ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘प्रधानमन्त्रीको गतिमा जोड दिन मन्त्रिपरिषद् पुनर्गठन’


admin

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गर्नुभएको मन्त्रिपरिषद्मा केही नयाँ र अधिकांश पुराना अनुहारका मन्त्री पर्नुभएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम बुधबार राति केही मन्त्रीलाई हटाउँदै छैटाँै मन्त्रिमण्डलको पुनर्गठन गर्नुभएको हो ।

विसं २०७५ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओलीले त्यसपछि पटक–पटक मन्त्रिपरिषद् पुनर्गठन र हेरफेर गर्नुभएको हो । उहाँले विसं २०७५ को फागुन १५ र चैत ३ तथा २०७६ सालको जेठ १८, साउन १५, साउन १८ र मङ्सिर ४ गते मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको थियो ।

अहिले गरिएको पुनर्गठित मन्त्रिपरिषद्मा छ जना नयाँ मन्त्री र तीन राज्यमन्त्रीलाई नयाँ जिम्मेवारी तोकिएको छ भने उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको एकापसमा विभागीय मन्त्रालय हेरफेर गरिएको छ । यादवले कानून र ढकालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हाल्नुहुनेछ ।नयाँ मन्त्रीमा पुराना अनुहारका घनश्याम भुसाल, लेखराज भट्ट, हृदयेश त्रिपाठी र रामेश्वरराय यादव रहनुभएको छ । भुसाल कृषि तथा पशुपक्षी विकासमन्त्री, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, त्रिपाठी सङ्घीय मामिला तथा सामान्य प्रशासन र राय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नुभएको छ ।

पुनर्गठित मन्त्रिपरिषद्मा पहिलो पटक वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङले मन्त्रीको जिम्मेवारी पाउनुभएको छ । नेम्वाङ भौतिक पूर्वधार तथा यातायातमन्त्री र गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बन्नुभएको छ । राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएका मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर नयाँ अनुहारका हुनुहुन्छ । पाँचथरबाट निर्वाचित हुनुभएका नेम्वाङ तीन पटक प्रतिनिधिसभामा निर्वाचित भइसक्नुभएको छ । यस्तै २०७४ सालको निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजय हुनुभएका गुरुङ दोलखाबाट निर्वाचित हुनुभएको हो ।

यसैगरी कृषिमन्त्री बन्नुभएका युवा नेता भुसाल पार्टीभित्र प्रखर बौद्धिक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । माक्र्सवादी दर्शनशास्त्रीका रूपमा परिचित भुसाल सरकारलाई आलोचनात्मक सुझाव दिने नेताका रूपमा समेत चिनिनुहुन्छ । यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको मन्त्रिमण्डलमा बिना विभागीयमन्त्री बन्नुभएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य भुसाल रुपन्देही–३ बाट निर्वाचित हुनुभएको हो । भुसाल २०५१ सालको उपनिर्वाचनमा समेत प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।

नयाँ मन्त्रिमण्डलमा उद्योगमन्त्री बन्नुभएका भट्ट तेस्रो पटक मन्त्री हुनुभएको छ । नेकपाको सूदूरपश्चिम प्रदेशको सहइञ्चार्जसमेत हुनुभएका भट्ट कैलाली–५ बाट निर्वाचित हुनुभएको छ । यसअघि उहाँ श्रम तथा यातायात र आपूर्तिमन्त्री भइसक्नुभएको छ । भट्ट २०६४ सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित हुनुभएको हो । नवनियुक्त मन्त्री त्रिपाठीले नेकपाको चुनाव चिह्न सूर्यबाट नवलपरासी–५ बाट निर्वाचनमा विजयी हासिल गर्नुभएको थियो । पटक–पटक मन्त्री र तत्कालीन लेखासमितिको सभापतिको जिम्मेवारी त्रिपाठीले निर्वाह गरिसक्नुभएको छ ।

तत्कालीन माओवादी केन्द्रबाट सर्लाही–३ बाट विजय हासिल गर्नुभएका राय पनि यसअघि वन तथा वातावरणमन्त्री भइसक्नुभएको छ । उहाँ सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै गत २०७४ सालमा तत्कालीन नेकपा माओवादी–केन्द्रमा प्रवेश गरी निर्वाचन जित्नुभएको हो । फोरमका वरिष्ठ उपाध्यक्ष हुनुभएका उहाँ विजयकुमार गच्छदार नेपाली काँग्रेसमा प्रवेश गरे पनि माओवादीमा प्रवेश गर्नुभएको हो ।

त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्र विभागका प्रमुख प्रा डा रामकृष्ण तिवारीले मन्त्रीहरुको कार्यसम्पादन राम्रो नभएर नै मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको बताउनुभयो । “अहिलेको दुई तिहाइको सरकार भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्धितर्फ लैजाने प्रयत्न गर्नुभएको छ”, उहाँले भन्नुभयो, “तर प्रधानमन्त्रीको गतिमा केही मन्त्रीले काम गर्न सकेनन् । त्यसैले आफूसँग काम गर्ने खालका मान्छे ल्याउनका लागि मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।”

उहाँले अन्य मुलुकमा पनि प्रधानमन्त्री र राष्ट्रपतिले आफ्नो समूहमा काम गर्न नसक्ने मन्त्रीलाई हटाउने गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पनि काम गर्न नसक्ने मन्त्रीलाई हटाउनुभएको बताउनुभयो । राजनीतिक स्थायित्व भएकाले मुलुकलाई विकास निर्माणमा लैजानका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको उहाँको भनाइ थियो । पुनर्गठित मन्त्रिमण्डलको राज्यमन्त्रीमा सबै नयाँ अनुहारका हुनुुहुन्छ । मानन्धर काठमाडौँ–७ बाट निर्वाचित हुनुभएको हो । उद्योग व्यवसायी दुगड समानुपातिकबाट सांसद हुनुभएको हो । यस्तै स्वास्थ्य राज्यमन्त्री रावत सुर्खेत–२ बाट निर्वाचित हुनुभएको हो ।

प्रधानमन्त्री ओलीले जिम्मेबारीबाट मुक्त गर्नुभएका मन्त्रीहरूमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव हुनुहुन्छ । त्यसैगरी प्रधानमन्त्रीले राज्यमन्त्री धनबहादुर बुढा, रामकुमारी चौधरी र सुरेन्द्रकुमार यादव पनि जिम्मेवारीबाट मुक्त गर्नुभएको हो । केही दिन अघिदेखि सञ्चारमाध्यममा मन्त्रिमण्डल पुनर्गठन हुने समाचार बाहिर आइरहेका थिए । बुधबार नेकपाको बसेको सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएपछि साँझ पुनर्गठन गरिएको हो ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिमा नै मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । यसअघि प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयमा पनि पुनर्गठन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com