नयाँ बर्ष आफुलाई बदल्न सक्नेहरूको बर्ष

शारदा शर्मा
2019-01-01 16:56
शारदा शर्मा

शारदा शर्मा

गएको बर्ष जे भयो भयो नयाँ बर्ष आफुलाई बदल्न सक्नेहरूको बर्ष बनोस । मनमा अनेक कुराहरू खेल्न थाले । गएका दिनहरूलाई सम्झेर पछुतो मान्ने भन्दा पनि गएका परिवेशहरूबाट पाठ सिक्दै आफुलाई बदल्न सक्दा पक्कै पनि केही नयाँ अवश्य हुन सक्छ ।

हरेक मानिसका आ–आफ्नै जीवन संघर्षका कथा हुन्छन । कथा बन्न लामो समय लागेपनि त्यसका अंश अंशहरू भने फरक–फरक तरिकाले जोडिँदै जान्छन । आखिर मान्छे जन्मदेखि मृत्युसम्मको यात्राभित्र रहेर नै अनेक काम गरिरहेका हुन्छन । फरक यतिमात्र हो सोच र बुझाइमा भिन्नता । अनि गराइ र भोगाइमा भिन्नता । न यहाँ पैसाको विस्तरामा सुत्नेहरूलाई नै शान्ति छ । न नाङ्गो आकाशमुनी शितलहरमा सुत्नेलाई । दुवै वर्गका समस्या र दुःख आ–आफ्नै छन् । कसैलाई ओत लाग्ने छतको खाँचो छ, कसैलाई पैसा कसरी सुरक्षा गर्ने सन्ताप । कसैलाई खाने जोहो गर्ने पीडा कसैलाई कसरी हप्ता हुठाउने हुटहुटी ।

समाज सेवाको नाममा राजनीतिलाई पेशा बनाउनेहरूका पनि दुख आफ्नै छन, मेहनेत गरेर आफ्नै हातका धर्सा गन्नेहरूका बाध्यता पनि । देश बनाउछौँ भनेर चक्रव्युहमा कमिसनको गोलचक्कर लगाउनेहरूका पीडा आफ्नै छन् । महँगी बढेर तरकारी किन्न नसक्नेहरूका बाध्यता आफ्नै ठाउमा छन् । जे होस दिन बितिरहेका छन । अनेक पीडा र बाध्यता भित्रबाट पनि समयले सबैलाई एक रफ्तारमा वर्ग विभाजननै नगरी अगाडी बढाई रहेको छ ।

यहाँ कोही बुलेट ट्रेनमा होलान, कोही बुलेट प्रुफ गाडीमा । कोही सुविधासम्पन्न कारमा होलान, कोही रिक्सा र साइकलमा भने कोही पैदल । जो जसरी यात्रा गरे पनि आखिर यात्रा मृत्यु सम्मको नै हो । समयले साँच्चै कसैलाई विभेद गरेकै छैन । विभेद छ त मान्छे मान्छेमा छ । मान्छेका सोच, हेराई र बुझाइमा छ । अनि गराइमा छ । जीवनलाई सहज र सरल रुपमा बुझ्नेहरू आफ्नै कर्ममा खुसी पनि छन् । लोभ लालच आरिष र अपराधमा संलग्नहरू सम्पन्न भएर पनि दुःखी छन् ।

आखिर सम्पन्न केलाइ भन्ने ? कस्तोलाई भन्ने ? पैसा हुने सम्पन्न हो या पैसा नहुने पनि सम्पन्न हुन सक्छ ? यो बर्ष मेरै मनमा पनि अनेक तरङ्गहरू मच्चिए । पद पैसाले आँखा चिम्लिँदा सम्वन्धहरू चकनाचुर बनाएका मानिसक विपन्नहरू पनि भेटिए, साना पद र थोरै पैसा भएर पनि बलिया सम्बन्ध भएका सम्पन्नहरू पनि भेटिए । आखिर यात्रा न हो जिन्दगी । यात्रामा अनेक स्वभाव र स्वार्थहरू पक्कै हुन्छन । फरक यति मात्र हो कति र केमा खुसी हुने अनि यो यात्रालाई कसरी लिने । खुसी केहो भनेर बुझने, अनि मानिसका स्वभाव र स्वार्थ बुझेर संगत गर्ने या नगर्ने फैसला गर्ने । यहि फैसला र यात्रामा कति छोडिदै गए कति जोडिँदै आए । कति सम्बन्धहरू पातला बन्दै गए कति बाक्ला र घनिभुत । कहिलेकाहीं एक्लै बसेर बिचार गर्दा पनि आँफुले आँफुलाइनै अन्याय र छल गर्नु नपरोस । आफैले आफैलाई ढाँटन नपरोस । चाहे जो सुकैले पनि ।

जेहोस समय आफ्नै गति र रफ्तारमा छ । गएको वर्ष आशा र पीडाले बराबर स्थान लियो । मान्छेहरूको दुखाई भन्दा पनि समग्र देशको दुखाईले मन छुँदा केही आशाका किरणहरू अवश्य देखिएका थिए । देश बनाउँछौ भन्ने कम्युनिष्टहरू एक हुँदा झुप्रोमा सुत्नेहरू मात्र हैन खुला आकाशमुनी शितलहरमा सुत्नेहरू पनि उत्तिकै खुसी बने । जनताको शासन व्यवस्थामा आए पछि केही राहत कल्पना गरेका हरूको लागि आकाशको फल बन्यो कम्युनिष्ट एकता । एकताको हुरीले कतिलाई चुचुरोका पुर्याउदा गरिब दिनदुखी बढारिएर सतहमा स्याउला जस्तै बन्नु देशकै दुर्भाग्य बन्यो । आज पनि अन्तिम भोजका आयोजकहरू अनेक आयोजनालाई कमिसनको बार्गेनिङमा तहस नहस पार्दैछन ।
हिजो गरीब जनतालाई सपना देखाएर रगतको बलिदानी माथि शासक बनेकाहरूले आज आफ्नै लडाँइमा अंग–भंग भएकालाई चिन्दैनन चिन्छन त बिचौलियाहरूलाई अनि पैसाका सुट्केस लिएर काम गराउन आउनेहरूलाई । न सहयोगी आफ्नो बन्यो न सारथी नै आफ्नो रह्यो । न साथ दिनेहरू आफ्ना बने न सुझाब र सल्लाहा दिनेहरू न रगत दिनेहरू न जीवननै बलिदान गर्नेहरू । बिडम्बना दोष उनीहरूको मात्र पनि कहाँ हो र ? दोष त पुरानो दलदलको हो । पुरानै चक्रब्युहको हो । जुन दलदललाई चुनौती दिएर देशको लागि सोच्ने मान्छेको जन्म भएकै छैन ।

गएको बर्ष झनै धेरै इमानको खरिदबिक्री सुन्न र देख्न बिवस बन्दा यहां धेरै छोरीचेलीहरूको इहलिला समाप्त पारियो । लाजै लाग्नेगरी प्रमाणहरू नष्ट गर्दै देशमा नयाँ नयाँ काण्ड मच्याउने भोका राजाहरूको उदय हुँदै गर्दा हिजो रगत बगाएका मुर्दाहरूका समेत कोसिकाहरू ठाडा बने । आखिर नियति न हो यहाँ पावर र पैसाले रगत साटिन पनि सक्नेरहेछ ।

पद र पैसाले अपराध ढाँटिनपनि सक्नेरहेछ । खुला मैदानमा अनेक छोटे राजाहरूको जगजगी हुँदा जनताहरू यतिधेरै त्रसित बनेको गतवर्ष इतिहासकै कालो वर्ष नहुनसक्ला भनेर भन्न सकिन्न । अपराध बढेर आफ्नाले आफ्नैलाई चिथोर्न र कोपर्न पछि नपर्ने वर्तमानलाई चिरेर न यहाँ कोहि चाणक्य बन्न तयार छ न कोही सक्षम चन्द्र गुप्त तयार गर्न । छन त देशको नाममा देशलाइनै थिलो थिलो परेर भागबण्डा गर्नेहरू । अचम्म छ एकता र अनेकताको यो बिभेदमा आगोको भुमरीमा परेको देशलाई समृद्ध बनाउन न पढ्न जरुरी छ न सक्षम बन्न । न बुझ्न जरुरी छ न बुझाउन । जरुरी छ त फगत छलकपट, अनि जरुरी छ कमिसन खोर बन्न । झुटबोल्न जान्नेहरूको बर्चश्व छ । छलकपट, यभिचार, दुराचार गर्न सक्नेहरूको राज अनि जनताको शासन, जनताका अधिकार जनताका समस्या के समस्या ?

यहाँ आफ्नै समस्या समाधान गर्न नसकेकाहरू जनताको समस्या समाधान गर्न भनेर हिडेका छन, आफैलई बदल्न नसकेकाहरू देश बदल्न भनेर हिडेका छन्, आफै अपराधमा संलग्नहरू अपराध नियन्त्रण गर्छौं भनेर हिँडेका छन । देशको दुर्दसा भनौं या के ? काम गरेर मेहनत गर्नेहरू उनीहरूको डर त्रासमा कहाँ के गर्ने हुन भनेर चुप रहनुपर्ने बाध्यता छ । गएको बर्ष जे होस यो बर्षको सुरुवातमा देशबनाउँछौ भनेर लाग्नेहरूले आफुलाई बदल्न सके मात्र देश बदल्न सक्छु भन्ने सानो प्रण गरे भने मात्र पनि अर्को वर्षसम्म जग निर्माण हुनसक्छ । जग राम्रोसँग निर्माण बन्यो भने घर पनि त बलियो र राम्रो हुन्छ । हैन भने त हामीले सोचेको मिसाल पनि कमजोर र मक्कार बन्न के बेर हैनर ?

    Comment Here!


सम्बन्धित समाचार

View All