काठमाडौं, ३१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाली समाजलाई भड्काउने खालका अराजक गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
पर्यटन मन्त्री भट्टराईले समाजलाई नै विभाजनतिर लैजाने गरी हुने गतिविधि रोक्ने गरी नयाँ पिँढीलाई दीक्षित गर्न पनि प्राज्ञहरुलाई आग्रह गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभालाई आज काठमाडौंमा उद्घाटन गर्दै उहाँले समाजमा हुने अराजक खालका गतिविधिले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा निम्त्याउने बताउनुभयो । मन्त्री भट्टराईले अराजक गतिविधि हुन नदिने गरी प्राज्ञहरुले भाषा र संस्कृतिको माध्यामबाट नयाँ पिँढीलाई दीक्षित गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।
मन्त्री भट्टराईले नेपालको संस्कृति र सभ्यता तथा पूर्वीय सभ्यताले सामाजिक एकतामा जोड दिएको पनि स्मरण गराउनुभयो । उहाँले विविधताले युक्त मुलुकलाई अघि बढाउन सुदृढ राष्ट्रिय एकताको आवश्यक्तामा पनि जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्