संखुवासभा, २५ भदौ । अविरल वर्षाका कारण संखुवासभाको सभापोखरी गाउँपालिका–४, फाक्सीबुङमा पहिरो झरेर सभाखोला थुनिएपछि बस्ती नै जोखिममा परेको छ ।
बुधबार दिउँसोसाढे २ बजेतिर पहिरो खसेपछि सभाखोला थुनिएको हो । सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे बजारभन्दा ३ किलोमिटर उत्तरमा रहेको फाक्सीबुङको पाखो नै बगेर सभाखोला थुनिएर तीन सय मिटरभन्दा ठूलो ताल जमेको सभापोखरी–६ नम्बरका वडाध्यक्ष बिकास पौडेलले बताउनुभयो ।
पहिरोले फाक्सीबुङमा रहेको गोठहरु समेत बगाएको छ । त्यहाँ मानवीय बस्ती नभएकाले अहिलेसम्म मानवीय क्षति भने नभएको वडाध्यक्ष पौडेलको भनाइ छ ।
खोला नै थुनिएर ताल जमेपछि ताल फुटेमा तलतिर रहेको गाउँपालिकाको केन्द्र समेत रहेको बाह्रबिसे बजार नै बगाउने खतरा रहेको छ । बाह्रबिसे बजारमा झण्डै सय घर रहेका छन् । माथिबाट जमेको ताल फुट्यो भने बाह्रबिसे बजार नै बगाउने खतरा रहेको छ ।
घटनास्थल सदरमुकाम खाँदबारीबाट एकदिन टाढा पूर्वमा पर्दछ । तीन दिनदेखि अविरल वर्षा भइरहेकाले यस क्षेत्रमा पहिरो झरिरहेको छ । अविरल वर्षाका कारणले सञ्चार सम्पर्क गर्न समेत मुस्किल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्