पोखरा, ६ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियारलाई तत्कालिन शाही आयोग जस्तै बनाउन खोजेको आरोप लगाउनुभएको छ ।
तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा शाही आयोग गठन भएको थियो । राजा ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिएपछि भ्रष्टाचारमा मुछिएका सार्वजनिक व्यक्तिहरूमाथि छानविन गर्न भन्दै शाही आयोग गठन गर्नुभएको थियो । सरकारले संवैधानिक परिषद्लाई कठपुतली बनाउन खोजेको देउवाको आरोप रहेको छ । आज पोखरामा आयोजित कार्यक्रममा सभापति देउवाले सबै स्थानमा आफ्ना मान्छेहरु भर्ती गरेर सरकार अघि बढेको आरोप समेत लगाउनुभो ।
‘संवैधानिक परिषद्लाई कठपुतली बनाएको छ, सबै ठाउँमा आफ्ना मान्छेहरु नियुक्ति गरेको छ’ देउवाले भन्नुभयो ,‘अख्तियारलाई पनि शाही आयोग बनाउँदैछ ।’ उहाले न्यायालयमा समेत सरकारले हस्तक्षेप गरेको आरोप लगाउदै सरकारका गलत कामलाई ठिक गर्ने स्थान न्यायालय भएपनि त्यहाँ पनि हस्तक्षेप भएको उहाँको भनाइ थियो । सरकारका गलत काम र क्रियाकलापलाई आफूहरुले हेरिरहेको भन्दै देउवाले त्यसका विरुद्ध सडक र संसदमा लड्ने समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्