काठमाडौं, २५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वैदेशिक लगानीका लागि नेपाल अहिले सबैभन्दा उपयुक्त गन्तब्य भएको बताउनुभएको छ । काठमाडौंमा जारी नेपाल पुर्वाधार सम्मेलनमा उहाले देशका सबै राजनीतिक दलहरु विकासको मुद्दामा एकै ठाउँमा उभिएकाले लगानीको वातावरणमा कुनै समस्या नभएको बताउनुभयो ।
नेपालमा हवाई यात्रुहरुको संख्या उल्लेख्य मात्रामा बृद्धि भइरहेको भन्दै निकट भविष्यमै दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको जानकारी दिनुभयो । ‘अवको ५ वर्षभित्र कुनै पनि हालतमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तयार हुनेछ,’ मन्त्री भट्टराईले भन्नुभयो ‘यसका लागि ठोस रुपमा प्रक्रिया अघि बढिसकेको छ ।’ युरोपेली संघले हवाइ सेवाका लागि नेपाललाई कालोसूचीमा राखेकोप्रति दुःख व्यक्त गर्दै चाँडै नै यो समस्या सुल्झने दावी गर्र्नुभयो ।
कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले नेपालले छिमेकी मुलुकहरुसँग ब्यापारिक सम्बन्ध बढाएको बताउनुभयो । उहाले क्षेत्रीय र उपक्षेत्रीय मञ्चहरुमा ऊर्जा, विद्युत् प्रशारण लाइनको अन्तरआबद्धता, दूरसञ्चार, रेल, पानीजहाज, हवाइ सम्बन्धजस्ता बहुपक्षीय सञ्जाल विकास गर्नेगरी योजना तयार गरेर काम अघि बढाइसकेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्