काठमाडौं, ३ कात्तिक । चिनियाँ राष्ट्रिपति सी चिनफिङको दुई दिने नेपाल भ्रमण सम्पन्न भएसँगै नेपाल र चीनबीच भएको समझदारी तथा सहमती र राजनीतिक घोषणाका बारेमा विविध कोणबाट चौतर्फी छलफल सुरु हुन थालेको छ ।
परराष्ट्र सम्बन्ध विस्तारसँगै देशको आर्थिक, सामाजिक र राजनीतिक परिवेशमा हुने परिवर्तनका लागि वर्तमान सरकारले चालिरहेको कूटनीतिक एवम् रणनीतिक कदमले देशलाई के कस्तो फाईदा हुन्छ ? भन्ने विषय आज प्रमुख चासोको विषय बन्दै गएको छ । विशेषगरी, नेपालको भू–राजनीतिक अवस्थाको संवेदनशीलतालाई विचार गर्दै देशको आर्थिक तथा सामाजिक विकास, द्धिपक्षीय हित, विश्व तथा क्षेत्रीय शान्तीको विषयमा मित्रराष्ट्र चीनसँग साझेदारी गरिएको कूटनीतिज्ञहरुको भनाई छ ।
राजनीतिक अस्थिरताको समस्याले लामो समय देशको विकास र सुशासनलाई नराम्रो संग प्रभावीत बनायो । अस्थीर राजनीतिक अवस्थाबाट देशमा अहिले संघियताको अभ्याससँगै स्थीर सरकार कायम भएको छ । यसले देशमा मात्रै होईन अन्तराष्ट्रियस्तरमै सकारात्मक सन्देश पुगेको छ । २३ वर्षपछि चिनियाँ राष्ट्रिपति सि चिनफिङको नेपाल भ्रमणले नेपाल र चीनवीचको सम्बन्धलाई थप नयाँ उचाईमा पु¥याएको परराष्ट्रविद्हरुको बुझाई छ ।
यसले देशको आर्थिक तथा सामाजिक परिवर्तनका लागि वर्तमान सरकारले चालिरहेको कूटनीतिक पहल सकरात्मक र सफलतातर्फ उन्मुखको संकेत भएको पनि कूटनीतिज्ञहरुले बताईरहेका छन् । नेपाल, भारत र चीन जस्ता दुई ठूला देशहरुको बीचमा अवस्थित रहेकाले मित्र राष्ट्र तथा विदेशी राष्ट्रहरुसँग समझदारी र सहकार्य गर्दा देशको भू–राजनीतिक अवस्थाको संवेदनशीलतालाई प्रमुख ध्यान दिईनुपर्ने परराष्ट्रविद्हरु बताउँछन् । वर्तमान अवस्थाको राजनीतिक अभ्यासले व्यवस्था र प्रणाली परिवर्तन भएपनि कुनै देशलाई पक्ष वा विपक्ष बनाएर जाने नीति नेपालले लिन नसक्ने र यसको साखलाई सधैं जोगाराख्नुपर्ने परराष्ट्र विद्हरुको सुझाव रहेको छ ।
छिमेकी तथा विदेशी राष्ट्रहरुसँग सामाजिक, साँस्कृतिक, आर्थिक र बृहत्तर विकासका लागि मात्रै रणनीतिक साझेदारी हुने गरेको परराष्ट्र विद्हरु प्रस्ट्याउँछन् । तसर्थ, नेपाल विश्व शान्तीका अग्रदुत गौतम बुद्धको जन्मस्थल भएकाले पनि द्धिपक्षीय हित, विश्व तथा क्षेत्रिय शान्ती र विकासका लागि मित्र राष्ट्रहरुसँग विभिन्न सहमती र सम्झौता हुनुले विश्वमञ्चमा नै सकारात्मक सन्देश प्रवाह हुन मद्दत पुग्ने उनीहरुको विश्वास छ ।
छिमेकी मुलुकहरुसँग विश्वासको वातावरण विकास गर्दै द्धिपक्षीय रुपमा व्यापारीक सम्बन्ध स्थापीत गर्न र लगानी भित्र्याउनु उपलब्धिमूलक हुने परराष्ट्र विद्हरु बताउँछन् । नेपालमा आर्थिक समृद्धिको आधार भनेको जलविद्युत् पनि हो । तसर्थ, जलविद्युत् उत्पादन, पर्यटन र पूर्वाधार निर्माणको स्तरोन्नति गर्दै दुई देशबीचको कनेक्टिभिटीलाई विस्तार गर्न सक्नु ऐतिहासिक उपलब्धी हुने उनीहरुको सुझाव छ । पछिल्लो समय चिनियाँ राष्ट्रपति सीले गरेको नेपाल भ्रमणसँगै नेपालमा रेलमार्गको लागि बाटो खुलेको र पर्यटन वर्ष २०२० लाई सफल बनाउन पनि टेवा पुग्ने परराष्ट्रविज्ञहरु दाबी गर्छन् ।
देशमा दुईतिहाई बहुमत सहितको कम्युनिष्ट स्थायी सरकार कायम भएको छ । चीनमा पनि कम्युनिष्टहरुले ७० वर्ष लामो शासन गरेर विश्वमञ्चमा नै अर्थतन्त्रमा अब्बल हुदै प्रतिष्ठा जमाउन सफल भएका छन् । तसर्थ, भू–राजनीतिक संवेदनशीलतालाई प्रमुख ध्यानमा राखी आर्थिक, सामाजिक, साँस्कृतिक एवम् बृहत्तर विकासका लागि चीन लगायत सबै छिमेकी तथा विदेशी राष्ट्रसँग सबल परराष्ट्र नीति अवलम्बन गर्नुमानै नेपालको हित हुने देखिनछ ।
प्रतिक्रिया दिनुहोस्