काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्ष मलुकको विकासमा देखिनेगरी परिवर्तन आउने बताउनुभएको छ ।
धादिङको गल्छीमा आज मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्षको बजेट पछि जनताले अनुभूत गर्नेगरी विकासको लहर आउने बताउनुभएको हो । जेठ १५ गते पछि देश विकासको गति दुई गियरबाट तीन चारमा पुग्ने उहांले दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरेपछि विरोधीबाट जनतामा भ्रम सिर्जना गर्ने प्रयत्न भैरहेको समेत बताउनुभयो । सरकारको विरोध गर्नेहरु गणतन्त्रको विरोधी रहेको आरोप लगाउंदै गणतन्त्र ल्याउन भूमिका नभएकाले अहिले आफुहरुलाई लोकतन्त्रको पाठ पढाइरहेको टिप्पणी गर्नुभयो ।
मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पांचथरदेखि अन्तिम विन्दु बैतडीसम्म सुचना महामार्गको बिस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताउनुभयो । ओलीले सुचना महामार्गको शिलान्यासले विकासमा एक कदम थपेको धारणा राख्नुभयो । ओलीले सरकारले विकास, शिक्षा ,स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधार मात्र नभइ आमूल परिवर्तन गर्न चाहेको पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले २०३८ सालपछि सबै भन्दा बढी आर्थिक बृद्धिदर यसै बर्ष भएको दाबी गर्नुभयो । सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा रहेको भन्दै उहांले केही बर्ष भित्रै नेपाललाई तिव्र विकास हुने देशमा रुपान्तरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्