काठमाडौं, २४ माघ । क्रिकेटको छोटो संरचनाको महाकुम्भ शनिबार सुरु हुँदै छ । भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने आइसिसी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ । त्यसैले यो विश्वकपको ज्वरोले नेपालीलाई अझ च्यापेको छ । जुन एक महिना नभई निको हुने छाँट देखिँदैन ।
आइसिसी टी–२० विश्वकपको दसौँ संस्करणमा २० टिम सहभागी छन् । विश्वका यी २० उत्कृष्ट व्रिmकेट टिमबिच सर्वश्रेष्ठको चयन गर्न ३० दिन लगाएर ५५ खेल खेलिने छ । सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । एक समूहमा पाँच टिम रहने छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्ने छन् । सुपर–८ मा दुई समूह हुने छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्ने छन् । त्यसपछि फागुन २४ गते विश्वकप ट्रफी उचाल्ने टिमको निर्णय हुने छ ।
२०र२० ओभरको क्रिकेट सन् २००३ जुनमा सुरु भएको हो ।क्रिकेटको विभिन्न संरचनामध्ये टी–२० अहिले सबैभन्दा रुचाइएको स्वरूप हो । अन्य स्वरूपमा क्रिकेट पाँच दिन, एक दिन चल्ने भएकाले परिणाम र समयको हिसाबले क्रिकेटको क्रेज कम हुँदै गयो । यो खेल कम मुलुकमा खेलिन थाले । त्यसपछि यो खेलको समय घटाउने आवश्यकता महसुस गरी टी–२० क्रिकेटको प्रचलन सुरु भएको हो । जुन निकै सफल भयो । त्यसले पनि आइसिसीले टी–२० विश्वकप दुई वर्षपिच्छे आयोजना गर्छ । प्रायः विश्वकप प्रत्येक चार वर्षमा आयोजना हुने गर्छ । आइसिसीले नै आयोजना गर्ने एकदिवसीय क्रिकेटको विश्वकप प्रत्येक चार वर्षमा मात्र हुने गर्छ ।
तेस्रो पटक विश्वकप खेल्दै नेपाल
करिब चार महिनाअघि ओमानमा भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा च्याम्पियन भएर नेपाल सन् २०२६ मा हुने विश्वकपमा चयन भएको हो । नेपालले समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक आइसिसी टी–२० विश्वकपमा खेल्ने छ । नेपालले पहिलो पटक सन् २०१४ मा टी–२० विश्वकप खेलेको हो । नेपालले विश्वकपमा पहिलो सहभागितामै अनपेक्षित रूपमा तीनमध्ये दुई खेल जितेर विश्वलाई प्रभावित पारेको थियो । त्यसपछि नेपाली क्रिकेट समर्थकको हरेक पटक नेपालले अर्को विश्वकप क्रिकेट खेल्ने अपेक्षा रह्यो तर नेपाललाई अर्को विश्वकप खेल्न दस वर्ष लाग्यो । सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको पछिल्लो विश्वकपमा खेल्दा नेपालको चर्चा चुलिएको थियो ।
नेपाली व्रिmकेटले अब पुनः विश्वकपको मञ्चमा आफ्नो क्षमता देखाउने अवसर पाएको छ । चालु विश्वकप छनोटमा गरेको प्रदर्शन र यसअघि दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरुद्ध टी–२० शृङ्खला जितेर इतिहास बनाएकाले पनि आगामी विश्वकपमा नेपाल हेर्नलायक टिमका रूपमा हेरिएको छ । अझ विश्वकपका दुई ‘वार्म’ खेलमा पनि संयुक्त अरब इमिरेट्स र क्यानडालाई सजिलै हराएपछि नेपाल शानदार लयसहित भारतमा छ । त्यसैले पनि नेपालले यसपालि सुपर आठमा पुग्ने सपना देख्दै छ ।
नेपाल समूह ‘सी’ मा रहेको छ । सो समूहमा दुई पटकको विजेता टिम इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजसँगै इटाली र स्कटल्यान्ड पनि रहेका छन् । भारतसँगको विवादले बङ्गलादेशले विश्वकपमा नखेल्ने निर्णय लिएपछि स्कटल्यान्डको भाग्योदय भएको हो । इटालीले पहिलो पटक क्रिकेट विश्वकप खेल्न लागेको हो । एक दिनअघि सहभागी कप्तानसँगको प्री म्याच कन्फ्रेन्समा नेपालका कप्तान रोहित पौडेलले पछिल्ला दुवै विश्वकपमा नजिक पुगेर पनि अर्को चरणमा पुग्न नसकेको भन्दै यसपालि आफ्नो टिमले सुपर आठको लक्ष्य बनाएको बताउनुभएको छ । आफ्नो समूहमा दुई एसोसिएट राष्ट्र र वेस्ट इन्डिजविरुद्ध शृङ्खला जितेकाले पनि कप्तान रोहितको भनाइमा दम देखिन्छ ।
पहिलो र दोस्रो पटक विश्वकप खेल्दा सानो माछाका रूपमा आकलन गरिएको नेपाल अब उलटफेर गर्न सक्ने टिम बनिसकेको छ । नेपाली समर्थकले पनि नेपालले यसपालि पछिल्लो पटकको सहभागितामा भन्दा थप उपलब्धि हासिल गर्ने आशा गरेका छन् । नेपाली टिमले खेल्ने खेलको टिकट सबै बिक्री भइसकेकाले पनि नेपाली समर्थकको चर्चा विश्वकप सुरु हुनुअघि नै भइसकेको छ । विश्वकपमा भारतपछि नेपालको टिकट चाँडै ‘सोल्ड आउट’ भएको छ ।
उपाधि दाबेदार
टी–२० क्रिकेटमा उपाधि विजेताको भविष्यवाणी गर्न सहज छैन । यद्यपि लाइनअप, पछिल्ला प्रदर्शन, अनुभव र वरीयतालाई केलाउँदा यसपालि गत विजेता तथा आयोजक भारत, इङ्ग्ल्यान्ड र अस्टे«लियालाई प्रमुख उपाधि दाबेदारका रूपमा हेरिएको छ । यद्यपि न्युजिल्यान्ड, दक्षिण अफ्रिका जस्ता टिमलाई पनि बेवास्ता गर्न सकिँदैन । गत च्याम्पियन भारतले उद्घाटनको दिनै मुम्बईमा अमेरिकासँग खेलेर प्रतियोगिता सुरुवात गर्ने छ ।
अहिलेसम्म आयोजक राष्ट्रले पुरुष टी–२० विश्वकप जितेको इतिहास छैन । कुनै राष्ट्रले तीन पटक उपाधि जितेको विगत पनि छैन । भारत, वेस्ट इन्डिज र इङ्ग्ल्यान्ड दुई/दुई पटक च्याम्पियन बनेका छन् । भारत दुवै इतिहास बदल्ने दाउमा छ । भारतले सन् २००७ मा दक्षिण अफ्रिकामा भएको पहिलो संस्करण अनपेक्षित रूपमा जितेको थियो । त्यसपछि भारतले फेरि ट्रफी उचाल्न १७ वर्ष कुर्नुप¥यो । सन् २०२४ मा रोहित शर्माको कप्तानीमा भारतले बार्बाडोसमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई हराएर सो खडेरी तोडेको थियो ।
पूर्वच्याम्पियन अस्ट्रेलिया, इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाले भारतलाई लगातार दोस्रो पटक उपाधि जित्नबाट रोक्न सक्छ । सन् २०२१ को विजेता अस्ट्रेलियालाई भने आफ्ना नियमित तेज बलर चोटिल हुँदा केही धक्का परेको छ । हालै श्रीलङ्काविरुद्धको टी–२० शृङ्खला ३–० ले जितेपछि दुई पटकको विजेता इङ्ग्ल्यान्डको मनोबल पनि उच्च छ । इङ्ग्ल्यान्डले आइतबार मुम्बईमा नेपालविरुद्ध खेलेर आफ्नो अभियान सुरु गर्ने छ । इङ्ग्ल्यान्डले यसअघि २०१० / २०२२ मा उपाधि जितेको थियो ।
सन् २०२४ का उपविजेता दक्षिण अफ्रिकाले अहिलेसम्म कुनै पनि एकदिवसीय वा टी–२० विश्वकप जित्न सकेको छैन तर गत वर्ष विश्व टेस्ट च्याम्पियनसिप जितेकाले भने दक्षिण अफ्रिकाको मनोबल उच्च छ । यसै गरी न्युजिल्यान्ड विश्वकपमा सधैँ राम्रो खेल्ने टिम हो ।
विश्वकपअघिका विवाद
यस पटकको टी–२० विश्वकप राजनीतिक चिसोपनबिच हुँदै छ । भारतसँगको सम्बन्ध चिसिँदै गएपछि सुरक्षा कारण देखाउँदै बङ्गलादेशले भारतमा खेल्न अस्वीकार ग¥यो । त्यसपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बङ्गलादेशको स्थानमा स्कटल्यान्डलाई विश्वकपमा समावेश गरायो । पाकिस्तानले पनि भारतसँग नखेल्ने निर्णय गरेको छ । पाकिस्तानको बहिष्कारका कारण प्रसारणकर्तालाई करोडौँ डलरबराबरको आर्थिक नोक्सानी हुने र दुवै देशका समर्थक निराश हुने पक्का छ । यसै गरी भारतमा निपाह भाइरस प्रकोपपछि विश्वकपमा सहभागी खेलाडी स्वास्थ्यलाई लिएर सशङ्कित बनेका छन् ।








प्रतिक्रिया दिनुहोस्