काठमाडौं, १४ कार्तिक । शनिबार राति जुवा खेल्दै गरेको अवस्थामा महाराजगञ्जमा पक्राउ परेका २५ जना भिआइपी जुवाडेलाई सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
जुवाडेविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले महानगरीय प्रहरी वृत्त, महाराजगञ्जलाई अनुमति दिएको हो । गएको शनिबार जुवा खेल्दै गरेको समयमा पक्राउ परेका २५ मध्ये ६ जनाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । बुधबार धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरिदिएको थियो ।
आफूहरुले गैरकानुनी थुनामा राखिएको दाबी गदै बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चमा दायर गरेपछि उक्त रिटको सुनुवाई गर्न उनीहरुलाई बुधबार अदालत उपस्थित गराइएको थियो।
तिहारमा थुनामा बस्नुपर्ने भएपछि सर्वोच्च क्यासिनोका खेलाडी बलराम सापकोटा ‘बले’, ठेकेदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेष्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ती लामाले सर्वोच्च गुहारेका थिए। उनीहरु गत शनिबार राति महाराजगञ्जबाट पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले २ करोड ६७ लाख नगद, ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्