काठमाडौं, ३ कात्तिक । चिनियाँ राष्ट्रिपति सी चिनफिङको दुई दिने नेपाल भ्रमण सम्पन्न भएसँगै नेपाल र चीनबीच भएको समझदारी तथा सहमती र राजनीतिक घोषणाका बारेमा विविध कोणबाट चौतर्फी छलफल सुरु हुन थालेको छ ।
परराष्ट्र सम्बन्ध विस्तारसँगै देशको आर्थिक, सामाजिक र राजनीतिक परिवेशमा हुने परिवर्तनका लागि वर्तमान सरकारले चालिरहेको कूटनीतिक एवम् रणनीतिक कदमले देशलाई के कस्तो फाईदा हुन्छ ? भन्ने विषय आज प्रमुख चासोको विषय बन्दै गएको छ । विशेषगरी, नेपालको भू–राजनीतिक अवस्थाको संवेदनशीलतालाई विचार गर्दै देशको आर्थिक तथा सामाजिक विकास, द्धिपक्षीय हित, विश्व तथा क्षेत्रीय शान्तीको विषयमा मित्रराष्ट्र चीनसँग साझेदारी गरिएको कूटनीतिज्ञहरुको भनाई छ ।
राजनीतिक अस्थिरताको समस्याले लामो समय देशको विकास र सुशासनलाई नराम्रो संग प्रभावीत बनायो । अस्थीर राजनीतिक अवस्थाबाट देशमा अहिले संघियताको अभ्याससँगै स्थीर सरकार कायम भएको छ । यसले देशमा मात्रै होईन अन्तराष्ट्रियस्तरमै सकारात्मक सन्देश पुगेको छ । २३ वर्षपछि चिनियाँ राष्ट्रिपति सि चिनफिङको नेपाल भ्रमणले नेपाल र चीनवीचको सम्बन्धलाई थप नयाँ उचाईमा पु¥याएको परराष्ट्रविद्हरुको बुझाई छ । नेपाल, भारत र चीन जस्ता दुई ठूला देशहरुको बीचमा अवस्थित रहेकाले मित्र राष्ट्र तथा विदेशी राष्ट्रहरुसँग समझदारी र सहकार्य गर्दा देशको भू–राजनीतिक अवस्थाको संवेदनशीलतालाई प्रमुख ध्यान दिईनुपर्ने परराष्ट्रविद्हरु बताउँछन् । वर्तमान अवस्थाको राजनीतिक अभ्यासले व्यवस्था र प्रणाली परिवर्तन भएपनि कुनै देशलाई पक्ष वा विपक्ष बनाएर जाने नीति नेपालले लिन नसक्ने र यसको साखलाई सधैं जोगाराख्नुपर्ने परराष्ट्र विद्हरुको सुझाव रहेको छ ।
एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कंडेलसंग कुरा गर्दै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले छिमेकी तथा विदेशी राष्ट्रहरुसँग सामाजिक, साँस्कृतिक, आर्थिक र बृहत्तर विकासका लागि मात्रै रणनीतिक साझेदारी हुने गरेको बताउनुभयो । तसर्थ, नेपाल विश्व शान्तीका अग्रदुत गौतम बुद्धको जन्मस्थल भएकाले पनि द्धिपक्षीय हित, विश्व तथा क्षेत्रिय शान्ती र विकासका लागि मित्र राष्ट्रहरुसँग विभिन्न सहमती र सम्झौता हुनुले विश्वमञ्चमा नै सकारात्मक सन्देश प्रवाह हुन मद्दत पुग्ने उहाँको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्