काठमाडौँ, १३ कात्तिक । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेससँगको आफ्नो प्रेम निरन्तर कायम रहेको बताउनुभएको छ । पार्टीको महोत्तरी, पिपरा कार्यसमितिले उपचुनावलाई लक्षित गरी बुधबार आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।
दोस्रो संविधानसभा निर्वाचनमा सिरहाबाट उम्मेदवारी दिनुभएका प्रचण्डले चुनावी कार्यक्रममै पहिलोपटक मधेससँग ‘प्रेम’ भएको वक्तव्य सार्वजनिक गर्नुभएको थियो । पछिल्लो चुनावमा सोही भनाइ दोहोर्याउँदै मधेस दौडाहा गरेका उहाँले उपचुनावको प्रचारप्रसार क्रममा बुधबार महोत्तरीमा आज , “मधेससँग परेको लभ निरन्तर कायम रहेको प्रतिबद्धता पुनः दोहोर्याउन चाहन्छु ।” उहाँले भन्नुभयो । मधेसलाई भ्रष्टाचारमुक्त बनाउन, समृद्धिको बाटोमा डोर्याउन र संविधान संशोधनको लागि नेकपा उमेदवारलाई मतदान गर्नुपर्ने अध्यक्ष प्रचण्डले बताउनुभयो ।
“पिपरा गाउँपालिकामा हुने उपचुनावमा नेकपाका उम्मेदवारलाई जिताउनुस् अनि हेर्नुस् विकासको गति” उहाँलेभन्नुभयो । मधेसीकै मतले निर्वाचित भएपछि दोस्रोपटक प्रधानमन्त्री बन्ने मौका प्राप्त भएको उल्लेख गर्दै उहाँले मधेस भ्रष्टाचार विरुद्ध रहेको र मधेसको साथमा नेकपा रहेको जिकिर गर्दै उपेन्द्र यादवसित आफू र प्रधानमन्त्री केपी ओलीले संयुक्त रुपमा हस्ताक्षर गरी संविधान संशोधनको लागि प्रतिबद्धता जाहेर गरेको स्मरण गर्नुभयो ।
चार वर्ष देखि निर्माण भइरहे पनि अधुरै रहेको जनकपुर–जलेश्वर सडक खण्ड निर्माण कार्यमा गति बढाउन विभागीय मन्त्रीसँग उहाँले माग गनुभयो । उहाँले भन्नुभयो “अब पनि कुनै बहानामा ढिलाइ भयो भने म पार्टी अध्यक्षकै हैसियतले पनि जनतासँग आन्दोलनमा उत्रिन्छु ।”
प्रतिक्रिया दिनुहोस्