काठमाडौं, १५ असार । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले गर्ने गलत प्रवृत्ति विरुद्ध कांग्रेस एक जुट भएर लाग्ने बेला आएको बताउनुभएको छ ।
पार्टी कार्यालय सानेपामा उपसभापति नियुक्त भएको दुई महिनापछि शुक्रबार पदभार ग्रहण गर्दे उपसभापति निधीले सरकार सर्वसत्ताबादतर्फ अग्रसर भएकाले यसको भण्डाफोर गर्नुपर्ने बेला आएको समेत बताउनुभयो ।
सरकारले काँग्रेसको औचित्य छैन भनेर प्रचार गर्दै हिंडेको भन्दै निधिले केपी शर्मा ओली नेतृत्वको सरकार तानाशाही शासन शैलीमा अगाडि बढेको आरोप लगाउनुभयो । निधिले सरकार संघीयता, समावेशीताको विरुद्ध, न्यायपालिका, कार्यपालिका, प्रादेशिक संसद लगायतमा हस्तक्षेपकारी भूमिकामा देखिएको पनि आरोप लगाउनुयो । उपसभापति निधिले सरकार सबै क्षेत्रमा अघोषित सेन्सरसीप लगाएर अधिनायकवाद लाद्न उद्यत भएको बताउनुभयो ।
त्यस्तै उपसभापति निधिले काँग्रेसमा अब चुनावी हारबारे समीक्षा गरेर आरोप प्रत्यारोप गरिरहनु नपर्ने समेत बताउनुभयो । उहाले नेतृत्व परिवर्तनको विषय पार्टीभित्र कम हुँदै गएको बताउँदै अब आगामी महाधिवेशनको तयारीमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
धान दिवसको अवसर पारेर ज्योतिषीको सल्लाहअनुसार निधीले शुक्रबार ७ बजेर ५५ बजेको साइतमा पार्टी मुख्यालय सानेपामा पदभार ग्रहण गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्