काठमाडौं, ३ कात्तिक । नेपाली राजनीतिमा अपराधीकरण मौलाउँदै गइरहेको छ । नेताहरुले राजनीतिलाई सेवाको रुपमा नलिई पेसाको रुपमा बुझेर काम गर्ने गरेकोले राजनीति दुषित हुँदै गइरहेको विज्ञहरु बताउँछन् । राजनीतिज्ञले स्वच्छ राजनीति गर्नुपर्ने भन्दै प्रशासन, न्यायलयलाई सत्ता र शक्तिको बलमा दबाब वा प्रभावमा पार्नु नहुने तर्क छ ।
नेपाली राजनीतिमा विकृति, विसंगती र अपराधहरु मौलाउँदै गइरहेका छन् । हुन त नेपालको राजनीतिमा अराजकता, विकृती, विसंगती र अपराधहरु हिजो पनि नभएका होइनन् । आज यी घटना घट्नुभन्दा बढी भइरहनु झन् दुःखद कुरा हो ।
आज हामी राजनीतिक रुपमा व्यवस्था र परिवर्तनको हिसाबले धेरै अगाडी बढिसकेका छौँ । हिजोको राज्य व्यवस्थाले हत्या, हिंसा, अपराध, शोषण, दमन, अन्याय अत्याचारलाई प्रश्रय दियो भनेर आन्दोलन गरी व्यवस्था परिवर्तन गर्ने राजनीतिक दलका नेताहरु नै अपराधमा मिस्सिन थालेका छन् । व्यवस्था परिवर्तन भयो, समय परिवर्तन भयो तर मान्छेको मानसिकता परिवर्तन हुन सकेको छैन । राजनीतिक दल र यसमा आवद्ध मान्छेहरु नै अपराधमा संलग्न हुनु अथवा त्यस्तो कार्यलाई बढवा दिनुले राजनीतिप्रति आम मान्छेको धारणा नकारात्मक बन्न थालेको छ । राजनीतिमा दिनप्रतिदिन अपराध मिसिन थालेपछि राज्यसंयन्त्र नै कमजोर भएको अथवा प्रश्रय नै दिइरहेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ । राजनीतिमा अपराध जेलिनुको कारण राजनीतिज्ञ नै भएको विज्ञहरु बताउँछन् ।
देशमा लोकतन्त्र आयो । गणतन्त्र आयो । नयाँ संविधान पनि बन्यो । संघीय मुलकु बन्यो । आजको दिनमा देशमा तीन तहको सरकार छ । अभिव्यक्ति स्वतन्त्रता छ । बिकासका राम्रा जुनसुकै काम गर्न बन्देज छैन । यति हुनको निम्ति देशमा निकै लामो समयसम्म ठुलो राजनीतिक लडाइँ भयो । संघर्ष भयो । तर जनताले अपेक्षा गरे अनुरुपको नयाँ नेपाल निर्माण हुन नसकेको कतिपयको गुनासो रहदैँ आएको छ । नेताहरु धेरै जन्मिएका छन् । स्थानीय तहदेखि, प्रदेश र संघीय सरकार सम्म धेरै जनप्रतिनिधी निर्वाचित भएर जिम्मेवारी सम्हालीरहेका छन् । निर्वाचनको क्रममा निर्वाचन जित्नको निम्ति आर्थिक चलखेल देखि आतंक मच्चाउने र अपराध घटाउने सम्मको गतिविधि भइरहेका छन् । मानवता हराउँदै गइरहेको छ । जसरी हुन्छ सत्ता र शक्तिमा पुग्नुपर्छ भन्ने मानसिकता सबै नेता र राजनीतिक दलहरुमा विकास हुँदै गइरहेको छ । यसले गर्दा अपराधले प्रश्रय पाइरहेको छ । बरिष्ठ अधिवक्ता लभ कुमार मैनाली गलत राजनीतिक संस्कारका कारण अपराध मौलाउँदै गइरहेको बताउँछन् । सत्ता र शक्तिको आडमा राजनीतिज्ञहरु भयमुक्त हुनुले राजनीतिमा अपराधको श्रृङखला बढिरहेको उनको तर्क छ ।
राजनीतिक दलहरुले सुरुवाती अभ्यास नै जसरी पनि जित्ने र त्यसको निम्ति जुनकुनै हत्कन्डा अपनाउने गरेका कारण पछिल्लो पुस्ता पनि त्यस्तै मनोविज्ञानबाट ग्रसित छन् । हत्या, हिंसा, आतंक, बलात्कार, मानव बेचविखन जस्ता घटनाहरुमा राजनीतिक दलका नेताहरु नै मुछिने गरेका छन् । अपराधमा त सबै मुछिन्छन् नै तर गाउँ समाज र राष्ट्रकै नेतृत्व गर्ने बौद्धिक तहका मान्छे नै यस्ता घटनामा मुछिनुले विश्वमाझ नेपालीलाई बदनाम गराइरहेको छ । ठुला मान्छेहरुको अपराध प्रशासन, कानुन, सत्ता र शक्तिको आडमा दबिइरहेका छन् भने पिडितहरु झनै शोषित दमित भइरहेका छन् । न्याय पाएका छैनन् । राजनीति स्वच्छ नभएसम्म अपराध नघट्ने विज्ञहरुको भनाइ छ । अपराधशास्त्री माधव आचार्य राजनीतिले प्रशासन र न्यायलयलाई हस्तक्षेप गर्नु नहुने बताउँछन् ।
राजनीतिले अपराध नियन्त्रण गर्नुपर्छ । अपराध नियन्त्रण गर्न बनेका कानुन, नियमहरुलाई कडाइका साथ कार्यान्वयन गराउन पनि राज्य संयन्त्र तथा राजनीतिक दलहरु लाग्नुपर्छ । राजनीतिमा मौलाउँदो अपराधिकरणलाई घटाइ स्वच्छ, पवित्र र जनपक्षिय बनाउनुपर्छ । कानुनको परिपालना पनि सानालाई ऐन, ठुलालाई चैन बनाउनु हुँदैन । कानुनको नजरमा सबै बराबरी हुनुपर्छ । राजनीतिलाई संस्कारयुक्त बनाउँदै जनतामाझ विश्वसनीय बनाउनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्