काठमाडौं, २९ भदौ । जथाभावी भौतिक संरचना निर्माणले आकाशको पानी जमिनमुनि चार्ज नहुने तर जमिनको पानी जथाभावी निकाल्ने गर्दा पानीको संकट बढ्दै गएको छ । जमिनले पानी नसोस्ने हुदा राजधानीमा पनि बाढीको समस्या वर्षेनी आउछ, भने अर्काेतिर वर्षेनी पानीको हाहाकार हुदै आएको छ । राजधानीमा पानीको समस्या हल गर्न वैकल्पिक उपाय आकाशे पानीको संकलन नै उत्तम हुने विज्ञहरुको सुझाव छ ।
काठमाडौ उपत्यकामा जनसंखयाको बढ्दो चाप छ । बढ्दो र अव्यवस्थित शहरीकरणले जमिन कंक्रीट बन्दै गएको छ । कंक्रीटका कारण आकाशबाट परेको पानी जमिनमुनि पुग्दैन । पानीको माग पुरा गर्न जमिन मुनिबाट पानी निकालिदै पनि आएको छ । तर आकाशको पानी जमिन मुनि रिचार्ज हुन नपाउदा ईनार कुवा लगायत पानीका श्रोतहरु सुक्दै गईरहेको छन् । अतिवृष्टीले बाढी र अनावृटिले पानीको अभाव हुदै आएको छ । जमिन कंक्रीट बन्दै गएपछि पानीको माग पुरा गर्न समस्या थपिदै गएको छ, यस्तो अवस्थामा पानीको माग पुरा गर्न जमिन मुनिबाट पानी निकाल्नु भन्दा पनि रेन वाटर हार्भेस्टिङ सिस्टम सबै भन्दा उत्तम विधि हुने विज्ञहरु सुझाउछन् ।
पहिले पहिले घरको फोहोर घरमै पुनः प्रयोगमा आउथ्यो । फोहोर कुहाएर खेतबारीमा मलको रुपमा प्रयोग गरिन्थ्यो । तर, अहिले मल पनि बाहिरबाट ल्याउने अनि प्रकृति संरक्षणमा पनि ध्यान नदिने एकोहोरो प्रकृतिको दोहोन तथा सिमेन्टीकरणले पानीको श्रोतहरु बन्द हुदै गएका छन् ।
त्यसो त मेलम्चीको पानी आएको खण्डमा काठमाडौंमा धेरै राहत आशा धेरै गरिएको छ । तर, मेलम्चीको पानी पनि वर्षौ देखि आउन सकेको छैन । आएपनि काठमाडौको बद्दो मागलाई पुरा गर्न कठिन छ । २ दशकदेखिको अधुरो आयोजना पुरा कहिले हुने ? पुरा भएपनि पानीको बढ्दो मागलाई पुरा गर्न नसक्ने भएकोले रेन वाटर हार्भेस्टिङ सिस्टम एउटा वैकल्पिक उपाय हुन सक्छ । समुद्र तटमा रहेका विदेशी मुलुकका नागरिकले यो प्रक्रियालाई परापूर्वकाल देखि प्रयोग गर्दै आएका छन् । वर्षात्मा पानीको संकलन गर्न सके, पानीको अभाव पनि कम हुन्छ र जमिनमुनिको पानीको निर्भरता पनि घट्ने विज्ञहरुले बताएका छन् ।
रेन वाटर हार्भेस्टिङ रिचार्ज सँगसँगै ग्राउण्ड वाटर रिचार्ज लाई पनि जोड दिनुपर्ने विषय पनि वहसमा छ । रेन वाटर भन्नाले आकाशको पानी प्रयोग गर्ने हो भने, ग्राउण्ड वाटर रिचार्ज भन्नाले सुख्खा हुदै गईरहेका जमिनमुनिको पानी भर्नु भन्ने बुझिन्छ । यसो गरिएमा बहुआयामिक फाईदा हुन सक्छ यसै विषयमा केन्द्रित भएर योजना विभागले नीति तथा कार्याक्रम अघि बढाउने सरकारी अधिकारी बताउछन् ।
उपत्यकामा लगभग ४० लाख भन्दा बढी मानिसको बसोबास छ । यो जनसंख्यालाई पर्याप्त पानी छैन । उपत्यकाको मुख्य समस्या नै पानी अभाव हो । यस्तो अभावलाई सम्बोधन गर्न रेन हार्भेस्टीङ प्रविधि उपयोगी बन्नेमा दुइमत छैन । पानीका श्रोतहरु ईनार, कुवा, पोखरी र ढुंगेधाराहरु पनि सुकिसकेको अवस्था छ । यस्तो अवस्थामा आकाशे पानी संकलन गरि प्रयोग गर्नु एउटा उत्तम विकल्प हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस्