देहरादुन भारत उत्तराखण्ड राज्यको राजधानी । उत्तराखण्ड नेपालसँग सीमा जोडिएको भूभाग । अनि, नेपालसँग सामिप्यता राख्ने भौगोलिक क्षेत्र । जसरी हिमाली, पहाडी र तराईको भूभागले नेपालको भौगोलिक अस्तित्व कायम छ, त्यसैगरी हिमाली, पहाडी र तराईको उस्तै भूगोलले उत्तराखण्डको बनोट खडा छ । त्यसैले त उत्तराखण्ड निवासी भारतीय नागरिकहरुसमेत नेपालसँग घनिष्ट भएको जिकिर गर्छन् ।
देहरादुन भन्ने वित्तिकै नालापानी नसम्झने नेपाली सायदै होलान । देहरादुन भन्ने वित्तिकै खलङ्गा (किल्ला) नसम्झने नेपालीभाषी भारतीय गोरखाली समुदाय कोही छैन होला । नालापानी खलङ्गाको कथा स्कुले जीवनमा सामाजिक शिक्षाअन्तर्गत नेपालको राज्य विस्तारको रोमाञ्चक इतिहास पढ्दा पहिलोपटक थाहा भएको थियो । वीर नेपाली सपुतहरु ब्रिटिश साम्राज्यवाद विरुद्ध ज्यानको पर्वाह नराखी कसरी लडेका थिए ? नालापानीको त्यो रहस्यले झन बढी कौतुहल नजन्माउने कुरै भएन ।
इतिहासको स्मरण
सन् १८१४ को अक्टोबर ३० र ३१ । नेपाली र अंग्रेज फौजबीच भीषण लडाईं भएको नालापानी खलङ्गा । नालापानी पर्वतीय श्रङ्खलाको उच्च भूबनोट । नेपाली फौजले उच्च रणकौशलका लागि यो पहाडी भूभाग रोजेको थियो । रणनीतिक रुपमा यो भूभाग यसकारणले पनि महत्वपूर्ण थियो कि एकातिर प्रकृतिले दिएको पहरे बनोट, अर्कोतिर दुश्मनलाई निकै टाढासम्म देख्न सकिने भूगोल । हो, नेपाली सेनाको यही युद्ध कौशल रणनीतिका कारण नालापानीमा किल्ला खडा भयो । त्यसो त, सामारिक महत्व राख्ने नेपालका सबै पुराना गढी र कोतहरु पनि यस्तै भौगोलिक फोर्टिफिकेसनमा रहेको पाइन्छ । जसले नेपालको आफ्नै खाले युद्धकला र सामरिक रणनीतिको प्रतिनिधित्व गर्छ । भारतीय र बृटिस सेनाले समेतले यस्तो खाले फोर्टिफिकेशनलाई आजपर्यन्त उदाहरणको रुपमा लिने गर्छन् ।
८/१० पुस्ताअघिका हाम्रा वीर योद्धाहरु, जसको नेतृत्व कप्तान बलभद्र कुँवरले गरेका थिए, ले नालापानीमा अत्याधुनिक शस्त्रास्त्रले सुसज्जित अंग्रेज (इष्ट इन्डिया कम्पनी, बृटिश साम्राज्यवादको एक अंश)सँग वीरतापूर्वक लडेका थिए । अंग्रेजका लागि देहरादुन, श्रीनगर, कुमाउ, गढवालमाथि कब्जा जमाउन नालापानीमाथि विजय पाउनु अनिवार्य थियो । अक्टोबर ३० को रातिदेखि अक्टोबर ३१ सम्म अंग्रेज फौजले नालापानी किल्लामा धावा बोल्दा बलभद्र नेतृत्वको नेपाली फौजले उच्च युद्ध कौशल, साहस, वीरता, सौर्य, पराक्रम साथ भाला, खकुरी, खुँडा, तरवार र भरुवा बन्दुकले प्रतिरोध ग-यो । अंग्रेज विरुद्धको त्यो प्रतिरोध युद्ध विश्वको युद्ध इतिहासमा सबैभन्दा बहादुरीको उत्कृष्ट नमूना नै हो । युद्धमा अंग्रेज सेनापति मेजर जनरल सर रोबर्ट रोले जिलेस्पी, केसीबीको मृत्यु भयो । अंग्रेजले ३१ जना अफिसर र ७५० सैनिक जवानलाई गुमायो भने ३५ जना अफिसर र १५ सय भन्दा बढी अंग्रेज सैनिक जवान घाइते भए । नेपाली फौजतर्फ पनि करिब ३०० जतिको मृत्यु भएको थियो भने २ सय जना घाइते भएको अनुमान गरिएको छ । इष्ट इन्डिया कम्पनीले आफ्ना सबैभन्दा सुयोग्य कमाण्डर जिलेस्पीलाई गुमाउँदा मर्माहत भएको थियो । जबकी जिलेस्पीले अन्य सबै युद्धमा विजय प्राप्त गर्दै आएका थिए ।
अंग्रेजले युद्धको नियम उल्लंघन गर्दै एकपक्षीय रुपमा युद्धको घोषणा गरेको थियो । प्रतिक्रियामा बलभद्र कुँवर नेतृत्वको नेपाली फौजले जिलेस्पीको मृत शरीरलाई ससम्मान अंग्रेज फौजलाई हस्तान्तरण गरेको थियो, युद्धको नियमलाई पालना गर्दै । नेपाली फौजको यो महानतालाई अंग्रेज इतिहासकार फ्रिन्सेपले ‘युद्धमा मारिएका दुश्मनको लास लैजान दिएर नेपाली फौजले जुन वीरोचित उदारता देखाएका छन् त्यो अंग्रेजका निम्ति नितान्त नवीन र आश्चर्योत्पादक थियो’ भनेर लेखेका छन् ।
मेजर जनरल जिलेस्पीको मृत्युपछि छटपटाएको अंग्रेजले पुनः नयाँ रणनीतिका साथ नालापानीमाथि आक्रमण गर्यो । जिलेस्पीको मृत्युपछि मर्माहत भएको अंग्रेजले पछिल्लो पटक युद्ध नियमको पालना गरेन । जिलेस्पी मारिएको झण्डै एक महिनापछि नोभेम्बर २७ देखि २९ सम्म पुनः बम हमला गर्दै नालापानी किल्ला कब्जाको लागि अघि बढेको अंग्रेजले किल्लामा जाने पानीको मुहान पत्ता लगाएर भत्काइदियो । पानी खान नपाएर व्याकुल भए पनि निरन्तर युद्धमा संलग्न भएर नेपाली फौजले फेरि एकपटक वीरतापूर्वक लडाईं लड्यो । नेपाली फौजमा नियमित फौज मात्र नभै महिला, केटाकेटीले समेत अदम्य साहस र वीरता देखाए, जुन वीरता देखेर दुश्मन अंग्रेज सेनासमेत छक्क परेको थियो । अन्त्यमा, किल्लाभित्रको कमजोर अवस्था, निरन्तर थकित सेना र घाइते सेनाको छटपटाहटका बीच किल्ला छोड्ने निर्णयमा पुगेको थियो नेपाली फौज । कमाण्डर बलभद्र कुँवरले आफूसँग बचेका झण्डै ७० जना सेनाका साथ अंग्रेज फौजकै अगाडिबाट नाङ्गो खुकुरी नचाउँदै किल्लाबाट बाहिरिएको घटनालाई अंग्रेज सेनाले मुक्त कण्ठले प्रशंसा गर्न बाध्य भएको थियो ।
यसैले त अंग्रेजले आफ्ना मृत सेनापतिको सम्झनामा स्मारक बनाउँदै गर्दा उनकै दुश्मन नेपाली सेनाका कमाण्डर बलभद्र कुँवरको पनि स्मरण गरे । संसारकै युद्ध इतिहासमा यो एउटा यस्तो अद्वितीय क्षण थियो, जहाँ दुश्मन सेनाको प्रशंसामा कसैले युद्ध स्मारक बनाउँदै थियो । नेपाली फौजको वीरता र साहसका सामु अंग्रेज फौजको मानसिक हार भएको यो एउटा उत्कृष्ट उदाहरण मान्न सकिन्छ । भौतिक रुपमा पराजित भए पनि नेपाली फौजको अदम्य सहास, पराक्रम र सौर्यलाई अंग्रेजहरुले विश्लेषण गरेका कारण उनीहरुले जनरल जिलेस्पीकै हैसियतमा उनीसरह सम्मान दिएर बलभद्र कुँंवरको समेत स्मारक बनाए । र, त्यहाँ उनीहरुले लेखे, ‘किल्लाका कमाण्डर हाम्रा वीर शत्रु बलभद्र र उनका पराक्रमी गोर्खाहरुको सम्मानमा…’
संसारकै युद्ध इतिहासमा यो एउटा यस्तो अद्वितीय क्षण थियो, जहाँ दुश्मन सेनाको प्रशंसामा कसैले युद्ध स्मारक बनाउँदै थियो । नेपाली फौजको वीरता र साहसका सामु अंग्रेज फौजको मानसिक हार भएको यो एउटा उत्कृष्ट उदाहरण मान्न सकिन्छ
………………………………….
देहरादुनको पूर्वीभूभागस्थित सहस्रधारा रोडसँगै जोडिएको एउटा बगैंचाभित्र अहिले पनि ती दुई स्मारक ठडिएका छन् । नालापानी किल्ला नजिकै बनेका यी स्मारकले दुईसय वर्ष अघिको युद्ध इतिहासलाई जीवित राख्न सफल भएका छन् । आज पनि यो स्मारक क्षेत्रलाई भारतीय पुरातत्व विभागले संरक्षित गरेको छ । नालापानी किल्ला यसकारणले महत्वपूर्ण छ कि यो किल्लाको नेतृत्व तत्कालीन नेपाली सेनाअन्तर्गत पुरानो गोरख गणले सम्हालेको थियो । यस किल्लाको प्रमुख रक्षक पल्टन ‘पुरानो गोरख गण’ नेपाली सेनाभित्रको मगर पल्टन थियो । संसारलाई हल्लाउन सक्ने गोर्खा जातिको इतिहासभित्र पुरानो गोरख गणको भूमिका महत्वपूर्ण रहेको छ । अंग्रेजले नालापानी किल्लाभित्र गोरख गणका सेनाको अविश्वसनीय लडाईंबाटै प्रभावित भएर नेपाली जातिलाई आफ्नो पक्षमा पार्नका लागि कूटनीतिक चातुर्य देखाएका थिए । गोर्खाली शब्द यही किल्लाबाट उत्पत्ति भएको कुरा अंग्रेज सेनानायक फ्रेजरले आफ्नो युद्ध डायरीमा लेखेका छन् ।
यही युद्धपछि अंग्रेजका लागि गोर्खा फौजको स्थापना भयो । र, कालान्तारमा गोर्खाको नाममा गोर्खाभर्ती केन्द्रको स्थापना हुनपुग्यो ।
अंग्रेजले नालापानी किल्लाभित्र गोरख गणका सेनाको अविश्वसनीय लडाईंबाटै प्रभावित भएर नेपाली जातिलाई आफ्नो पक्षमा पार्नका लागि कूटनीतिक चातुर्य देखाएका थिए
………………………………….
नालापानीको अहिलेको अवस्था ?
नालापानी खलङ्गालाई जोगाउन देहरादुनमा बलभद्र खलङ्गा विकास समिति क्रियाशील छ । स्थापना भएको धेरै वर्ष भए पनि सुरुमा त भारतीयहरुले नेपालीभाषीलाई हेर्ने दृष्टिदोषका कारण समितिले केही काम गर्न नसकेको देखिन्छ । तर, सन् ९० को दशकमा भारतमा सुरु भएको नेपाली भाषा आन्दोलन पछि र उत्तराखण्ड उत्तरप्रदेशबाट छुट्टै राज्य बनेपछि भने नालापानी खलङ्गा विकासका लागि केही प्रयत्न भएका छन् ।
भारतको वन विभागअन्तर्गत रहेको नालापानी किल्ला धेरैपछि र धेरै प्रयत्नपछि मात्र संस्कृति विभागअन्तर्गत ल्याइएको थियो । केन्द्रीय सरकारसँग धेरैपटक लविङ गरेपछि संस्कृति विभागमा नालापानी खलङ्गाको स्वामित्व हस्तान्तरण भएको थियो । अहिले यो ठाउँमा युद्ध स्मारक बनाइएको छ । स्मारकको संरक्षण र एकीकृत विकास गर्न भने अझै धेरै बाँकी देखिन्छ ।
अर्कोतर्फ, पहुँच भएका तिब्बती शरणार्थीहरु नालापानी नजिकै आएर मुकाम खडा गरेर बसेका छन् । नालापानीले चर्चेको वन क्षेत्रमध्ये धेरैजसो भूभागमा त तिब्बती झण्डा फहराएको देखिन्छ । त्यही तिब्बती शरणार्थी क्याम्पकै बाटो हुँदै नालापानी खलङ्गाको मुख्य ठाँउमा पुग्नलाई केहीवर्षअघि मात्र मोटरेवल सडक पुगेको छ ।
नालापानी पर्वतको टाकुरामा गोर्खाली चिनोको रुपमा बलभद्र खलङ्गा युद्ध स्मारक बनाइएको छ । यो स्मारक बनाउन पनि धेरै नै पापड बेल्नुपरेको अनुभव छ, देहरादुनवासी गोर्खालीसँग ।
सहस्रधारा रोडस्थित अंग्रेजले बनाएको पुरानो युद्ध स्मारकभन्दा करीब तीन किलोमिटर टाढा युद्धक्षेत्रमै यो नयाँ स्मारक बनेको छ । केही तल रहेको सागरतालमा अहिले पनि युद्धको सम्झना गरिन्छ, जहाँ गोर्खाली समुदायले अहिले पनि खलंगा मेला भर्नेगर्छन् ।
तर, सोचेअनुसार काम नहुँदा र कामका लागि आवश्यक सहयोग प्राप्त नहुँदा नेपाली सेनाले बनाएको किल्लाको उत्खनन् भएको छैन । पुरातात्विक महत्वका वस्तुहरुको खोजवीन हुन, उत्खनन हुन र युद्ध क्षेत्रको घोषणा हुन बाँकी छ । नेपाल, भारतीय गोर्खाली समुदाय र विश्वभर छरिएका नेपाली एवं गोर्खालीका लागि नालापानी किल्ला गर्व गर्ने ऐतिहासिक सम्पदा भएको कारण यसको थप संरक्षण आवश्यक छ ।
नालापानीका लागि नेपाली पहल
२०५ वर्ष अघिको घटना । तर, नालापानीले नेपालीलाईं सधैंभर झक्झकाइरहन्छ । एउटा पराक्रमी युद्धमोर्चाको सम्झना गराइरहन्छ । यसकारणले नालापानी नेपालका लागि छुटाउनै नहुने तीर्थस्थल हो । नालापानी भारतमा बसोबास गर्ने दशौं लाख नेपालीभाषी गोर्खालीका लागि पवित्रस्थल हो, इतिहासको सम्झना गराउने थलो हो ।
बिडम्बनै भन्नुपर्छ नालापानीलाई सम्झिन सकेन, मुलभूमि नेपालले । वीरताको चिनोलाई नेपालले चिन्न सकेन । विशाल नेपालका लागि वीर योद्धाहरुको वलिदानलाई काठमाडौंको केन्द्रीय सत्ताले सम्मान गर्न सकेन । आज नालापानी छिमेकी भारतको एक भौगोलिक अंग भए पनि नालापानीभित्रको नेपाली अपनत्व एवं समाजशास्त्रीय मनोविज्ञानलाई जोगाइराख्न नेपालले भारतसँग आग्रह गर्न समेत सकेन ।
बरु, नालापानी खलङ्गालाई जोगाउन भारतमै बसोबास गर्ने नेपाली भाषी गोरखाली समुदायले केही पहल गरेका छन् । ती गोरखालीहरु जसका पुर्खा नेपाल राज्य विस्तारकै लागि लडेका थिए, ती नेपालीभाषी गोरखालीहरु, जसका पुर्खाले कुनै समय आफ्नै दुश्मन फौज अंग्रेज फौजसँग लडे पनि कालान्तरमा अंग्रेजका लागि समेत लड्न पुगे र अहिले भारतीय सेनामा समेत माथिल्लो दर्जामा पुग्न सफल भएका छन् । गर्व गर्छन् उनीहरु, नालापानी खलङ्गाप्रति । यो अर्को अनौठो संयोग भएको छ, गोरखाली जातिका लागि, नेपाली रगत मिसिएका सन्ततिका लागि ।
नालापानीमा वैरीका सामु वीर सपुतहरुले शिर झुक्न दिएनन्, तर काठमाडौंले तिनीहरुलाई सम्झनसमेत लायक मानेन । बरु, भारतीय शासकसामु शिर झुकाउने क्रम अझै पनि जारी छ
………………………………….
नेपालका लागि नालापानी खलङ्गा ऐतिहासिक महत्वको ठाउँ हो, तर, खलङ्गा विकासका लागि नेपालबाट कुनै पहल भएको छैन् । नेपालबाट नालापानीलाई इतिहासका पुस्तकमा सम्झेर सामान्य ज्ञानको जानकारी दिनेबाहेक अरु कुनै पहलकदमी भएको छैन । विश्वका धेरै देशहरुले त्यस्ता ऐतिहासिक स्थलको संरक्षणका लागि पहल गर्दैआएका छन् । भूगोल आफ्नो देशको नभए पनि सरकारीस्तरमा भएका लविङबाट अर्को देशको भूगोलभित्रका कतिपय ऐतिहासिक स्थानको सम्वद्र्धन र विकास गरिएका उदाहरण बाँकी विश्वका धेरै देशमा पाइन्छ । तर, अंग्रेजसँग सुगौली सन्धिबाट शिर निहुराएको नेपालको शासकवर्गले भारतीय शासकवर्गसँग समेत कहिल्यै शिर ठाडो पारेर कुरा राख्ने हैसियत बनाएन । नालापानीमा वैरीका सामु वीर सपुतहरुले शिर झुक्न दिएनन्, तर काठमाडौंले तिनीहरुलाई सम्झनसमेत लायक मानेन । बरु, भारतीय शासकसामु शिर झुकाउने क्रम अझै पनि जारी छ ।
नालापानीमा व्यक्तिगत तवरमा घुम्न पुगेका नेता, प्रशासक र नागरिकबाहेक अरु कोही पुगेका छैनन् । यसकारण, गोर्खालीको पहिचान दिएको यस ठाउँलाई जोगाउन, युद्धस्मारक बनाउन र एउटा पवित्र स्थलको रुपमा कमसेकम नेपालीभाषी गोरखाली समुदाय र नेपालले पनि गर्व गर्न लायक पर्यटकीयस्थल बनाउन नेपालबाट पहल हुन जरुरी छ ।
पुर्खाले सिंचित गरेका रक्तवीजका कणहरु आजको हाम्रो पुस्ताले नालापानीमाथि न्याय गर्न सकेन । हामी भजन गाउँछौं, ‘नालापानी किल्लामा खुकुरी घुमे फनन’ । हामी अझै पनि नालापानीको व्याज खाइरहेका छौंं । हाम्रो मुलुक हाम्रा ती वीरवीरङ्नाहरुको रगतबाट कोरिएको छ, जसले अंग्रेज साम्राज्यवादविरुद्ध वीरतापूर्वक युद्ध लडेको थियो, तर उनीहरुलाई नसम्झेर उनीहरुप्रति मरणोपरान्त अन्याय गरेका छौं ।
आज नालापानी युद्धको २०४ औं वर्षगाँठ । भारतीय गोर्खाली समुदायले त्यो युद्धलाई सम्झिन बलभद्र खलङ्गा विकास समिति (नालापानी देहरादुन)ले नालापानी नजिकै ४४औं खलङ्गा मेलाको आयोजना गरेको छ । । सन् १८१४ अक्टोबर ३० को रातिदेखि नोभेम्बर २९ सम्म नालापानीको युद्धमा पुर्खाको वीरता/सौर्य र युद्धको क्रममा पाएको दुःख दुबैले हामीलाई पनि फेरि एकपटक नालापानीलाई सम्झाएको छ ।
राज्यस्तरबाट नेपालले त्यो महान् युद्धलाई नसम्झे पनि वीर योद्धाहरुको सम्झनामा श्रद्धास्वरुप हाम्रो शिर झुकेको छ ।
प्रतिक्रिया दिनुहोस्