ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समर्थकको आँखामा ‘ढाका’ को पट्टी , रवि लामिछानेको आग्रहमा सर्वसम्मत छानिएका ढाका यस्तो विगत


एबीसी न्यूज

काठमाडौं, २७ चैत्र ।  राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक वृत्तमा नामै नसुनिएको उम्मेदवारलाई अघि सारेकाले मतदातामा केही आकर्षण पनि देखियो । किनकि पुराना उम्मेदवारका नकारात्मक पक्ष धेरै उजागर भएकाले नयाँ उम्मेदवारलाई सजिलो पनि भयो । तर, डा. ढाकाकुमार श्रेष्ठ पनि छन्, जसको विगत निक्कै विवादित छ ।

मंसिर ४ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा श्रेष्ठको नाम पनि परेपछि पोखरामा सोधीखोजी सुरु भएको थियो । मेडिकल डाक्टरका रूपमा उनको विवादास्पद विगत थाहा पाएकाहरू भने उनको राजनीतिक उपलब्धिले आश्चर्यमा पनि परेका थिए ।

०७४ साउन १० गते कास्कीका प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन समितिले पोखराको पृथ्वीचोकमा रहेको शुभ बिहानी पोलिक्लिनिकमा छापा मार्‍यो । किनकि पोलिक्लिनिक अवैध रूपमा सञ्चालनमा रहेको थियो, त्यसैले तत्कालै सिल गरियो । औषधि पसल सञ्चालनको अनुमति लिएर गैरकानुनी रूपमा अस्पताल नै चलाउने अरू कोही होइन, यिनै श्रेष्ठ थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा इमर्जेन्सी वार्ड इन्चार्ज रहेका बेला उनले पोखरा बसपार्कअघि आफूखुसी पोलिक्लिनिक चलाएका थिए । अनुगमन समितिमा रहेका तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रयोगशाला प्राविधिक अधिकृत रवीन्द्र बस्ताकोटीका अनुसार श्रेष्ठले अनुमतिबिना बहिरंग सेवा, प्रयोगशाला, एक्सरे मात्र होइन, १५ शय्याको अस्पताल नै चलाएका थिए ।

उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाका अनुसार गैरकानुनी पोलिक्लिनिकले असुरक्षित गर्भपतन गरेको समेत भेटिएको थियो । ‘तल्लो तलामा औषधि पसल थियो, वरपर साह्रै कडा गन्ध आएपछि खोज्दै जाँदा गर्भवती महिलाहरू देखिए,’ उनले भने, ‘गर्भपतन गराउन आएको थाहा पाएपछि पोलिक्लिनिक खाली गरायौं ।’ सरकारी अस्पतालमा कार्यरत डाक्टरले निजी औषधि पसलको अनुमति लिएर अस्पताल नै चलाउँदा सर्वसाधारण बिरामीको स्वास्थ्यमाथि खेलबाड भएको उनको भनाइ छ ।

श्रेष्ठ स्वास्थ्यमा मात्र सीमित थिएनन्, उनी सहकारीको विवादमा पनि मुछिए । पोखराको रत्नचोकमा उनले स्थापना गरेको साथी किसान सहकारीका बचतकर्ताको पैसा डुबेको छ । उनले आफू अध्यक्ष हुँदाको हिसाब बुझबुझारथ नगरी बिदा भए, नयाँ नेतृत्वले जिम्मा लिन नमान्दा सहकारी बन्द छ भने बचतकर्ताको बिचल्ली छ ।

स्वतन्त्र पार्टीमा जानुअघि श्रेष्ठ राजनीतिमा सक्रिय थिएनन् । बरु समाजसेवाका नाममा ‘हाम्रो परिवर्तन नेपाल’ नामक संस्था खोलेका थिए, तर त्यहाँ पनि उनले गडबड गरेका थिए । संस्थाले श्रेष्ठको जन्मथलो पोखरा–२४ कास्कीकोटमा खानेपानी बोरिङका लागि ०७४ मा रकम संकलन गरेको थियो । एक सय बढी स्थानीय उपस्थित भएर रकम दिए पनि कति रकम जम्मा भयो भन्ने जानकारी श्रेष्ठले कसैलाई पनि दिएनन् ।
उपभोक्ता समितिका अध्यक्ष हर्क नेपालीका अनुसार निर्माण कम्पनीलाई सुरुमा १० लाख रुपैयाँ दिइएको थियो, अपुग रकम तिर्न भन्दै उपभोक्ता समितिलाई ताकेता छ । ‘बनाउँदा कति खर्च लाग्यो, ढाका श्रेष्ठको टोलीले कति उठायो थाहा नै छैन,’ उनले भने ।

पछिल्लो घटना सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायीसँग स्वास्थ्यमन्त्री बन्न पार्टीलाई बुझाउनुपर्ने भन्दै झापास्थित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलसँग २ करोड रुपैयाँ मागे । आफ्नो मोबाइलमा फोन गरेर ‘मन्त्री बनेपछि सहयोगी गर्ने’ भन्दै रकम मागेको प्रसाईंको दाबी छ ।

पार्टी सभापति रवि लामिछानेले सार्वजनिक भएको अडियोबारे अनुसन्धान गरेर ७२ घन्टाभित्र प्रतिवेदन बुझाउन केन्द्रीय अनुशासन समितिलाई निर्देशन दिएको बताएका छन् ।
बाराको गढिमाईमा आयोजित सभालाई सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछानेले उठेको प्रश्नको निराकरण हुने बताउँदै ७२ घन्टाभित्र छानबिन सकिने जनाएका छन् । ‘देशका भ्रष्टाचारका काण्डहरु ७२ वर्षदेखि अल्झिएका होलान्, मलाई मतलब छैन’, उनले भनेका छन्, ‘तर, हाम्रो पार्टीभित्र प्रश्न उठेपछि प्रश्नको निराकरण हुन्छ, ७२ घन्टाभित्र छानबिन सकिन्छ ।’

रास्वपाको अनुशासन समितिले पनि सांसद श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण साधेको छ । अडियो सार्वजनिक भएपछि श्रेष्ठमाथि छानबिन त सुरु भएको छ, तर यो प्रकरणले भ्रष्टाचारको विरोध गर्दै उदाएको पार्टीको प्रतिष्ठामा समेत उपचुनावको मुखमा आँच ल्याएको पार्टीका नेताहरुले बताएका छन् ।

सार्वजनिक अडियो सम्वादमा सांसद ढकालले मन्त्री बन्न रविको कोर टिमलाई पैसा बुझाउनुपर्ने बताएका छन् । उनले कसैको नाम भने लिएका छैनन् । रास्वपा सभापति लामिछानेले पनि अडियोमा आफ्ना वरपरका मान्छेले रकम मागेको भनिएको भन्दै भनेका छन्, ‘तिनलाई तपाईंका आँगनमा सडकमा घिसारेर ल्याउन सकिन छु भने तपाईंले भनेको कारबाही भोग्न तयार छु ।’

रास्वपाका एक केन्द्रीय सदस्यले चाहिँ सभापतिको ‘कोर टिम’ भनेको को को हुन् भन्ने विषयबारे पनि छानबिन हुनुपर्ने बताए । ‘आफ्ना अर्काको नभनी निर्मम छानबिन हुनुपर्छ । श्रेष्ठको मात्र होइन, कोर टिमबारे पनि अनुसन्धान हुनुपर्छ’, उनले भने ।

सांसद श्रेष्ठले ‘हाम्रो परिवर्तन नेपाल’ लाई गत स्थानीय चुनावमा दलमा परिणत गर्ने कसरत गरेका थिए । तर संस्थाका आधाभन्दा धेरै व्यक्ति लौरो अभियानमा प्रवेश गरेपछि उनको योजना असफल भयो । स्थानीय चुनावपछि असार ७ मा रास्वपा गठन भयो । उनी रवि लामिछानेको सम्पर्कमा पुगे । रास्वपा गण्डकीका एक नेताका अनुसार श्रेष्ठले काठमाडौं पुगेर पहिलो भेटमै लामिछानेलाई प्रभावित बनाएका थिए । श्रेष्ठकै अगुवाइमा साउन ७ मा रास्वपाको गण्डकी प्रदेश भेला भयो ।

भेलामा १६ जना प्रदेश सभापतिको आकांक्षी थिए । ‘पार्टी सभापति नै उपस्थित भएर उहाँ (श्रेष्ठ) लाई प्रदेश सभापति बनाउने इच्छा व्यक्त गर्नुभयो,’ ती नेताले भने, ‘उहाँले सहमति गरेर जाने भनिसकेपछि अरूले नाइँनास्ति गरेनन् । यसरी श्रेष्ठ रास्वपाको गण्डकी प्रदेश सभापति चुनिएका हुन् ।’ पारिवारिक राजनीतिक पृष्ठभूमि कांग्रेस भए पनि उनी रास्वपाअघि कुनै दलमा आबद्ध थिएनन् । तर चार वर्षअघि माओवादीनिकट अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ, गण्डकी प्रदेशअन्तर्गत चिकित्सक उपसमितिको सचिव भएर काम गरेका थिए । पोखरामा अहेव र हेल्थ असिस्टेन्ट पढेर चीनमा गई एमबीबीएस सकेर फर्केपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा करारमा जागिर सुरु गरेका थिए । रास्वपाको समानुपातिक सूचीका लागि देशभरबाट डिजिटल भोटिङ हुँदा उनी पहिलो नम्बरमा आएका थिए । रास्वपाले उनलाई जनजातितर्फबाट सांसद बनाएको हो । रास्वपाको गण्डकी प्रदेश सभापतिमा १५ जना प्रतिस्पर्धी भए पनि रवि लामिछानेको आग्रहमा सर्वसम्मत छानिएका थिए ढाकाकुमार श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com