कोरियाली प्रायद्वीपको शान्तिमा चीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भएको शिखर वार्ताले झन्डै ६ दशक लामो कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने बाटो खोल्ने विश्वास लिइएको छ ।
१२ जुनमा हुने किम–ट्रम्प शिखर वार्तापश्चात् उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिकाबीच त्रिपक्षीय वार्ता हुने उच्च सम्भावना छ । यस सन्दर्भमा दक्षिण कोरियाको विदेश मन्त्रालयले उत्तर कोरिया र अमेरिकासँग सम्पर्कमा रहेको जानकारी दिएको छ । सन् १९५३ मा भएको युद्धविराममा उत्तर कोरिया, चीन र अमेरिकी नेतृत्वको राष्ट्रसंघीय प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।
यसकारण, चीनको संलग्नताविनै उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिकाले सन् १९५३ को युद्धविरामलाई नयाँ घोषणामार्फत प्रतिस्थापन गर्नु युक्तिसंगत हुँदैन । अन्तर्राष्ट्रिय कानुनलाई आधार मान्ने हो भने सम्पूर्ण हस्ताक्षरकर्ताको सल्लाह र सहभागिताबाट मात्र युद्धविरामलाई अन्य सम्झौताले प्रतिस्थापन गर्न सकिन्छ ।
यसको अर्थ बाँकी प्रक्रियाका लागि चीनको सहभागिता सुनिश्चित हुनुपर्छ पर्छ भन्ने हुन्छ । शान्ति प्रक्रियाका लागि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले सकारात्मक भूमिका खेलेका छन् । यद्यपि, दक्षिण कोरियाले अमेरिकासँग मिलेर गरेको सैन्य गतिविधिका कारण उत्तर कोरिया आशंकित बन्दै आएको थियोे ।
यद्यपि, गत २७ अप्रिलमा दुई कोरियाबीच भएको पान्मुनजोम घोषणा र किम–ट्रम्प शिखर वार्ता सफल बनाउन दक्षिण कोरियाले खेलेको भूमिकाले कोरियाली प्रायद्वीपको तनाव मत्थर पारेको छ । तर, किम–ट्रम्प शिखर वार्ताबाट सकारात्मक परिणाम आएको खण्डमा मात्र दक्षिण कोरियाको प्रयासले सार्थकता पाउनेछ ।
ट्रम्पको अविश्वसनीय शैलीका कारण शिखर वार्ता भाँडिने अवस्थामा पुगिसकेको थियो । अन्ततः फेरि वार्तामा बस्ने निर्णय ट्रम्पले गरे । यद्यपि, अझै पनि ट्रम्पलाई आँखा चिम्लेर विश्वास गर्ने अवस्था छैन । अमेरिकी मध्यावधि निर्वाचनमा भोट तान्ने अवसरका रूपमा यस वार्तालाई ट्रम्पले प्रयोग गर्ने सम्भावनालाई पनि नकार्न सकिन्न ।
तर, चीनको सहभागिताविना कुनै पनि हालतमा शान्ति–सम्झौता गरिनु हुँदैन । कोरियाली मामिलामा चीनलाई अलग्याउन हुँदैन । ट्रम्प–किम वार्ताको वातावरण बनाउन चीनले महत्वपूर्ण भूमिका खेलेको छ । साथै, वार्ताका माध्यमबाट परमाणु हतियारसम्बन्धी मुद्दाको समाधान गर्न उत्तर कोरिया र अमेरिलाई चीनले सधैँ दबाब दिँदै आएको छ । कोरियाली प्रायद्वीपमा संकट आउँदा आफ्नो सुरक्षालाई प्रभावित गर्ने भएकाले वार्ताबाटै समाधान खोज्ने पक्षमा चीन छ ।
दक्षिण कोरिया र अमेरिकाले फेरि पनि कुनै छल नगरून् भन्नका लागि चीन सतर्क हुनु अवश्यक छ । चीनको भूमिकालाई छायामा पार्न दक्षिण कोरिया र अमेरिकाले सन् १९५३ को कोरिया युद्धविरामलाई देखावटी घोषणाले प्रतिस्थापन गर्न सक्ने खतरा छ ।
तर, चीनको सहभागिताविनै उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिकाले युद्धविरामलाई प्रतिस्थापन गर्दै नयाँ सम्झौता गरेको खण्डमा त्यस्तो सम्झौतालाई अस्वीकार गर्ने अधिकार चीनसँग रहनेछ ।
(लेखक चीनको लियाओनिङ एकेडेमी अफ सोसल साइन्सका शोधकर्ता हुन्) ग्लोबल टाइम्सबाट
प्रतिक्रिया दिनुहोस्