भद्रपुर, २३ झापा । भारतबाट नेपाल भित्रिने लागु औषध ड्रग्स नियन्त्रण नहुँदा नेपाल प्रहरीलाई समस्या भइरहेको बेला भारतीय सुरक्षाकर्मीले पनि सीमा क्षेत्रमा लागु औषध नियन्त्रणमा चासो देखाएको छ ।
यसैक्रममा सशस्त्र प्रहरी बल एसएसबी ले नेपाल भित्राउन लागेको ठुलो परिणाममा लागु औषध ड्रग्स सहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । एसएसबी ४१ वटालियन टोलीले कादोमोनीजोतस्थित नेपाल भारतको ९६ र १५ नम्बरको सीमा पिलर नजिकैबाट लागु औषधसहित इलाम जिल्ला लक्ष्मीपुर ८ बस्ने ४४ वर्षीय इन्द्रबहादुर राईलाई पक्राउ गरिएको भारतीय एसएसबीले जनाएको छ ।
उनलाई झापाकै मनिष थापाले लागु औषध भित्राउन सहयोग गरेको एसएसबीको अनुसन्धानबाट खुलेको जनाइएको छ । एसएसबीले राईको साथबाट फेनारगन, लुपिजेसीक, डाइजोपाम गरी २८५५ एम्पुल लागु औषध बरामद गरेको हो । उनलाई लागु औषधसहित आवश्यक कारबाहीका लागि खोरीबारी थानालाई बुझाइसकेको जनाइएको छ ।
नेपालमा प्रतिबन्धित मानिएका लागु औषध भारतको औषधि पसलहरूमा खुलेआम बिक्री वितरण हुने गरेकाले भारतीय सीमावर्ती बजारमा नेपाली युवायुवती लागु औषध खरिद तथा सेवन गर्न भारत जाने गरेका छन् । भारतबाट ल्याएका लागु औषध नेपाल भित्रिने क्रम नरोकिएपछि भारतीय सुरक्षा निकायसँग समन्वय गरी नियन्त्रण तथा रोकथाम अभियान सुरु गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्