ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रहरीका चार विधामा अब्ल कुकुर, हाल सम्म नेपाल प्रहरीका कुकुरले प्राप्त गरेका सफलाहरु


एबीसी / संवाददाता

काठमाडौं, १० कात्तिक  । यमपञ्चकको दोस्रो दिन कुकुर तिहार मनाइएकाे छ । सोही अवसरमा नेपाल प्रहरीको केन्द्रीय प्रहरी कुकुर तालिम विद्यालय महाराजगञ्जमा समेत नेपाल प्रहरीमा सेवारत कुकुरहरुको पूजा गरियो ।

नेपाल प्रहरीमा अपराध अनुसन्धान, विमानस्थल, विशिष्ट व्यक्तिहरुको सुरक्षा लगायतका क्षेत्रहरुमा कुकुरको प्रयोग हुँदै आएको छ ।

कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेला पूर्वसूचनासमेत दिने कुकुरलाई पौराणिक कथन अनुसार भैरवको वाहन पनि भनिन्छ । कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास समेत छ ।

यस्तै, सत्यवादी युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।

नेपाल प्रहरीमा विक्रम संवत २०२६ सालबाट कुकुरुको प्रयोग प्रारम्भ भएको हो । प्रारम्भका दिनमा प्रहरीका केही प्रहरी कर्मचारीहरुलाई मलेसिया पठाई प्रशिक्षण प्रदान गरी सोही मुलुकबाट चार वटा तालिम प्राप्त कुकुरहरु ल्याएर यो सेवाको  शुरुवात भएको बताइन्छ ।

कतिपय घटनामा मान्छेले पत्ता लगाएका अपराधीमा आशंका गर्ने गरे पनि कुकुरले पत्ता लगाएका अपराधी सही हुन् भन्ने विश्वास गर्न थालिएको छ र त्यो सत्य सावित भएको छ । यो कुकुरमा भएको अद्भुत क्षमताका कारण नै हो ।

विश्वभर लगभग २०० प्रजातिका कुकुर छन् । प्रजाति अनुसार कुकुरको फरक–फरक विशेषता हुने गर्छ । कुकुरमा वातावरणमा हुने सानोतिनो हलचल पनि थाहा पाउन सक्ने क्षमता हुन्छ । कुकुरले निकट भविष्यमा कुनै ठूलो दुर्घटना वा प्राकृतिक प्रकोप आउन लाग्यो भने सूचना प्रवाह गर्न रोएर वा अन्य क्रियाकलापबाट चेतावनी दिने आम बुझाइ रहेको पाइन्छ । त्यसैले कुकुरले रोए वा असामान्य व्यवहार देखाए कुनै नराम्रो घटना हुन्छ कि भन्ने मान्यता नेपाली समाजमा छ । यस्ता विशेषता भएकाले पनि अपराध अनुसन्धानमा प्रहरीले कुकुरको सहयोग लिने गर्छन् । नेपालमा गृह मन्त्रालय ले अन्य शाखा जस्तै नेपाल प्रहरी भित्र कुकुर शाखाको स्थापना गरेर अपराध अनुसन्धानमा सक्रिय रहेकोछ ।

कुकुरले पत्ता लगाएका ठूला अपराधका घटना

२०४० सालमा दोलखाको चरिकोटमा एकै परिवारका ४ जनाको विभत्स हत्या भयो। हत्या कसले र किन गरायो भन्ने खुल्न सकेन। प्रहरीले डग स्कुल काठमाडौंबाट अनुसन्धानमा खटायो ‘नानी’ नामको कुकुरलाई। हत्यामा प्रयोग गरिएको खुकुरी बाँसको झाँङमा फालेको ‘नानी’ले पत्ता लगायो। त्यही खुकुरीको बिँड सुँघेर ‘नानी’ले हत्यारा पत्ता लगाएको थियो। हत्या गर्ने व्यक्ति थिइन्, शोभा श्रेष्ठ। उनले घरायसी विवादमा आफ्नै काका, काकीसहित ४ जनाको हत्या गरेकी थिइन्। हत्यापछि नुहाएर कोठमा सुतिरहेका बेला ‘नानी’कै सहयोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

बाराका पत्रकार वीरेन्द्र साह २०६४ कात्तिक १८ गते अज्ञात समूहद्वारा अपहरणमा परे। पत्रकार साह अपहरणमा परेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उनको खोजी गरे। एक महिनासम्म खोजी गर्दा पनि साहको अवस्थामा पत्ता लागेन। एक महिनापछि साहको खोजी गर्न प्रहरीको केन्द्रीय डग तालिम केन्द्रबाट ‘ब्ल्याकी’ नामको कुुकर पठाइएको थियो। ब्ल्याकीले दुई दिनपछि कात्तिक २२ मा बाराको भैवानाकाको जंगलमा पत्रकार साहको शव गाडिएको स्थान पत्ता लगायो।

२०७४ जेठ ९ गते ललितपुरको गोदावरी नगरपालिका–११ बस्ने ४० वर्षका दीपक दमाईको हत्या भयो। उनको शव छम्पी र चापागाउँबीचको खोल्सामा फालिएको थियो। अनुसन्धान गर्न जर्मन सेफर्ड जातको ‘लिजा’ कुकुर परिचालन गरियो। घटनास्थलमा प्राप्त भएको निलो रंगको सर्ट लिजालाई सुँघाइयो। लिजाकै इसाराअनुसार प्रहरीले सिन्धुपाल्चोक घर भई चापागाउँ खटिएका म्यादी प्रहरी कुमार पाख्रिनलाई पक्राउ गरेको थियो। पक्राउ परेका पाख्रिन आफैंले हत्या गरेको स्वीकार गरे।

२०५३ फागुन १८ गते बुढानीलकण्ठमा ६० वर्षीया वृद्धाको हत्यारा पनि कुकुरले नै पत्ता लगाएको थियो। देवरका छोरा र ज्वाइँले वृद्धाको घाँटी थिचेर हत्या गरेको कुकुरकै सहयोगमा प्रहरीले पत्ता लगाई पक्राउ गरेको थियो।

३५ वर्षका देवराज न्यौपानेको २०६२ बैसाख २६ गते सुनसरीको धरान नगरपालिकास्थित पञ्चकन्या मन्दिरमा रहस्यमय तरिकाले हत्या भएको थियो। उनको गर्धनमा खुकुरी प्रहार गरी हत्या भएको थियो। अनुसन्धानमा खटिएको ‘आकाश’ नामको कुकुरले शर्मिला लिम्बूलाई संकेत गरेपछि डग ह्यान्डलरले उनलाई हत्कडी लगाए। पछि हत्यारा शर्मिला नै भएको पुष्टि भयो।

काठमाडौं मातातीर्थका विशाल तामाङ घरमा सुतिरहेका थिए। प्रहरीको ‘रोनी’ नामको कुकुरले सुतिरहेका विशालको देब्रे हातमा टोक्यो। हत्यामा संलग्न भन्दै प्रहरीले तामाङलाई पक्राउ गर्‍यो। सानुकाजीको हत्या भएको ठाउँमा प्रमाणको रूपमा हँसिया फेला परेको थियो। प्रहरीले हँसियाको बिँड रोनीलाई सुँघाए। बिँडमा विशालको गन्ध पाएपछि कुकुरले उनलाई टोकेको थियो। अनुसन्धानबाट मातातीर्थकै ६० वर्षे सानुकाजी तामाङको हत्यारा विशाल नै भएको पुष्टि भयो। यो २०७० पुस २३ गतेको घटना थियो।

२०७१ साल असोज १४ गते राति लमजुङको पिप्ले–४, भोटे ओडारमा अर्जुनप्रसाद रेग्मीसहित ३ जनाको हत्या भयो। पश्चिम क्षेत्रीय प्रहरी कार्यालय, पोखराबाट घटनाको अनुसन्धान गर्न ‘ज्वाला’ नामको कुकुर पठाइयो। घटनास्थलमा प्राप्त भएको हँसिया ज्वालाले सुँघेर हत्यारा अर्जुनका छोरा राममणि भएको पत्ता लगाएको थियो।

बर्दियाको साविकको ठाकुरद्वारा गाविस(४, सुस्ताका ६८ वर्षीय जोरा सिंह थापाको ५ फागुन २०७२ मा हत्या भयो। घटनाको अनुसन्धान गर्न बाँकेबाट जर्मन सेफर्ड जातको ‘भुन्टी’ कुुकुर परिचालन गरियो। घटनास्थलमा भेटिएका कपडाको गन्ध भुन्टीले सुँघ्यो। भुन्टीले घटनास्थलबाट १५ सय मिटर अगाडि खोलाको बाटो हुँदै अपराधी भागेको संकेत गर्‍यो। भुन्टीकै संकेतअनुसार खोजी गर्दा ठाकुरद्वारा(४ का २३ वर्षे अजित बुढा पक्राउ परे। पछि उनी दोषी ठहर भए। तर, बुढाले भने भुन्टीले संकेत गरेअनुसार नै आफू भागेको स्वीकार गरेका थिए।

नेपाल प्रहरीले कुकुरको सहायताले अन्य धेरै कामहरू गरेको छ। ठमेल र बसपार्क क्षेत्रबाट कुकुरकै सहायताले प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। प्रहरीको कुकुरले २०६९ मंसिर २७ गते लागुऔषधका मुख्य नाइके भारतीय नागरिक पुतन खानसहित दुई जनालाई पक्रन सफल भएको थियो।

रसुवाको ब्राप्चेको पहिरोमा २०७० माघ १० गते सिभिल इन्जिनियर चेरव घिमिरे पुरिएर बेपत्ता भएका थिए। ‘रेस्क्यु’ र ‘खुस्बु’ नामक दुई कुकुरको सहयोगमा घिमिरेको शव फेला पारिएको थियो। भूकम्प गएका बेला मानिस पुरिएको आशंका भएका काठमाडौंका धेरै ठाउँमा कुकुर प्रयोग गरी उद्धारको काम गरिएको थियो।

यी बाहेक भिभिआइपी, भिआइपी सुरक्षाका लागि नेपालमा प्रहरीका कुकुर खटिँदै आएका छन्। भिआइपीहरूको आवतजावत हुने ठाउँमा कुकरले विस्फोटक पदार्थ छ कि छैन भनेर पहिचान गर्ने गरेको डग स्कुलले जनाएको छ। २०७० सालमा पूर्व(अमेरिकी राष्ट्रपति जिम्मी कार्टर नेपाल आउँदा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेका बेला ‘लियो’, ‘मारियो’ र ‘एक्सी’ कुकुरलाई विस्फोटक पदार्थको खोजी गर्न लगाइएको थियो।

२०७१ साल मंसिर १८ गते ‘जुलेट’ नामक कुकुरले चितवनको भरतपुर(५ स्थित सिमलको रूखमुनि लुकाएको अवस्थामा एउटा कटुवा पेस्तोल, एसएलआरको गोली एक थान र गन पाउडर फेला पारेको थियो।

नेपाल प्रहरीले ठूलठूला अपराधको अनुसन्धानमा कुकुरको प्रयोगले सफलता पाउँदै आएका छन् । अपराध अनुसन्धानका लागि नेपाल प्रहरीसँग पोलिग्राफ मेसिन, डिजिटल फरेन्सिक ल्याब, डिएनए प्रोफाइलिङ युनिट, अटोमेटिक फिंगर प्रिन्ट, आइडेन्टिफिकेसन सिस्टमजस्ता आधुनिक प्रविधि रहेको छ ।

यसबाहेक अपराध अनुसन्धानको अर्को भरपर्दो माध्यम तालिम प्राप्त कुकुरलाई लिइन्छ । नेपाल प्रहरीसँग विभिन्न प्रकारका अपराधमा प्रयोग हुने आठ प्रजातिका कुकुर रहेको केन्द्रीय कुकुर तालिम केन्द्रको तथ्यांकले देखाउछ । लिजा, रेस्क्यू, सिया, जोली, ब्ब्रक, जुलेट, भुन्टी, सोल र डेनी, जंगे नामक कुकुरले नेपालको अपराध अनुसन्धानमा ठूलो सफलता हात पारेको तथ्यांकले देखाउँछ ।

नेपालको अपराध अनुसन्धानमा कुकुरको ईतिहास
२०२७ सालमा नेपाल प्रहरीले दुई प्रहरी अधिकृतलाई कुकुरबारे तालिम लिन मलेसियामा पठाएको थियो । त्यसपछि नेपाल प्रहरीले अपराध अनुसन्धान र सुरक्षामा कुकुरको प्रयोग गर्न थालेको हो ।

तर, नेपाल प्रहरीले अपराध अनुसन्धानमा कुकुरको प्रयोग व्यवस्थित गर्न थालेको २०३२ सालदेखि हो । २०७५ सालको तथ्यांकले नेपाल प्रहरीसँग अपराध अनुसन्धानका लागि प्रयोग हुने आठ प्रजातिका ८० वटा कुकुर छन् । त्यसमध्ये ४५ वटा कुकुर केन्द्रीय तालिम केन्द्रमा छन् ।

यसरी दिइन्छ कुकुरलाई तालिम
अपराधअनुसन्धानका लागि नेपाल प्रहरीले छिमेकी राष्ट्र भारत, थाइल्याण्ड, बेलायत, अमेरिकालगायतका देशबाट आठ प्रजातिका कुकुरका छाउरा ल्याउने गरेको छ । ती छाउरालाई छ महिना पुगेपछि तालिम दिन सुरु गरिन्छ । विभिन्न जातका कुकुरलाई तीन महिनाको आधारभूत तालिम दिएपछि क्षमताअनुसार वर्गीकरण गरेर अपराध अनुसन्धानमा प्रयोग गरिन्छ ।

एउटा कुकुरलाई एक जनाले मात्र तालिम दिने र ह्यान्डलसमेत एकजनाले नै गरिन्छ । नेपाल प्रहरीसँग अहिले ट्रयाकर (बाटो पत्ता लगाउने), एक्सप्लोसिभ (विस्फोटक पदार्थ पत्ता लगाउने), सर्च एण्ड रेस्क्यू (खोजी र उद्धार) र ड्रक्स सर्च (लागूऔषध पत्ता लगाउने) गरी चार विधाका कुकुर छन् । यसरी अनुसन्धानमा खटिने कुकुरका लागि आवश्यक खाना, पिउने पानीको भाँडा प्रहरीले साथमा लिएर जाने गर्दछन् ।

कसरी पुग्छ अपराधिसम्म कुकुर ?
हामीलाई थाहा भएको कुरा हो कुकुरमा सुँघ्ने क्षमता बढी हुने गर्छ । सुँघ्ने क्षमताकै आधारमा कुकुरले अपराधी पत्ता लगाउने गर्छ । प्रत्येक मान्छेमा हुने गन्ध फरक–फरक हुन्छ । एक व्यक्तिको गन्ध अर्को व्यक्तिसँग मेल खाँदैन । त्यसैको आधारमा कुकुर अपराधीसम्म पुग्न सफल हुने गर्दछ । घटनास्थलमा भेटिएका सबुत प्रमाणमा भएको मानिसको गन्ध सुँघ्ने र कुकुरले अपराधमा को व्यक्ति संलग्न छ भन्ने पत्ता लगाउँछ । घटनास्थलमा कुनै सबुत प्रमाण नछाडे पनि मान्छेको पाइलाको गन्ध सुँघेर कुकुरले अपराधी पत्ता लगाउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com