काठमाडौं, : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै तिखो व्यंग्य प्रहार गरेका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनलाई ‘देश जलाउने’ र ‘देश बनाउने’ दुई ध्रुवबीचको लडाइँ बताउँदै ओलीले बालेनलाई ‘बतासे अण्डा’ र ‘बतासको खेती’ गर्ने व्यक्तिको संज्ञा दिए। यो टिप्पणीले झापा क्षेत्र नम्बर ५ मा ओली–बालेनबीचको प्रत्यक्ष टक्करलाई थप रोचक र तातो बनाएको छ।
शनिबार काठमाडौंको चाबहिलमा ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, “आगामी निर्वाचनमा देश जलाउने कि बनाउने भन्ने प्रतिस्पर्धा छ। हामी देश बनाउने कित्तामा छौं। १६५ मध्ये एउटा ठाउँमा पनि देश हार्न हुँदैन।”
उनले आफ्नो परम्परागत गढ झापा–५ मा बालेनको प्रवेशलाई कटाक्ष गर्दै थपे, “मेरै ठाउँमा पनि ठुटे सिङ लिएर सिंगौरी खेल्न पुगेका छन्।” बालेनको नाम नलिई उनले व्यंग्यपूर्ण रूपमा भने, “अण्डा दुई प्रकारका हुन्छन्– एउटा बतासे, एउटा साँच्चैको। बतासे अण्डाबाट चल्ला निस्किँदैन। यी बतासका खेती गरिरहेका छन्। संगठन छैन, उद्देश्य छैन, विचार छैन। भोलि उठेर कहाँ जाने थाहा छैन। फर्किने हो कि होइन, त्यो पनि थाहा छैन।”

ओलीले थप चर्को स्वरमा भने, “पुल्ठो झोस्न, आगो बाल्न, देश बिगार्न, भड्काउन, तोडफोड गर्न, लुटपाट गर्न, आगजनी गर्न जान्नेहरूले यस्ता कुरालाई क्रान्ति भनेर महिमामण्डन गर्छन्। यस्ता आकाशे खेती हुन्। धर्तीमा जनतासँग पुगेका छैनन्। कहाँबाट कसले खेलाएका हुन् थाहा छैन। एउटा मोबाइल भाँडोबाट होडलो मच्चाएका छन्।”
उनले आफ्नो पक्षलाई बलियो देखाउँदै भने, “हामी मोबाइल प्रयोग गर्छौं तर देश र जनताको हितमा काम गर्छौं। देश समृद्ध, सुरक्षित र जनता सुखी बनाउँछौं। हामी बिचलित हुँदैनौं।”
अध्यक्ष ओलीले ओखलढुंगामा एमालेको जित सुनिश्चित रहेको दाबी गर्दै टिकट नपाएको झोकमा पार्टी परित्याग गर्नेहरूले आफ्नो वास्तविक चरित्र देखाएको बताए।
ओलीले पार्टी छोड्नेहरूलाई एमालेको विचार र संगठनभन्दा पनि व्यक्तिगत पद चाहिएको रहेछ भन्ने पुष्टि भएको जिकिर गरे।
‘उनीहरूलाई पार्टी चाहिएको रहेनछ, व्यक्ति चाहिएको रहेछ,’ ओलीले थपे, ‘अहिले त केही दिएर पार्टीमा टिकाउनुहुन्थ्यो होला, अर्का पल्ट नदिएका बेला उही हो। अलिक माथि पुर्याउनुस्, अलिक बलियो बनाउनुस्, अलिक प्रभावशाली बनाउनुस्, नपाउने बित्तिकै फेरि पार्टी छोड्दिन्छन्।’
विद्रोही उम्मेदवार र पार्टी छोड्नेहरू यसपटक टिकट नदिनु नै सही निर्णय भएको उनको तर्क गरे।
‘कस्तो चिनिएछ भने यसपल्ट, चिनेरै नदिएको ठीकै भएछ। यसपल्ट दिएको भए झन् भड्खालो हुन्थ्यो, हामी सबैले बोकेर हिँड्थ्यौँ,’ उनले भने, ‘अर्को पल्ट पाइन्न भनेपछि फेरि छोड्थे। पार्टीलाई त झन् ठुलो धोका हुन्थ्यो।’
कार्यक्रममा बोल्दै ओलीले ओखलढुंगाबाट प्रदेश सभाका लागि उम्मेदवार बनेकी युवा नेत्री अस्मिता थापा र अन्य उम्मेदवारहरूलाई विजयको शुभकामना दिए। उनले पुराना अनुहारले मात्र सधैं अवसर पाउनुपर्छ भन्ने नरहेको भन्दै युवाहरूलाई अगाडि बढाइएको बताए।
अध्यक्ष ओलीले एमालेको उद्देश्य र गन्तव्य सही रहेको भन्दै स्वार्थ पूरा नहुँदैमा पार्टी गलत नहुने बताए।
उनले ओखलढुंगामा एमालेको जित सुनिश्चित रहेको भन्दै सम्पूर्ण कार्यकर्तालाई उच्च मनोबलका साथ सक्रिय रहन निर्देशन समेत दिए।
जेनजी आन्दोलनमा पनि ओलीको सफाइ
सोही दिन ओलीले जेनजी आन्दोलन (भदौ २३–२४ गते भएको युवा विद्रोह) बारे भिडियो सन्देश जारी गरे। उनले आन्दोलनमा गोली चलाउने आदेश आफूले नदिएको स्पष्ट पारेका छन्। आफू र एमालेविरुद्ध फैलाइएको भ्रममा नपर्न सबैलाई आग्रह गर्दै उनले भने, “भ्रममा नपर्नुहोस्। यो उपद्रव थियो, क्रान्ति होइन।”
झापा–५: राजनीतिक ‘हट सिट’ बन्दै
ओलीले २०४८ सालदेखि जित्दै आएको झापा–५ मा बालेनको उम्मेदवारीले चुनावी माहोल निकै तातेको छ। ओलीले आफूलाई ‘देश बनाउने’ शक्तिको प्रतिनिधि ठहर्याउँदा बालेनले युवा, वैकल्पिक राजनीति र सामाजिक सञ्जालको शक्तिलाई आधार बनाएका छन्। यो क्षेत्र अब पुरानो पुस्ता र नयाँ पुस्ताको सीधा टक्करको केन्द्र बनेको छ।
ओलीको यो टिप्पणीले निर्वाचन अभियानलाई थप व्यक्तिगत र भावनात्मक बनाएको छ। बालेन पक्षबाट जवाफ आउने क्रम जारी छ, जसले मतदातालाई झन् विभाजित पार्ने देखिन्छ। झापा–५ को नतिजाले नेपालको आगामी राजनीतिक दिशा निर्धारण गर्न सक्छ – यो लडाइँ अब केवल सीटको होइन, विचार र पुस्ताको हो।








प्रतिक्रिया दिनुहोस्