बाँके,३ मंसिर । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले स्थानीय रुटमा बस सेवा सुरु गरेको छ । ५ नम्बर प्रदेशमा नै पहिलोपटक नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नै बस सञ्चालन गरेको हो । डेढ महिना अगाडिबाट उपमहानगरपालिकाले सञ्चालनमा ल्याएका बसहरुले स्थानीय रुटहरुमा सेवा प्रदान गरिरहेका छन् ।
पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिकाले सात वटा ठुला बसहरु सञ्चालनमा ल्याएको छ । अहिले यी बसहरु कोहलपुर–जमुनाहा नाका र नेपालगञ्ज–सितापुर सडक खण्डमा सञ्चालन भइरहेका छन् । भविष्यमा उपमहानगरपालिकाले यी बसमार्फत नै शहरलाई गाउँसम्म जोड्ने लक्ष्य राखेको छ । यातायात व्यवसायीहरुले बस सेवा सञ्चालन नगरेका स्थानीय सडकहरुमा बस सञ्चालन गर्नेगरी उपमहानगरपालिकाले बस खरिद गरेको हो । अहिले रुट परमिट नपाउँदा सबै सडकमा उपमहानगरपालिकाले बस सञ्चालन गर्न सकेको छैन । लक्षित वर्गका लागि केन्द्र सरकारबाट आएको पैसाले बस खरिद गरिएको हो । गत आर्थिक वर्षको अन्तिममा आएको पैसा खर्च नभएर फिर्ता जाने देखेपछि उपमहानगरपालिकाले तीन करोड ४५ लाख ५० हजार ७ सयमा रुपैयाँमा सात वटा बस खरिद गरेको थियो । सात वटै बसमा महिला सहचालकहरु रहेका छन् ।
निकट भविष्यमा नै चालकहरु समेत महिला नै राख्ने उपमहानगरले जनाएको छ । महानगरपालिका घोषणामा समेत बस सञ्चालनले केही भएपनि सहयोग पु¥याउने नगर प्रमुख डाक्टर धवल शमशेर राणा बताउँछन् । बसको आम्दानी लक्षित वर्गको उत्थानका लागि खर्च गर्नको लागि नगर साझेदारी शीर्षकमा राख्ने निर्णय भएको उनले बताए ।नगर बसलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि कार्यविधि समेत बनाइएको छ । काठमाडौंको साझा बस जसरी नै ठूला नगर बस सञ्चालन भइरहेका छन् । एकजना यात्रु भएपनि बस गन्तव्यसम्म पुग्ने गरेका छन् । अहिले स्थानीय रुटमा सञ्चालमा रहेका बस भन्दा उपमहानगरपालिको सञ्चालन गरेका बसहरु धेरै क्षमता र ठुला रहेका छन् । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उपमहानगरपालिको ल्याएका सिटी बसलाई प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए । नीजी क्षेत्रबाट सञ्चालनमा रहेका यातायातका साधनहरु कम नाफा हुने क्षेत्रमा नजाने भएकाले यात्रुहरुले दुःख पाइरहेको भन्दै मुख्यमन्त्री पोखरेलले सिटी बस सञ्चालनले केही भएपनी यात्रुहरु सुविधा दिने दाबी गरे ।
केही समयमा नै रुट परमिट पाए उपमहानगरपालिकाले डुडुवाको कम्दी, बेतहनी, गौघाट लगायतका सडकमा पनी बस सञ्चालन गर्ने जनाएको छ । महानगरको अभियानमा लम्केको नेपालगञ्जलाई गाउँ–शहर जोड्ने यस प्रयासले कस्तो नतिजा देला त्यो हेर्न केही समय कुर्नेपर्छ ।
प्रतिक्रिया दिनुहोस्