काठमाडौंरवाशिङ्टन । अमेरिका–इरान द्वन्द्व चर्किँदै गएपछि अमेरिकी विदेश मन्त्रालयले इजरायलसहित मध्यपूर्वका एक दर्जनभन्दा बढी देशमा रहेका आफ्ना नागरिकलाई तत्काल त्यहाँबाट बाहिरिन आग्रह गरेको छ। मन्त्रालयले “गम्भीर सुरक्षा जोखिमका कारण व्यावसायिक उडानमार्फत तुरुन्त प्रस्थान गर्न” निर्देशन दिएको हो।
इरानद्वारा प्रक्षेपित क्षेप्यास्त्र हमलापछि इजरायलका विभिन्न सहरमा सायरन बजेको र सर्वसाधारणलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। इजरायली रक्षा बल (आइडीएफ) ले लेबनानको राजधानी बेरुतमा प्रहार गरेको जनाएको छ।
यसैबीच इरानले होर्मुज जलडमरूमध्य बन्द गरिएको दाबी गर्दै त्यहाँबाट आवतजावत गर्ने जहाजमाथि कारबाही गर्ने चेतावनी दिएको इजरेल टाइम्सले जनाएको छ। तर अमेरिकी अधिकारीहरूले उक्त दाबी अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रत्यक्षदर्शीका अनुसार साउदी अरेबियाको राजधानी रियादस्थित कूटनीतिक क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको र धुवाँका बादल देखिएको छ। कतारले दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र अवरोध गरेको जनाएको छ।
उता, इरानले अमेरिकी आक्रमणमा एक विद्यालय लक्षित हुँदा १६० भन्दा बढीको मृत्यु भएको दाबी गरेको छ। तर अमेरिकाले विद्यालयलाई जानाजानी निशाना नबनाइने स्पष्ट पारेको छ।
द्वन्द्व क्षेत्र विस्तार भइरहेका बेला क्षेत्रीय सुरक्षास्थिति झन् जटिल बन्दै गएको छ।








प्रतिक्रिया दिनुहोस्