रास्वपाले चमत्कारै गर्दा पनि प्रत्यक्षमा ५० पुग्न असम्भव, २७ क्षेत्रमा अगाडि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पक्षमा चुनावी ‘वेभ’ आएको दाबी गर्दै फागुन २१ सम्म यो ट्रेन्ड कायम राखेर प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उल्लेख्य नतिजा निकाल्ने रणनीति तय गरेको जनाएको छ। पार्टीको इलेक्सन रिसर्च टिमले जिल्ला–प्रदेशबाट आएका रिपोर्ट, मतदाताको मनोविज्ञान र विपक्षी दलहरूको प्रचारको विश्लेषण गर्दै प्रत्यक्षतर्फ ५० देखि ६० सिट र समानुपातिकतर्फ करिब ५० लाख मत ल्याउने आन्तरिक आकलन गरेको स्रोतको भनाइ छ। यो आकलनलाई पार्टीले आन्तरिक रूपमा ‘ढुक्क’ र ‘सम्भावना’ श्रेणीमा विभाजन गरेको छ, जसमा युवा मतदाता, शहरी क्षेत्रको असन्तुष्टि र सोसल मिडियाको प्रभावलाई मुख्य कारक मानिएको छ।

अभियान र रणनीति परिवर्तन
सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले धनगढीबाट देशव्यापी अभियान सुरु गरेपछि माहोल थप बलियो भएको दाबी गरिए पनि धनगढी, सुर्खेत र दाङका सभापछि भैरहवा र पोखराका कार्यक्रम स्थगित गरिएका छन्। बालेन अस्वस्थ भई काठमाडौं फर्किएको सूचना दिँदै पार्टीले अब घरदैलो अभियानमा केन्द्रित हुने निर्णय गरेको छ। यो परिवर्तनको मुख्य कारण झापा–५ मा केपी शर्मा ओलीको सक्रियता बढ्नु र केही क्षेत्रमा स्थानीय असन्तुष्टि (जस्तै उम्मेदवार छनोटमा विवाद) देखिनु हो। पार्टीले अब ‘डिजिटल क्याम्पेन’ लाई प्राथमिकता दिँदै सोसल मिडिया, टिकटक र युट्युबमार्फत युवा मतदातालाई लक्षित गरेको छ। यसबाहेक, मनाङमा उम्मेदवार छैन भने म्याग्दीमा महावीर पुनलाई समर्थन गर्ने निर्णयले गठबन्धन वा सहकार्यको संकेत गरेको छ। रास्वपाले विपक्षी (कांग्रेस, एमाले) को ‘पुरानो राजनीति’ विरुद्ध ‘नयाँपन’ को नारालाई मुख्य हतियार बनाएको छ ।
प्रदेशगत दाबी र वास्तविकता (तालिकामा)
| प्रदेश | कुल क्षेत्र | रास्वपाको दाबी (प्रत्यक्ष सिट) | ढुक्क सिट (रास्वपा दाबी) | सम्भावना सिट (रास्वपा दाबी) | स्थलगत रिपोर्ट/वास्तविकता (एबीसी/अन्य स्रोत) | समानुपातिक मत लक्ष्य (%) |
|---|---|---|---|---|---|---|
| कोशी | २८ | ७ सिट सम्भावना | झापा–१,२,३,४; मोरङ–४; सुनसरी–१,३ | झापा–५ (बालेन), मोरङ–२,५ | झापा १–४ मा केही अग्रता तर ३ र ४ मा धेरै पछि; झापा–५ मा ओली बलियो; समग्र ४–६ सिट सम्भाव्य | १५–२० |
| मधेस | ३२ | ६ सिट निश्चित | धनुषा–३, सर्लाही–३, महोत्तरी–२, रौतहट–३, पर्सा–२, सिरहा–२ | धनुषा–१, सर्लाही–४, सप्तरी–२ | जनमत/जसपा बलियो; शहरी क्षेत्रमा केही फाइदा तर ६ सिट निकै कठिन; सम्भावना ३–५ सिट | १०–१५ |
| बागमती | ३३ | १५ सिट सूचीमा | काठमाडौं–१,२,४,६,७,८; ललितपुर–२,३; भक्तपुर–२; चितवन–१,२; काभ्रे–१; सिन्धुली–२; रामेछाप–१; मकवानपुर–१ | काठमाडौं–३,५,९; चितवन–३; सिन्धुपाल्चोक–२ | काठमाडौं १ मा असम्भव; काभ्रे, सिन्धुली, रामेछापमा मुख्य प्रतिस्पर्धी छैन; उपत्यकामा ६–८ सिट सम्भाव्य | २५–३० |
| गण्डकी | १८ | ८ सिट सम्भावना | कास्की–१,२,३; नवलपुर–१; स्याङ्जा–१; तनहुँ–१; गोर्खा–२ | लमजुङ–१, बागलुङ–१ | पोखरा क्षेत्रमा बलियो तर अन्यत्र कमजोर; मनाङमा उम्मेदवार छैन; सम्भावना ४–६ सिट | २० |
| लुम्बिनी | २६ | ११ सिट निश्चित | रुपन्देही–२,४; बाँके–१,३; नवलपरासी (प.)–१,२; गुल्मी–१,२; पाल्पा–२; अर्घाखाँची–१; बर्दिया–१ | बर्दिया–२, रुपन्देही–१ | रुपन्देहीमा बहुमत सिट सम्भाव्य; दाङ–२ निश्चित जस्तै; नवलपरासी, पाल्पा, गुल्मी–२, अर्घाखाँचीमा कठिन; सम्भावना ७–१० सिट | २०–२५ |
| कर्णाली | १२ | १–२ सिट सम्भावना | सुर्खेत–२ | जुम्ला–१, सुर्खेत–१ | सुर्खेतमा गगन थापा सभापछि कांग्रेस बलियो; रास्वपा कमजोर; सम्भावना ०–१ सिट | १० |
| सुदूरपश्चिम | १६ | ४ सिट ‘ढुक्क’ | कैलाली–१,४; कञ्चनपुर–२,३ | डडेल्धुरा–१, बैतडी–१ | कञ्चनपुर–२ बाहेक अन्यत्र गाह्रो; कैलाली–५ मा प्रतिस्पर्धी; डडेल्धुरामा देउवा अनुपस्थितिले केही फाइदा; सम्भावना २–४ सिट | १५ |
प्रदेशगत आकलन
रास्वपा स्रोतका अनुसार हिमाली र केही पहाडी क्षेत्रमा संगठन कमजोर देखिँदा एकल बहुमतको सम्भावना कम देखिएको छ। प्रदेशगत रूपमा पार्टीले ‘निश्चित’ (ढुक्क) र ‘सम्भावना’ श्रेणीमा सिटहरूको आकलन गरेको छ। प्रत्येक प्रदेशमा मुख्य क्षेत्रहरू, चुनौती र रणनीतिक केन्द्रित यस प्रकार छन् :
कोशी प्रदेश (२८ क्षेत्र): ७ सिट सम्भावना; झापा–५ मा बालेनको प्रतिस्पर्धा
कोशीमा झापा र मोरङ जस्ता शहरी क्षेत्रमा केन्द्रित छ। ढुक्क सिट: झापा–१, झापा–२, झापा–३, झापा–४, मोरङ–४, सुनसरी–१ र सुनसरी–३। एबीसी स्थलगत रिपोर्टले यो दाबीमा झापाका बहुमत सिटमा उसको अग्रता रहे पनि झापा ३ र ४ मा रास्वपा धेरै पछि छ । सम्भावना: झापा–५ (बालेनको सक्रियता, ओलीविरुद्ध चुनौती), मोरङ–२ र मोरङ–५। चुनौती: कांग्रेसको परम्परागत मत। रणनीति: झापा–५ मा ‘बालेन वेभ’ लाई प्रयोग गर्दै ओलीको ‘पुरानो राजनीति’ विरुद्ध प्रचार। समानुपातिकमा १५–२० प्रतिशत मत अनुमान।

मधेस प्रदेश (३२ क्षेत्र): ६ सिट निश्चित; जनकपुर कार्यक्रमपछि ‘वेभ’ बढेको दाबी रास्वपाले गरेको छ ।
मधेसमा क्षेत्रीय दलहरूको चुनौती भए पनि शहरी क्षेत्रमा युवा मतबाट फाइदा हुने आशा गरेको छ । ढुक्क सिट: धनुषा–३, सर्लाही–३, महोत्तरी–२, रौतहट–३, पर्सा–२ र सिरहा–२। सम्भावना: धनुषा–१, सर्लाही–४ र सप्तरी–२।
चुनौती: जनमत र जसपाको क्षेत्रीय मुद्दा। रणनीति: जनकपुर सभापछि ‘वेभ’ बढेको दाबी गर्दै मधेस अधिकार र रोजगारी मुद्दामा केन्द्रित। समानुपातिकमा १०–१५ प्रतिशत मत लक्ष्य।

बागमती प्रदेश (३३ क्षेत्र): १५ सिट सूचीमा; काठमाडौंका केही क्षेत्रमा कडा प्रतिस्पर्धा
बागमतीमा काठमाडौं उपत्यकाको युवा मतबाट मुख्य फाइदा हुने अनुमानकै भरमा रहेको देखिन्छ।
ढुक्क सिट: काठमाडौं–१, काठमाडौं–२, काठमाडौं–४, काठमाडौं–६, काठमाडौं–७, काठमाडौं–८, ललितपुर–२, ललितपुर–३, भक्तपुर–२, चितवन–१, चितवन–२, काभ्रे–१, सिन्धुली–२, रामेछाप–१ र मकवानपुर–१। (एबीसी स्थलगत रिपोर्टले रास्वपाको यो दाबीलाई निकै हचुवा भएको देखाएको छ । काभ्रे, सिन्धुली र रामेछापमा रास्वपाले जित निकाल्न निकै कठिन छ । ती क्षेत्रमा रास्वा मुख्य प्रतिस्पर्धी पनि छैनन् भने काठमाडौं १ मा रास्वपाले जित निकाल्न असम्भव जस्तै देखिएको छ । त्यो क्षेत्रमा नेका धेरै अघि रहेको छ । उपत्यकाका काठमाडौं ८ र ललितपुर २ निकै कठिनाई सामना गर्ने क्षेत्रका रुपमा रहेका छन् ।)

सम्भावना: काठमाडौं–३, काठमाडौं–५, काठमाडौं–९, चितवन–३ र सिन्धुपाल्चोक–२। चुनौती: कांग्रेसको नयाँ नेतृत्व र एमालेको संगठन। रणनीति: काठमाडौंमा डिजिटल प्रचार र युवा सम्मेलन। समानुपातिकमा २५–३० प्रतिशत मत लक्ष्य।
गण्डकी प्रदेश (१८ क्षेत्र): ८ सिट सम्भावना; मनाङमा उम्मेदवार छैन, म्याग्दीमा महावीर पुनलाई समर्थन
गण्डकीमा पोखरा (कास्की) मा बलियो रहेको आंकलन छ । ढुक्क सिट: कास्की–१, कास्की–२, कास्की–३, नवलपुर–१, स्याङ्जा–१, तनहुँ–१, गोर्खा–२ । सम्भावना: लमजुङ–१ र बागलुङ–१। चुनौती: कांग्रेसको प्रभाव।
रणनीति: म्याग्दीमा महावीर पुनलाई समर्थन गर्दै गठबन्धन गरेको छ। पोखरा कार्यक्रम स्थगित भएपछि केही निराशा उत्पन्न भएको रिपोर्ट आएको बताइएको छ । समानुपातिकमा २० प्रतिशत मत अनुमान गरेको स्रोतले दाबी गरेको छ।

लुम्बिनी प्रदेश (२६ क्षेत्र): ११ सिट निश्चित मानेको सूचीमा
यो प्रदेशमा रास्वपाको सबैभन्दा बलियो पकड भएको दाबी गरिएको छ । ढुक्क सिट: रुपन्देही–२, रुपन्देही–४, बाँके–१, बाँके–३, नवलपरासी (पश्चिम)–१, नवलपरासी (पश्चिम) –२, गुल्मी–१, गुल्मी–२, पाल्पा–२, अर्घाखाँची–१ र बर्दिया–१। तर एबीसी न्युज टिमको स्थलगत रिपोर्टले यो प्रदेशका नवलपरासीका दुवै सिटमा प्रतिस्पर्धी भए पनि जित निकाल्न कठिन देखाएको छ भने पाल्पा–२, अर्घाखांची र बर्दिया १ पनि अति महत्वाकांक्षी आशा ठानेको छ । एबीसी स्थलगत रिपोर्टले रुपन्देहीका बहुमत सिटमा रास्वपाले जित निकाल्न सक्ने देखाएको छ भने दांगको क्षेत्र न.२ निश्चित जस्तै देखाएको छ । सम्भावना: बर्दिया–२ र रुपन्देही–१। चुनौती: एमालेको प्रभाव र कांग्रेसको स्थानीय नेटवर्क। समानुपातिकमा २०–२५ प्रतिशत मत लक्ष्य।

कर्णाली प्रदेश (१२ क्षेत्र): १–२ सिट सम्भावना
कर्णालीमा रास्वपाको संगठन कमजोर छ तर सुर्खेत र जुम्ला जस्ता शहरी क्षेत्रमा युवा मतबाट फाइदा लिने आकलन छ। ढुक्क सिट: सुर्खेत–२ (घरदैलो अभियानबाट फाइदा)। तर एबीसी स्थलगत रिर्पोटले गगन थापाको सुर्खेत सभापछि कांग्रेस सम्हालिएको हुनाले त्यहाँ रास्वपाले जित निकाल्ने सम्भावन निकै कमजोर छ । सम्भावना: जुम्ला–१ र सुर्खेत–१। चुनौती: एमाले र कांग्रेसको स्थानीय प्रभाव। रणनीति: डिजिटल क्याम्पेन र स्थानीय मुद्दा (जस्तै सडक विकास) लाई उठाउने। पार्टीले यहाँबाट कम्तीमा १० प्रतिशत समानुपातिक मत लक्ष्य राखेको छ।

सुदूरपश्चिम प्रदेश (१६ क्षेत्र): ४ सिट ‘ढुक्क’ सूचीमा
धनगढीबाट अभियान सुरु भएकाले यो प्रदेशमा ‘वेभ’ बलियो छ। ढुक्क सिट: कैलाली–१, कैलाली–४, कञ्चनपुर–२ र कञ्चनपुर–३ (शहरी र तराई प्रभाव)। तर एबीसी स्थलगत रिर्पोटले यो दाबी मध्ये कन्चनपुर २ बाहेक अन्यत्र गाह्रो देखाएको छ भने कैलाली ५ मा प्रतिस्पर्धी देखाएको छ । सम्भावना: डडेल्धुरा–१ (देउवा अनुपस्थितिको फाइदा) र बैतडी–१। चुनौती: कांग्रेसको देउवा प्रभाव र एमालेको संगठन। रणनीति: घरदैलो र स्थानीय असन्तुष्टि (जस्तै विकास निर्माण) लाई मुद्दा बनाउने। समानुपातिकमा १५ प्रतिशत मत अनुमान।

रास्वपाले यो ‘वेभ’ लाई फागुन २१ सम्म कायम राख्न घरदैलो, डिजिटल अभियान र स्थानीय मुद्दामा फोकस गरेको छ। तर विपक्षी (एमालेको ५३ सिट दाबी) को सक्रियताले चुनौती थपेको हुनुपर्छ । कुल अनुमान ५०–६० प्रत्यक्ष सिट र ५० लाख समानुपातिक मतको आशा गरेको छ । तर यो अनुमान निश्चित तथ्यांक र आधारमा नभएर वेभ र पूर्वनियोजित प्रचारजस्तो देखिन्छ । रास्वपाले चमत्कारै गर्दा पनि प्रत्यक्षमा ५० पुग्न असम्भव जस्तै छ । देशभरको फागुन १७ गते विहानसम्मको अवस्थामा रास्वपाका उम्मेदवारहरु २७ क्षेत्रमा अगाडि छन् भने समानुपातिक मतमा बढीमा ३० प्रतिशतको हाराहारीमा रहेको एबीसी स्थलगत रिपोर्टले देखाएको छ ।








प्रतिक्रिया दिनुहोस्