काठमाडौं, १७ असोज । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपालमा रहेका भारतीय ५ सय र १ हजार दरका पुराना नोट साट्न भारतलाई आग्रह गर्नुभएको छ । भारतमा जारी विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी अर्थमन्त्री डा. युवराज खतिवडाले भारतीय समकक्षी निर्मला सितारमणसंग आज भएको भेटमा भारतीय नोट साट्न आग्रह गर्नुभएको हो ।
भेटमा खतिवडाले भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनुभन्दा पहिले नेपालमा मौज्दात भारु सटही देखिएको समस्या समाधान गर्न आग्रह गर्नुभएको थियो । भारतले कालोधन विरुद्ध कारवाही गर्ने भन्दै सन् २०१६ को नोभेम्बरमा एकाएक ५ सय र एक हजार भारुका नोट प्रतिवन्धित गरेको थियो । सो प्रतिवन्धपछि उसले आफ्नो देशका नागरिकसँग रहेका नोट सटही गरे पनि नेपालमा रहेको ठूलो परिमाणको नोट साट्न इन्कार गर्दै आएको थियो । भेटमा खतिवडाले द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल समेत गर्नुभएको छ । उहांले भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
भेटमा साना विकास अनुदान आयोजना, हुलाकी सडक, एकीकृत चेक पोष्टको कार्यान्वयनको अवस्थाबारे समेत दुई अर्थमन्त्रीबीच छलफल भएको थियो । अर्थमन्त्री खतिवडाले भारतीय समकक्षी निर्मला सितारमणलाई नेपाल भ्रमणको निम्तो समेत दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्