काठमाडौं, १८ माघ । दुई दिने नेपाल भ्रमणमा बिहीबार अपरान्ह नेपाल आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भनिन, ‘म कुनै एजेण्डा विना आएकी हुँ ।’
भारतीय राजदूतावासको अफिसियल ट्वीटर ह्याण्डलमा राखिएको सुष्माको यो भनाइ भित्रै उनको भ्रमणको खास रहस्य लुकेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रुपमा नेपाल आएकी सुष्माको पहिलो भेटघाट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हुँदैछ । ओलीसँग ‘वान टु वान’ हुने छलफल नै स्वराजको मुख्य मिशन हो ।
आगामी केही दिनभित्रै दुई तिहाई बहुमत नजिकको सरकार बनाउँदै गरेका अध्यक्ष ओलीसँग सम्बन्ध सुधार गर्ने एक मात्र एजेण्डा स्वराजको रहेको प्रष्टै छ । भलै उनले कुनै एजेण्डा छैन भनेर बोले पनि । संविधान घोषणाको समयदेखि बिग्रिएको अध्यक्ष ओलीसँगको भारतीय सम्बन्ध नाकावन्दीताका झनै बिग्रिएको थियो । प्रधानमन्त्री बनेको बेलामा सम्बन्ध सुधारका सामान्य प्रयास भए पनि उत्साहपूर्ण नदेखेको भारत उत्तरी छिमेकी चीनसँग नेपालले एकपछि अर्को सहमति र समझदारीहरु हुन थालेपछि चिन्तित बनेको थियो । पुरानै तरिकाले नेपालसँग डिल गर्दा आफ्नो सामरिक स्वार्थमै धक्का पुग्ने विश्लेषणका साथ भारत स्वयंले विश्लेषण गर्ने गरेको ‘चीनसँग नजिकको वामपन्थी शक्ति’सँग सम्बन्ध स्थापित गरी आफु अनुकल बनाउने रणनीतिमा लागेको छ ।
केपी ओली नेतृत्वको सरकार र प्रचण्ड नेतृत्वको सरकारले चीनसँग लगातार चिनिया लगानी भित्र्याउने गरी भएका सहमति र समझदारीका कारण कतै नेपाल आफ्नो सुरक्षा छाताबाट बाहिरिन्छ भन्ने चिन्ता नै भारतको मुख्य चिन्ता हो । सुष्मा स्वराजले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यही चिन्ता र चासो व्यक्त गर्नेछिन् कुटनीतिक चातुर्यताका साथ ।
स्वराजले वाम गठबन्धनका अर्का मुख्य नेता माओवादी केन्द्र अध्यक्ष प्रचण्डसँग भेटघाट गर्नेछिन् शुक्रबार बिहान ९ः ३० बजे । प्रचण्डसँगको भेटमा पनि स्वराजको यौटै चासो रहनेछ ओलीसँगको जस्तै । स्वराजले मधेशकेन्द्रित दलका नेताहरुसँग गर्ने भेटघाट र प्रधानमन्त्री एवं राष्ट्रपतिसँगको भेटघाट भने यसपटकका लागि औपचारिकता मात्र हुने प्रष्ट छ ।
सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेवित्तिकै छिमेक प्रथमको अवधारणा सार्वजनिक गरेका थिए । तर मोदीको त्यो नीति प्रभावकारी बन्न सकेन बरु, एकपछि अर्को डिस्ट्रोय हुँदै गयो । अहिले, भारतले सो मोदी नीतिलाई केही परिमार्जन गर्दै छिमेकीसँग राजनीतिक सम्बन्ध स्थापित गर्दै छिमेकीले आफ्नो विदेश नीतिमा ‘भारत प्रथम’ भनुन भन्ने चाहेको छ । मोदी दूत स्वराजले यही उद्देश्यका साथ नेपाली नेताहरुसँग भेटघाट गर्दैछिन् पुरै तयारीका साथ । कुटनीतिक मामिलामा विशेष दख्खल राख्ने स्वराजले नेपालका नेताहरुबाट कतिसम्म ‘एसोरेन्स’ प्राप्त गर्लिन, त्यसको प्रभावकारिता देख्न भने केही दिनमात्र कुर्नुपर्ला ।
प्रतिक्रिया दिनुहोस्