सिरहा ३० भदौ । शृंखलाबद्ध चोरी तथा लुटपाट मच्चाउने गिरोहलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । गोलबजार नगरपालिका वडा नम्बर (४ स्थित राजु इन्टरप्राइजेजबाट मोबाइल चोरी गर्ने तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर ३ लालपुरका १७ वर्षीय रामेश्वर साफी, सोही वडाका ३६ वर्षीय बिन्दुकुमार महतो र ३२ वर्षीय अरुणकुमार महतो छन् ।
भदौ २२ गते सो मोबाइल पसलको सटरमाथि रहेको भेन्टिलेसन फुटाएर २ लाख १५ हजार नगद, ३ लाख ५० हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड, विभिन्न कम्पनीका ८ लाख ९६ हजार ८ सय रुपैयाँ मूल्य बराबरका ४४ थान मोबाइल चोरी भएको थियो ।
घटनापछि चोरीमा संलग्नको खोजीमा रहेको प्रहरीले ६ दिनमै तीन जनासहित चोरिएका मोबाइल बरामद गरेको सिरहा प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए। चोरीमा संलग्न मुख्य आरोपी रामेश्वर साफीको लालपुरस्थित घरबाट विभिन्न कम्पनीका २४ थान मोबाइल, १ लाख ३५ हजार ५ सय नगद र चोरीमा प्रयोग गरिएका औजार बरामद भएका छन् ।
यस्तै, पक्राउ परेका विन्दुकुमार महको साथबाट विष्णुपुर गाउँपालिका वडा नम्बर (१ मा सञ्चालन गरेको मोबाइल पसलबाट चार थान मोबाइल र ६५ हजार ८ सय ६५ रुपैयाँ बराबरको रिचार्ज कार्ड तथा १४ हजार १ सय ५० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका अर्का अरुण कुमार महतोले सञ्चालन गरेको मोबाइल पसलबाट ३ हजार बराबरको रिचार्ज कार्ड बरामद गरिएको एसपी चतुर्वेदीले बताए । पक्राउ परेकामाथि चोरी तथा डकैती मुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिरहा सूचना अधिकारी तथा डिएसपी अपिल राज बोहराले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्