्ने मान्छेहरु आएकोमा उनीभित्रको दुःख प्रष्ट देखिन्थ्यो । पर कुटीजस्ता फरक फरक कोटरीहरु थिए । मलाई जान मन लाग्यो । केही गमलामा भर्खरै फूल्न थालेका फूलमा पानी राख्दै चिनेकी जस्तो लाग्ने महिला सल मिलाउँदै बाहिर निस्किन ।

मेरो अन्योल देखेर गणेशले भन्यो, राज परिवार दि । उनी श्रुती हुन्, जहिले पनि छोरीहरु सम्झेर भावुक बन्छिन् । उनीहरुको अलि फरक छ । आफ्नैले दिएको घात सहन नसकेर यहाँ पनि दीपेन्द्र अलिबढी नै पिउँछन् । वीरेन्द्र पनि डिप्रेस छन् । मदन भण्डारीले श्रीपेच फुकालेर आउ राजा, हामी वार्ता गर्न तयार छांै भनेर उहिल्यै गरेको भाषण सम्झेँर कहिलेकाहीँ हँसीमजाक चल्छ यहाँ पनि । मलाई सपनाजस्तै लागिरहेको थियो । घाइतेहरुको नजिकै जान मन थियो, तर जान सकिन । पचास अर्बको साम्राज्य छोडेर बिन्दास जीवनमा फर्केका आङछिरिङलाई परैबाट देखेँ । उही सेतो टोपी र कमण्डलुमा थिए । त्यही पनि यहीँ आएपछि कलाकार श्रीकृष्ण श्रेष्ठले दिएका रहेछन् । पट्टी लगाएका खुट्टा खोच्याउँदै भावनामा डुबिरहेका थिए ।

सोचेँ आखिर केही पनि त रहेनछ जिन्दगी ! यस्तो जीवनमा पनि किन तेरोमेरो गर्छन् मान्छेहरु । जाँदा त हामी सबै छोडेरै जाने रहेछ । लिएर त केही पनि जान नमिल्ने रहेछ । फेरि शक्तिमा रहनेहरुले किन अकुत सम्पत्तिको लोभमा आफूलाई लिप्त बनाउँछन । मात्र दुइ छाक र एक आङको जोहो गर्न नसकेर तमाम जिन्दगीहरु समाप्त बनेको समय किन मान्छेहरु पैसामा सुत्ने कल्पना गर्छन ? न रवीन्द्रले केही ल्याए न आङछिरिङले । उपेन्द्र देवकोटा र भरतमोहन पनि त खाली हातनै आए । राजा र रैती हुँ भन्ने दुबैले यहाँ यौटै बगानका फूलहरु टिप्दैछन । फेरि असमानता केमा ? मलाई अचम्म लाग्यो ।

परिवार परिवारमा विवाद, आफ्नाहरुमै विवाद, सत्ता र शक्ति को विवाद ? के यस्ता विवादहरु क्म गरेर खुसी रहन सकिंदैन ? शिवरात्रीको दिन पशुपतिमा ठूलै घुइँचो थियो ।

यो वर्ष भाङ् धतुरो बन्द गरिएको रहेछ । उपचार सकिएपछि अलि पर चौतारीमा आङछिरिङ र रवीन्द्र लगाएत केही मान्छेहरु रमाइलो गरौं भन्दै गए । खै किन हो पीडा सहन नसकेर होकि उनीहरु भाङ तान्दै थिए । पचास अर्बको सम्राज्य छोडेको दिन तानिएको यो भाङमा कत्तिको दम छ त युवराज ? शायद छिरिङको प्रश्नको जवाफ दिन नसकेर हो या आफ्नो परिवार पनि पशुपति दर्शनमा आ’छ कि भनेर उनले तल मान्छेहरुलाई एक एक गरेर गनिरहेजस्तो लाग्थ्यो । यत्तिकैमा छोराले भन्यो, ममी घामले पोल्यो भित्र जाउँन । म झस्याङ्ग भएँ अनि निशब्द ।

    Comment Here!


सम्बन्धित समाचार

View All