काठमाडौं, १६ कात्तिक । जुवा खेलिरहेका बेला शुक्रबार बेलुकी काठमाडौंको टोखाबाट पक्राउ परेका प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी नेपाली सेनाका मेजर राजेन्द्र शाहीलाई प्रहरीले नेपाली सेनालाई बुझाएको छ ।
मेजर शाहीलाई थप कारबाहीका लागि सैनिक प्रहरीको जिम्मा लगाइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । कर्तव्य ज्यान, लागू औषधलगायत केही गम्भीर किसिमका अपराधबाहेक अरु अभियोग लागेका सैनिकलाई सेनाले नै छानबिन र कारबाही गर्ने कानुनी व्यवस्था भएकाले शाहीलाई सैनिक प्रहरीको जिम्मा लगाइएको र अरुलाई भने हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।
प्रहरीले टोखा नगरपालिका १० मा सोमबहादुर दर्लामी मगरको घरमा जुवा खेलिरहेका बेला मेजर शाहीसहित घरधनी मगर, जीत गुरुङ, निराजन राणा, बुद्धिलाल मगर, किरणजंग शाह, धर्मराज शाह र काजी गुरुङलाई पक्राउ गरेको थियो ।प्रहरीले उनीहरुको साथबाट एक लाख ५९ हजार तीन सय रुपैयाँ र ४ बुक तास पनि बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्