काठमाडौं, २७ असोज । चीनका राष्ट्रपति सी चिनफिङले २३ वर्षपछि गर्नुभएको नेपालको राजकीय भ्रमणबाट दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको छ । भ्रमणबाट नेपालको कूटनीतिक कौशलता पनि राम्रैसंग प्रदर्शन भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्राध्यक्षबाट भएकोे नेपालको २ दिने राजकीय भ्रमणले नेपाल–चीन सम्बन्धलाई नयाँ गति र उचाइमा पु¥याउनुका साथै पारस्परिक विश्वास र समझदारीमा बढोत्तरी गरेको छ । राष्ट्रपति सीको यो भ्रमणले दुई देशबीचको शताब्दीऔँ पुरानो जनस्तरको सम्बन्धलाई अझ घनीभूत मात्र तुल्याएको छैन समस्यारहित नेपाल–चीन सम्बन्ध नेपालको समृद्धिको यात्राका लागि भरपर्दो साझेदार बनेको छ । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलबीच सम्पन्न द्विपक्षीय वार्ता र त्यसपछि दुई देशले आपसी साझेदारी र सहकार्य गर्ने सम्बन्धमा गरेका २० वटा समझदारी तथा सहमतिपत्रले चीन नेपालको सुख दुःखको साथी हो भन्ने थप पुष्टि गरेको छ ।
समृद्धितर्फको नेपालको यात्रामा सघाउन तथा भौतिक पूर्वाधारको अभाव हटाउन सीमापार रेल परियोजनाको सम्भाव्यता अध्ययनसँगै सुरुङ निर्माण सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनुलाई भ्रमणको महत्वपूर्ण उपलब्धि मान्नुपर्छ । आगामी दुई वर्षका लागि आर्थिक सहायतास्वरुप रु ५६ अर्ब उपलब्ध गराउने राष्ट्रपति सीको घोषणाले नेपालप्रतिको चीनको मैत्री छर्लङ्ग पारेको छ । परियोजना प्रारम्भ गर्ने तर त्यसलाई पूर्णता प्रदान नगर्ने व्यवहारबाट विकास–निर्माणका काममा भैरहेको ढिलाईप्रति कतै न कतै जानकार राष्ट्रपति सी ले प्रतिवद्धता कार्यान्यवयनमा तहमा खरो उत्रनै पर्ने प्रष्ट सन्देश प्रवाह गरेका छन् । आफ्नो देशमा काम नगर्नेलाई छुट नभएको भन्दै सी ले चीनको विकास कसरी सम्भव भयो भन्ने कुरा पनि उजागर गरेर फर्किएका छन् ।
एकअर्काका चाहना र आवश्यकताबारे जानकारी लिन मद्दत पुग्नका साथै उच्च राजनीतिकस्तरमा सम्बन्धको नवीकरण एवं आत्मियता प्रकट गर्ने उपयुक्त अवसरका रुपमा राष्ट्रपति सीको भ्रमणलाई लिइएको छ । पञ्चशीलका सिद्धान्त, पारस्परिक विश्वास, सम्मान र हितमा आधारित सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च नेपाल–चीन सम्बन्धलाई अझ समृद्ध बनाउने राष्ट्रपति विद्यादेवी भण्डारीको अभिव्यक्तिको प्रत्युत्तरमा राट्रपति सीले भूपरिवेष्टित नेपाललाई भूजडित तुल्याउन चीनले मद्दत गर्ने घोषणा गर्नु नेपालका निम्ति गौरव र गरिमाको विषय हो । चीन र नेपालबीचको आधा शताब्दीभन्दा बढीको औपचारिक सम्बन्ध विश्वमै नमूना बनेको राष्ट्रपतिको मन्तव्य मननीय छ जसले विश्व मानचित्रमा नेपालको ओज बढाएको छ ।
सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणा साकार गर्ने नेपाल सरकारको उद्देश्य पूरा गर्न चीनले निरन्तर सहायता गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको सन्दर्भमा राष्ट्राध्यक्षकै तहमा भएको घोषणाले नेपालीमात्र होइन नेपालको विकासका साझेदारसमेत उत्साहित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्