काठमाडौँ, ३ असोज । नेपालको संविधान जारी भएको चौथो वर्ष पूरा भई पाचौं वर्षमा प्रवेश गरेको अवसरमा आज संविधान दिवस मनाइदैछ ।
दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुडिखेलमा विशेष समारोह आयोजना गरेको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक निकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति छ ।
समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७६ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउट कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झा“की प्रदर्शन, काठमाडौं र ललितपुर महानगरपालिकाबाट विशेष झा“की प्रदर्शन भइरहेको छ । त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट रोचक कार्यक्रम प्रस्तुत गरिरहेको छ । संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नुहुनेछ ।
त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गरिने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्